भारतले विस्फोटक पदार्थ रोके पनि नेपाली सेना भन्छ – ‘दैनिक १० टन बनाएर दिन सक्छौं’

बिजमाण्डू
२०७९ बैशाख ५ गते १८:०५ | Apr 18, 2022
भारतले विस्फोटक पदार्थ रोके पनि नेपाली सेना भन्छ – ‘दैनिक १० टन बनाएर दिन सक्छौं’

काठमाडौं। भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाए पनि नेपाली सेनाले आयोजनाहरुका लागि विस्फोटक पदार्थ उत्पादन गरेर दिन सक्ने बताएको छ।

Tata
GBIME

विस्फोटक पदार्थ आयात रोकिए जलविद्युत, सडक लगायतका पूर्वाधार आयोजनाहरुको निर्माण प्रभावित हुने चिन्ता आयोजना प्रवर्द्धक कम्पनीहरुले गरिरहँदा नेपाली सेनाले यसको आपूर्ति विकल्प देखाएको हो।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले व्यापारिक प्रयोजनका लागि दैनिक १० टनसम्म उत्पादन गर्न सक्ने बताए। सेनाले सुनाचरीमा रहेको आफ्नै प्लान्टमा विस्फोटक पदार्थ उत्पादन गर्छ।

'हामीलाई कति माग छ भन्ने यकिन छैन। भारतले निर्यात रोकेको आधिकारिक जानकारी पनि छैन,' उनले भने, 'बाहिरबाट झिकाउँदा पनि हाम्रो स्वीकृति चाहिन्छ, त्यो हामीले दिइरहेका छौं। हामी आफैं पनि दैनिक १० टन उत्पादन गरेर दिन सक्छौं।'

भारतबाट मासिकरुपमा कन्स्ट्रक्सनका लागि तीन सयदेखि पाँच सय टनसम्म विस्फोटक पदार्थ आयात हुने गरेको छ। भारत सरकारको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको छ।

अप्रिल १२ मा भारतको आन्तरिक व्यापार तथा उद्योग प्रवर्द्धन विभागका अतिरिक्त सचिवको नेतृत्वमा बसेको बैठकले अर्को निर्देशन नभएसम्मका लागि विस्फोटक पदार्थ वर्गमा पर्ने सामग्रीहरु (क्लास टु एक्स्प्लोसिभ्स) निर्यातमा रोक लगाउने निर्णय गरेको छ। यो वर्गमा निर्माणमा प्रयोग हुने विस्फोटकहरु पर्दछन्।

यसबाट एक हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजना र  विस्फोटक पदार्थ प्रयोग हुने विभिन्न पूर्वाधार निर्माणका कामहरु प्रभावित हुने देखिएको छ।

आयात रोकिए विष्फोटक पदार्थहरु प्रयोग हुने सबै विकासका निर्माणाधीन कामहरु प्रभावित हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष कृष्ण आचार्यले बताए। उनका अनुसार, विस्फोटक पदार्थ नभइ कतिपय जलविद्युत आयोजनाको काम नै गर्न सकिँदैन।

'एक्कासी रोकिएको सूचना आयो, तत्कालै खुलाउन नसकिए समस्या हुन्छ। हाम्रो मात्रै होइन सरकारकै आयोजनाहरु पनि प्रभावित हुन्छन्,' उनले भने,' हामीले तत्कालै कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छौं।'

इप्पानका कोषाध्यक्ष आनन्द चौधरीले विस्फोटक पदार्थ रोकिए कम्तिमा  एक हजार मेगावाट क्षमताका आयोजनाहरु प्रभावित हुने बताउँछन्।उनका अनुसार अहिले दुई हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन्। तीमध्ये केही अन्तिम चरणमा पुगेका छने भने केही भर्खरै निर्माण सुरु भएका छन्। विस्फोटक पदार्थ रोकिए कम्तिमा हजार मेगावाटका आयोजनाहरु प्रभावित हुन्छन्,' उनले भने, 'अलि समय रोकिए भएको स्टक सकिन थाल्छ। सबै जसो काम रोकिन्छन्।'

गत शुक्रबारसम्म भने आयात नरोकिएको उनले बताए। भन्सारसम्म आइपुगेका विस्फोटक पदार्थहरु छोडिदिएको छ। नेपालले धेरै खपत नगर्ने भएकाले आगामी दिनमा पनि अवरोध नहोस् भन्नका लागि सरकारीस्तरबाट कुटनीतिक च्यानलमार्फत पहल गर्नुपर्ने चौधरीको भनाइ छ।

विष्फोटक पदार्थ रोकिए भारत सरकारको सहयोगमा निर्माण भैरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको काम समेत प्रभावित हुने देखिएको छ।

एकपटक आयात गरिएको विस्फोटक पदार्थ ६ महिनासम्म प्रयोग गर्न मिल्छ। तर अधिकांश आयोजनासँग सोबराबर क्षमताको विस्फोटक राख्ने बंकर हुँदैन। उक्त बंकरको सुरक्षा नेपाली सेनाले गर्नुपर्ने प्रावधान छ। सेनाकै रेखदेखमा मात्रै विस्फोटक राख्न पाइन्छ।

विस्फोटक पदार्थ रोकिँदा सडकका आयोजनाहरु समेत प्रभावित हुने भएका छन्। विस्फोटक पदार्थ प्रयोग गरेर निर्माण गर्नुपर्ने सडक र सुरुङमार्ग प्रभावित हुनेछन्।

निर्माणाधीन नागढुङगा-नौविसे सुरुङमार्गको काम भने तत्कालै रोकिने छैन। आयोजनासँग चार महिनाभन्दा बढीलाई पुग्ने स्टक रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए। उनका अनुसार विस्फोटक पदार्थ आयात रोक्दा कामै रोक्नुपर्ने अवस्था छैन। यो आयोजनाले भारतको एक कम्पनीलाई विस्फोटक पदार्थको जिम्मा दिएको छ।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको काममा भने असर पर्ने भएको छ। आयोजनामा करिब ६ किमी गरी तीनवटा सुरुङमार्ग निर्माण हुनेछन्। नेपाली सेना आफैंले विस्फोटक उत्पादन गर्ने भए पनि उसैको प्रयोग गर्ने सहमति छैन। ठेक्का पाएको दुईवटै कम्पनी चिनियाँ छन्। जसले विस्फोटक पदार्थ आयात गरेर सुरुङमार्गको काम सुरु गर्ने योजना बनाएका छन्। लामो समय रोकिए आयोजनाको काम समेत प्रभावित हुने देखिएको छ।

सेनाले विस्फोटक पदार्थ उत्पादन गर्ने भए पनि अधिकांश विदेशी निर्माण कम्पनीहरुले प्रयोग गर्न मान्दैनन्। नागढुङगा-नौविसे सुरुङमार्गमा प्रयोग गरिदिन सेनाले गरेको प्रस्ताव आयोजनाको मुख्य निर्माण कम्पनी हाज्मा/आन्दो कर्पोरेशन लिमिटेडले अस्विकार गरेको थियो।

विभिन्न खालका परीक्षणहरु गर्नुपर्ने र त्यसका लागि समय लाग्ने भन्दै नेपाली सेनाको विस्फोटक प्रयोग गर्न आयोजनाले अस्वीकार गरेको थियो। सेनाको उत्पादन उच्च पहाडहरुमा पहरा फुटाएर सडक बनाउनका लागि भने प्रयोग हुने गरेको छ।

रुस-युक्रेन युद्धका कारण भारतमा कोइलाको अभाव हुन थालेको छ। भारतमा ठूलो परिमाणमा कोइलाबाट विद्युत उत्पादन हुने गरेको छ। कोइला माइनिङ गर्नका लागि भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको हुन सक्ने अनुमान गरिएको छ।