बीमाको दाबी भुक्तानी तोकिएको समयमै दिन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन

बिजमाण्डू
२०७८ चैत्र ७ गते १४:४० | Mar 21, 2022

काठमाडौं । बीमा दाबी भुक्तानी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ ।

Tata
GBIME

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको भएको अन्तरक्रिया कार्यक्रममा भुक्तानी समयमै दिन निर्देशन दिएका हुन।

 कम्पनीहरुले बीमा दाबी भुक्तानी जानीबुझी नदिए भुक्तानी अवधि पछि दिनगन्ती गरेर बीमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरिने अध्यक्ष सिलवालले बताए ।

'देशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै बीमितको हित रक्षा गर्नु बीमा समितिको मुख्य कार्य हो । बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानून उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही गरिनेछ'- अध्यक्ष सिलवालले भने ।

बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदा समेत बुझाइसकेको  भन्दै उनले त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको  जानकारी दिए। 

“आगामी १० वर्षपछि बीमाको रकम बैंकको भन्दा पनि बढी हुन्छ, अब हरेक विषयमा बीमा केन्द्रित हुनुपर्छ र बीमा रकमको लगानी सुनिश्चित गर्नुपर्छ ” उनले भने ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको नेतृत्व समितिले गर्ने  बताए ।

बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्स्योरेन्स इन्ष्टिच्युट नेपाललाई अनुमति दिएको जानकारी पनि उनले दिए।