ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइन निर्माण हुने, २४ महिनामा निर्माण सक्ने योजना 

बिजमाण्डू
२०७८ चैत्र ८ गते १०:२९ | Mar 22, 2022
ढल्केबर-बालगंगा १३२ केभी प्रसारण लाइन निर्माण हुने, २४ महिनामा निर्माण सक्ने योजना 

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ढल्केबर-बालगंगा १३२ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ। विद्युत विकास विभागले एक सूचना निकालेर प्रस्तावित ढल्केबर-बालगंगा प्रसारणलाइन निर्माण तथा संचालन गर्दा प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय, प्रतिक्रिया दिन सरोकारवालालाई अनुरोध गरेको छ।

Tata
GBIME

यो विद्युत प्रसारणलाइन अन्तर्गत करिब २६ वटा एंगल र ६५ वटा सस्पेन्सन गरी ९१ वटा टावर रहने छन्। एउटादेखि अर्को टावरको दुरी करिब न्युनतम१६५ मिटर र अधिकतम ३५० मिटर हुनेछ। टावरको न्युनतम उचाइ २७ मिटर र अधिकतम ३८ मिटर हुनेछ।

आयोजनाको पोल, प्रसारणलाइन तथा एउटा सवस्टेशन निर्माण गर्न राइट अफ वे, टावर फाउण्डेसन, स्टक पिलिङ यार्ड, क्याम्प साइटका लागि स्थायी तथा अस्थायी रूपमा करिब ७७.७६४ हेक्टर जग्गा आवश्यक पर्छ।

धनुषाको बटेश्वर गाउँपालिका-५ मा निर्माणाधीन ढल्केबर-लोहारपट्टी १३२ केभी विद्युत प्रसारणलाइनको १३ नम्वर एपीदेखि लुप इन लुप आउटमार्फत सुरु भई लक्ष्मीनियाँ गाउँपालिका-२, ३, ५, ६, ७, औरही गाउँपालिका-१, ३, ६, मिथिला बिहारी नगरपालिका-८, ९, १०, हंसपुर नगरपालिका १, ३, ४ हुँदै हंसपुर-९ हुँदै प्रसारणलाइन निर्माण हुनेछ। विभागका अनुसार १३२/३३ केभी बालगंगा सवस्टेशनसम्मको २३० मेगावाट क्षमताको १३२ केभी (डबल सर्किट) प्रसारणलाइन निर्माण हुनेछ। जसको दुरी करिब २३.९९ किलोमिटरको हुनेछ।

यो प्रसारणलाइनको राइट अफ वे, विद्युत नियमावली,२०५० मा तोकिए बमोजिम न्युनतम दुरीमा नघटाइ प्राविधिक दृष्टिकोणबाट १८ मिटर कायम गरिनेछ। केन्द्रीय रेखाबाट दायाँ र बायाँ ९/९ मिटर हुनेछ। प्रसारणलाइनको भोल्टेज १ लाख ३२ हजार भोल्ट तथा प्रसारण क्षमता २ लाख ३० हजार किलोवाट रहनेछ।

प्रसारणलाइन २४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।