आयात प्रतिबन्धपछि वैशाखमा ह्वात्तै घट्यो फोनको आयात, दुई अर्ब रुपैयाँको मात्रै आयो

बिजमाण्डू
२०७९ जेठ ११ गते ११:३४ | May 25, 2022
आयात प्रतिबन्धपछि वैशाखमा ह्वात्तै घट्यो फोनको आयात, दुई अर्ब रुपैयाँको मात्रै आयो


काठमाडौं। सरकारले ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट भित्र्याउन प्रतिबन्ध लगाएसँगै वैशाखमा आयात ह्वात्तै घटेको छ। 
चैतमा एलसी बन्द हुने भेउ पाएपछि व्यापारीहरुले स्टक भरथेग गर्न चार अर्ब रुपैयाँबराबरको ७ लाख ४० हजार ८७० थान मोबाइल सेट आयात गरेका थिए। 

Tata
GBIME

तर, वैशाखमा भने १ अर्ब ९६ करोड रुपैयाँबराबरको ३ लाख ६४ हजार २५६ फोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जुन चैतको तुलनामा ३ लाख ७६ हजार ६१४ थानले कम हो। मूल्यका हिसाबले पनि वैशाखमा आधा अर्थात् करिब दुई अर्ब रुपैयाँको फोन आयात घटेको देखिन्छ। 

सरकारले वैशाखमा फोन आयातबाट ३० करोड ९० लाख रुपैयाँ भन्सार संकलन गरेको छ। चैतमा सरकारले फोन आयातबाट करिब ६३ करोड रुपैयाँ भन्सार संकलन गरेको थियो। 

सरकारले आयात प्रतिबन्ध लगाएसँगै चर्चित कम्पनीका दुई दर्जनभन्दा बढी सेट नेपाल भित्रिन बन्द छन्। सरकारले २०७९ असार मसान्तसम्मलाई प्रिमियम स्मार्टफोनहरुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।

राष्ट्र बैंकले मोबाइलको आयातका कडाई गरेकै कारण व्यवसायीहरुले चैतमा स्टक कायम गर्नकै लागि धेरै आयात गरेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले बताए।   

‘बैंकहरुले चैतबाट मोबाइल आयात गर्न एलसीमा कडाई गर्दै लगेपछि मान्छेहरुले स्टक गरेको हुनुपर्छ। बजारमा अहिले अपेक्षाअनुरुप मोबाइल फोनको बिक्री छैन। तैपनि सबै ब्राण्डहरुले एलसीमा गरिएको कडाइलाई देखाएरै फोन आयात गर्दा चैतमा संख्या बढेको हो। अरु कारणले मोबाइल आयात बढेको होइन,’ अग्रवालले भने।

वैशाखमा भने ६ सय डलर माथिका फोन आयातमा प्रतिबन्ध लागेसँगै मोबाइल आयात आधाले ओरालो लागेको व्यवसायीहरुले बताएका छन्। 
चालु आवको १० महिनामा ३६ अर्ब ९४ करोड रुपैयाँबराबरको ५३ लाख ६५ हजार ११५ थान मोबाइल सेट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। जसबाट सरकारले १० महिनामा पाँच अर्ब ८३ करोड रुपैयाँ भन्सार संकलन गरेको छ। 

६ सय डलर माथिको फोन आयातमा प्रतिबन्ध लगाउँदा सबैभन्दा ठूलो मार एप्पललाई परिरहेको छ। बुधबारको विनिमयदर अनुसार एक अमेरिकी डलरबराबर १२४.४४ रुपैयाँ छ। ६०० अमेरिकी डलरबराबर नेपाली मुद्रा ७४ हजार ६६४ रुपैयाँ हुन्छ।

एप्पलले नेपालमा बिक्री गर्ने सबै सेट आयात रोकियो। एप्पलका विभिन्न सातवटा मोडलका १९ वटा सेट ७३ हजार रुपैयाँ माथि रहेकाले आयात पूर्ण रूपमा रोकिएको छ। एप्पलको आइफोन १३ प्रो म्याक्स, १३ प्रो, १३, १३ मिनी, १२, ११, एसइ (२०२२) को आयात रोकिएको छ। यी सेटहरुको मूल्य न्यूनतम ८७ हजार रुपैयाँदेखि अधिकतम २ लाख ७८ हजार रुपैयाँ पर्छ। 

एप्पलले बिक्री गर्ने केही सेटहरु बजारमा भए पनि केही आउट अफ स्टक रहेको कम्पनीले जनाएको छ। यस्तै, एप्पलपछि मोबाइल सेट आयात प्रतिबन्धको असर सामसङलाई परिरहेको छ। सामसङका ६ वटा विभिन्न फ्ल्यागशीप स्मार्टफोनका आठवटा भेरियन्टहरु ७४ हजार रुपैयाँ माथि पर्छन्। 

सामसङको ग्यालेक्सी जी फोल्ड थ्री फाइभजी, जी फ्लिप थ्री फाइभजी, एस२१ एफइ फाइभजी, एस२२, एस२२ प्लस र एस२२ अल्ट्राको आयात रोकिएको छ। यी प्रिमियम सेटहरुको मूल्य न्यूनतम ९० हजार रुपैयाँदेखि दुई लाख ३० हजार रुपैयाँसम्म पर्ने सामसङले जनाएको छ। 

त्यसैगरी, सरकारी प्रतिबन्धको असर चिनियाँ स्मार्टफोन ब्राण्ड हुवावेका फ्लागशीप फोनमा बढी परिरहेको छ। हुवावेका सातवटा मोडलहरु ७४ हजार रुपैयाँ माथिका छन्। हुवावेका पी ३०, पी २० प्रो, पी ३० प्रो, मेट २० प्रो, मेट ३० प्रो, पी ४० प्रो र मेटप्याड प्रो १०.८ (२०२१) को आयातमा प्रतिबन्ध लागेको छ। 

यी सेटहरुको मूल्य ८५ हजार रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्म पर्ने हुवावेले जनाएको छ। यस्तै, वानप्लसका चारवटा स्मार्टफोन मोडलहरुको आयात रोकिएको छ। वानप्लसको एटटी, नाइन, नाइन प्रो र टेन प्रो ७४ हजार रुपैयाँ माथिका स्मार्टफोन हुन्। जसको मूल्य नेपाली बजारमा ७९ हजार रुपैयाँदेखि एक लाख ३५ हजार रुपैयाँसम्म पर्ने वानप्लसले जनाएको छ।

त्यसैगरी, साओमीका पनि तीनवटा प्रिमियम स्मार्टफोन मोडलका चारवटा भेरियन्टको आयात रोकिएको छ। साओमी १२ प्रो, साओमी १२ र साओमी १२ एक्स कम्पनीका प्रिमियममध्येका फोन हुन्, जसको आयातमा बन्देज लागेको छ। 

यी स्मार्टफोनहरुको मूल्य ७७ हजार रुपैयाँदेखि १ लाख १५ हजार रुपैयाँसम्म पर्ने साओमीले जनाएको छ। नेपाली बजारमा बिक्री हुने अन्य स्मार्टफोन ब्राण्डहरु पोको, रियलमी, नोकियासहितलाई भने प्रतिबन्धले खासै असर परेको देखिँदैन। यी कम्पनीहरुले बार फोन, इन्ट्री लेभल स्मार्टफोनदेखि मिड रेन्ज स्मार्टफोन बिक्री गर्दै आएका छन्।