मूल्यवृद्धि ४० वर्षकै उच्च भएपछि ब्याजदर बढाउँदै फेड, कोभिडकेन्द्रित ‘स्टिमुलस’ पनि हटाउँदै

बिजमाण्डू
२०७८ माघ १३ गते १५:१९ | Jan 27, 2022
मूल्यवृद्धि ४० वर्षकै उच्च भएपछि ब्याजदर बढाउँदै फेड, कोभिडकेन्द्रित ‘स्टिमुलस’ पनि हटाउँदै

अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भ (फेड) ले आउँदो मार्चबाट ब्याजदर वृद्धि गर्ने भएको छ। अशान्त वित्तीय बजार र उग्र मुद्रास्फीतिको सामना गरिरहेको फेडले चाँडै ब्याजदर बढ्न सक्ने बुधबार संकेत गरेको हो।

Tata
GBIME

पछिल्लो तीन वर्षयता पहिलोपटक ब्याजदर वृद्धि गर्न लागेको फेडले कति विन्दुले यो बढ्ने हो भन्ने खुलाएको छैन। यद्यपि फेडको नीति निर्माता समूहलाई उदृत गर्दै सीएनबीसीले 'यसको अल्पकालिन कर्जा दरको बेन्चमार्कमा ०.२५% विन्दुले' ब्याज बढ्न सक्ने लेखेको छ।

फेड अध्यक्षले जेरोम पावेलले भनेका छन्, 'मलाई लाग्छ श्रम बजारलाई असर नपर्ने गरी ब्याजदर बढाउन सक्ने थोरै सुविधाजनक अवस्था छ। यसकारण फेड आक्रामक बाटोमा जान सक्छ।' बुधबार पावेलको यो भनाइ बाहिरिएलगत्तै विश्वका प्रमुख स्टक मार्केटमा नकारात्मक प्रभाव परेको थियो।

मूल्यवृद्धि पछिल्लो ४० वर्षकै उच्च विन्दुमा पुगेपछि त्यसलाई नियन्त्रणको चुनौति फेडलाई छ। गत डिसेम्बरमा अमेरिकी मुद्रास्फीति दर (औसत) ७ प्रतिशतमा उक्लिएको तथ्यांक छ, जुन नोभेम्बरमा ६.८ र अक्टोबरमा ६.२ प्रतिशत थियो। यसको अर्थ अमेरिकीहरुले झन् झन् उकालो चढिरहेको मूल्यवृद्धिको पारो सामना गरिरहेका छन्। यसैलाई सम्बोधन गर्नमा लक्षित गर्दै फेडले २०१८ डिसेम्बरयता पहिलोचोटी फेड फन्डको ब्याजदर बढाउन लागेको जनाएको छ।

'यतिबेला मुद्रास्फीति दुई प्रतिशतभन्दा पनि निक्कै माथि गइसकेकाले र श्रम बजार बलियो अवस्थामा रहेकाले यो अवस्थामा उपयुक्त हुने रेन्जमा फेडेरल फन्डको दर बढाइनेछ,' फेडद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसबाहेक अमेरिकी केन्द्रिय बैंकले आगामी महिना (फेब्रुअरी २०२२) मा ३० अर्ब डलरको मात्र बण्ड खरिद गर्ने र मार्चबाट भने ब्याजदरमा वृद्धिसँगै बण्ड खरिदको यो कार्यक्रम पनि अन्त्य गर्ने फेड कमिटीस्रोतलाई उल्लेख गर्दै अन्तरराष्ट्रिय संचार माध्यमहरुले लेखेका छन्।

कोभिडले पारेको असरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि वित्तीय प्रोत्साहनस्वरुप फेडले बजारमा तरलता सहज बनाएर आर्थिक गतिविधि उद्देलित पार्नका लागि प्रमुख मौद्रिक औजारका रुपमा एकातर्फ अर्बौं डलरको बन्ड खरिद गर्दै आएको छ भने अर्कोतिर पछिल्लो लगभग तीन वर्षदेखि फेड फन्डको ब्याजदर स्थिर राखेको थियो। अझ यसलाई कटौती गरेर शून्यसम्म झारेको थियो।

यसबाट फेडको वासलातको आकार असाध्यै सुन्निएर करिब ९० खर्ब डलर (नौ ट्रिलियन) पुगिसकेको टिप्पणी भइरहेको अवस्थामा यसलाई घटाउन फेडले विज्ञप्तिमा एसेट्स होल्डिङको तहमा भने भारी कटौती गर्ने आशय व्यक्त गरेको छ। यसरी घटाउने सम्पत्तिमा बण्ड होल्डिङ पर्ने सम्भावना अत्याधिक रहेको छ।

पावेलले गत डिसेम्बरमा दिएको एउटा औपचारिक ब्रिफिङका अनुसार, गत अक्टोबरमा १२० अर्ब डलरको बण्ड खरिद गरेको फेडले अहिले यो मासिक ९० अर्ब डलरमा झारेको छ। फेडले औसतमा मासिक १५ अर्ब डलरका दरले बन्ड खरिद घटाउँदै लगेको छ। तर यो महिना (जनवरी) मा भने यसमा ३० अर्ब डलरले घटाएर ६० अर्बमा झार्दैछ भने मार्चबाट भने यसलाई अन्त्य गर्ने गरी ट्र्याकमा आउँदै छ। अर्थात्, कोभिड-१९ बाट अर्थतन्त्रमा परेको असर निस्तेज गर्न करिब तीन वर्षअघि कार्यान्वयनमा ल्याएको वित्तीय प्रोत्साहन (स्टिमुलस) पनि अब खारेज गर्न खोज्दैछ फेड।

रोयटर्सका अनुसार, स्टक मार्केटको उतारचढावबारे चासो राख्दै पावेलले अब 'रियल इकोनोमी' (उत्पादन, वस्तु तथा सेवाको आपूर्ति लगायत) मा फेडको ध्यान केन्द्रित हुने प्रष्ट्याएका छन्।

ब्याजदर बढाउँदा यसरी नियन्त्रण हुनेछ मुद्रास्फीति

फेडले ब्याजदरमा फेरबदल गरेर मुद्रास्फीति नियन्त्रणको प्रयास गर्ने गर्छ। जब मुद्रास्फीति उच्च हुन्छ, फेडेले अर्थतन्त्रलाई थोरै सुस्त बनाएर मूल्यवृद्धि तल ल्याउनका लागि ब्याजदर बढाउँछ। र, मुद्रास्फीति न्यून भएका बेला अर्थतन्त्रलाई उद्देलित गर्नका लागि फेडले ब्याजदर तल झार्छ।

ब्याजदर वृद्धि हुँदा कर्जा महँगो हुन्छ। अमेरिका लगायत पश्चिमा मुलुकका बैंकहरुको मुल आम्दानी स्रोत जनताले गर्ने विभिन्न वस्तु/सेवाको उपभोगका लागि दिने कर्जा हो। यसैले कर्जा महँगिएपछि नागरिक  वस्तु तथा सेवाको उपभोगका लागि निरुत्साहित हुन थाल्नेछन्।

महँगो कर्जा लिएर व्यवसाय विस्तार, मेशिन तथा उपकरण खरिद, नयाँ परियोजनामा लगानी इत्यादिका लागि उद्यमी-व्यवसायीहरु निरुत्साहित हुनेछन्। यसबाट समग्रमा वस्तु तथा सेवाको उत्पादन र माग घटाउनेछ। ज्याला र उत्पादन लागत पनि केही हदसम्म तल झर्नेछ। अन्ततोगत्वा यसले वस्तु तथा सेवाको उपभोक्ता मूल्य सस्तिनेछ, अर्थात् मुद्रास्फीति नियन्त्रणमा ल्याउन मद्दत पुग्नेछ।