एमएस वायर रडमा अन्तशुल्क बढ्दा अर्बौंको लगानी प्रभावित, निकासी १ अर्बमा खुम्चियो

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ फागुन २७ गते १६:३० | Mar 11, 2022

विराटनगर। कुनैबेला जिआई वायर उत्पादन तथा निर्यातको 'हब' मानिने मोरङ सुनसरी औद्योगिक क्षेत्रको निर्यात सुस्ताएको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटदेखि एमएस वायर रडको आयातमा प्रति किलो १ रुपैयाँ ६५ पैसाका दरले अन्तःशुल्क लगाएपछि जिआई वायरको निर्यात एकै वर्षमा साढे दुई गुनाले खुम्चियो ।

Tata
GBIME

चार वर्ष अघिको अवस्थासँग तुलना गर्दा यसको निर्यात साढे ६ गुनाले खस्किसकेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष तथा प्रिमियर वायरका सञ्चालक पवनकुमार शारडा बताउँछन्। राजस्व सम्बन्धी नीतिमा भएको फेरबदलले जिआई वायर उत्पादन गर्ने मोरङ सुनसरी औद्योगिक क्षेत्रका ६ वटा ठूला उद्योगको अर्बौंको लगानी प्रभावित भएको उनको भनाई छ।

बाढी तथा नदी कटानको नियन्त्रण गर्न र पहाडी क्षेत्रमा भूक्षय रोक्न ढुङ्गाको पर्खाल निर्माण गरिन्छ । यही पर्खाल बाँध्न प्रयोग गरिने तारजालीलाई जिआई वायर भनिन्छ । भारतमा जिआई वायरको उच्च माग छ । भारतका केरला, असम, विहार, पश्चिम बङ्गाल र उत्तर प्रदेशदेखि उत्तराखण्डसम्म जिआई वायरको ठूलो बजार छ ।

जिआई वायरको मुख्य कच्चा पदार्थ एमएस वायर रड हो । यही रडमा भएको अन्त:शुल्क बृद्धिको असर जिआई वायर उत्पादक उद्योगहरुमा परिरहेको शारडाले बताए।

उनी भन्छन्- ‘चालु आर्थिक वर्षदेखि यसको दर बढेर प्रतिकिलो २ रुपैयाँ ५० पैसा भएको छ । यसकारण अलिअलि भइरहेको निर्यात पनि सानो अंकमा आएर अड्किएको छ ।’

हुलास वायर इन्डस्ट्रिजका महाप्रबन्धक मुकेश कोठारीका अनुसार नेपालका उद्योगले कुनै पनि वस्तु निर्यात गरिसकेपछि ती वस्तुको उत्पादनमा प्रयोग गरिएको कच्चा पदार्थमा तिरिएको राजस्व फिर्ता पाउने कानुनी प्रावधान छ । जसअनुसार एमएस वायर रडको आयातमा उद्योगीले भन्सार विन्दुमा तिरेको अन्तःशुल्कको रकम जिआई वायरको निर्यात गरेपछि स्वतः फिर्ता हुनुपर्ने हो । तर अहिलेसम्म यस्तो रकम फिर्ता हुन सकेको छैन । यसका कारण निर्यात खुम्चिएको हो ।

मोरङ व्यापार संघका महासचिव तथा पायनियर वायरका सञ्चालक अनिल शारडाले फलामे आइटममा किलोमा ५० पैसादेखि १ रुपैयाँसम्मको मार्जिनमा काम हुने दावी गरे। उद्योगी शारडा भोल्युम ठूलो र मार्जिन कम हुने कारोबारमध्ये फलामे सामाग्री पनि भएको बताउँछन्।  

उनी भन्छन्, ‘कच्चा पदार्थको आयात गर्दा किलोमै २ रुपैयाँ ५० पैसाको अन्तःशुल्क तिर्नुपर्दा र तयारी मालवस्तुको निर्यात गरेपनि अन्तःशुल्कको रकम फिर्ता नपाउँदा उद्योगीहरू मारमा परेका हुन् र निर्यात ह्वात्तै घटाएका हुन् ।’

उनका अनुसार पायनियर वायरले मात्र अन्तःशुल्क तिरेको १० करोडभन्दा बढी रकम फिर्ता पाउन बाँकी रहेको छ।

‘मोरङ र सुनसरीमा जिआई वायरको उत्पादन र निर्यात गर्ने ६ वटा उद्योग छन् । प्रत्येक उद्योगले १० करोडभन्दा बढी फिर्ता पाउनुपर्ने छ। तर अर्थ मन्त्रालयले कुनै सुनवाइ गरेको छैन ।’- उनले भने।

विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा यस नाकाबाट ६ अर्ब १० करोड रुपैयाँ बराबरको ४८ हजार ६५७ टन जिआई वायर भारततर्फ निकासी गरिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ देखि एमएस वायर रडको आयातमा प्रति किलो १ रुपैयाँ ६५ पैसाका दरले अन्तःशुल्क लाग्यो । यसपछि जिआई वायरको निर्यात यही वर्ष उल्लेखनीय रूपमा घट्यो । उक्त आर्थिक वर्षमा २ अर्ब १२ करोड २५ लाख रुपैयाँ बराबरको १८ हजार ७८२ टन मात्र जिआई वायरको निर्यात भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा जिआई वायरको निर्यात अझ खुम्चियो । उक्त आवमा १ अर्ब ३९ करोड ४३ लाखको ९ हजार ६ सय १९ टनको निर्यात भएको तथ्यांक कार्यालयले उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षमा यसको निर्यात अझ कम भएको छ । आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधि अर्थात् पुस महिनासम्ममा ४७ करोड ९४ लाख रुपैयाँको २ हजार ५४६ टन जिआई वायरको निकासी गरिएको छ । यस हिसाबले चालु आवमा यस वस्तुको १ अर्ब बराबरको निकासी हुन गाह्रो हुने देखिएको छ । जबकि चार वर्षअघि यसको निकासी ६ अर्ब १० करोडको थियो ।

उद्योगी पवन शारडा भन्छन्- ‘एमएस वायर रडको आयातमा अन्तःशुल्क नलगाइएको भए वा लगाइए पनि फिर्ता गरिएको भए चालु आर्थिक वर्षमा मात्र विराटनगर नाकाबाट मात्र २० अर्बभन्दा बढीको जिआई वायर निर्यात गरिने थियो । यसले व्यापार घाटालाई घटाउन पनि ठूलो मद्दत गर्ने थियो ।’

मोरङ र सुनसरीमा गरी जिआई वायरको उत्पादन गर्ने उद्योगमा हुलास वायर, आरती स्ट्रिप्स, प्रिमियर वायर, पायनियर वायर, अरिहन्त आइरन र मैनावती स्टिल छन् ।