गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि आधा दर्जन कम्पनीको चासो

बिजमाण्डू
२०७८ फागुन ३० गते १०:५६ | Mar 14, 2022
गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि आधा दर्जन कम्पनीको चासो

काठमाडौं। गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमीत उडानका लागि आधा दर्जन वायुसेवा कम्पनीले चासो देखाएका छन्। चार दिन अघि नागरिक उड्डयन प्राधिकरणले 'एरोनोटिकल पब्लिकेसन इन्फर्मेसन' जारी गरेसँगै कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल लगायत वायुसेवा कम्पनी सम्पर्कमा आएको जनाएको छ।

Tata
GBIME

'विभीन्न मुलुकका वायुसेवा कम्पनीले यो विमानस्थलमार्फत उडान संचालनका लागि चासो देखाएका छन्। अध्ययन अनुसार अनुमति दिइनेछ। यतिखेर ग्राउण्ड ह्याण्डलिङ, कार्गो, क्याट्रिङलगायतको व्यवस्थापन बाँकी रहेको छ।' विमानस्थल प्रमुख गोविन्द प्रसाद दाहालले भने।

कुल एक सय ५१ जनशक्तिको थाइ दरबन्दी रहेपनि हाल ३६ जना जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए। सुरुवाती चरणमा २५ जना जनशक्तिमार्फत विमानस्थल संचालनमा ल्याउन सकिने उनले बताए।

उनका अनुसार नेपाल प्रहरीको करिब १७० र नेपाली सेनाको करिब १७० दरबन्दी रहेको उनले जानकारी दिए। यसैगरी मेट्रोलोजी विभागका कर्मचारी परिचालन निश्चित भइसकेको र भन्सार र अध्यागमनका प्राविधिक आएर निरीक्षण गरिसकेको उनले जानकारी दिए।

जेठ दुई गतेभन्दा १५ दिन अघि सबै निकायको तयारी सक्ने योजना रहेको उनले बताए।

आउँदो बैशाख ७ गतेबाट यो विमानस्थल संचालनमा ल्याउने योजना रहेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, अन्तर्राष्ट्रिय हवाई यातायात संगठन लगायत निकायबाट स्विकृति प्राप्त गरेको छ।

यो विमानस्थलमा आउँदो जेठ दुई गते देखि नियमित उडान संचालन हुने जनाइएको छ।

यो विमानस्थलमा कम्बोडिया, म्यानमार, श्रीलंका, लगायत विभिन्न बौद्ध धर्मावलम्बी भएका मुलुकसँगै श्रमिक गन्तब्यमा उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीको सम्भावना उल्लेख्य रहेको प्राधिकरणले जनाएको छ।

यो विमानस्थल संचालनमा आएपछि धार्मिक पर्यटनसँगै खाडी मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने देखिन्छ। मुलुकको पर्यटन क्षेत्र प्रवर्द्धनमा यो विमानस्थलले महत्वपूर्ण भुमिका खेल्नेछ।

ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमले छिट्टै आफ्नो तयारी गर्ने जनाएको छ। यतिखेर ग्राउण्ड ह्याण्डलिङ तयारीका लागि निगमका प्राविधिक जनश्क्ति विमानस्थल पुगिसकेको प्रवक्ता अर्चना खड्काले बताइन्।

'हामीसँग भएकै उपकरण प्रयोग गर्ने कि नयाँ उपकरण राख्ने विषयमा छलफल भइरहेको छ। सुरुमा हामीसँग भएकै उपकरणमार्फत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनेछौँ। प्राधिकरणले बनाएको योजना अनुसार सेवा दिने गरी योजना बनाएका छौँ।' प्रवक्ता खड्काले भनिन्।

गौतमबुद्ध विमानस्थलको निर्माण सुरु हुँदा पहिलो चरणको योजनाअन्तर्गत धावनमार्ग, टर्मिनल र टावरका लागि ६ अर्ब ७२ करोड रुपैयाँ लागेको थियो। यसको अतिरिक्त प्राधिकरणको मात्रै चार अर्ब रुपैयाँ खर्च भएको बताइएको छ। विमानस्थल निर्माणका लागि एडीबीले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ। आउँदो बुद्ध पूर्णिमादेखि भैरहवा बिमानस्थल संचालनमा ल्याउने प्राधिकरणको तयारी छ।