गौतम बुद्ध विमानस्थल प्रमुखमा दाहाल नियुक्त, जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट हुने

बिजमाण्डू
२०७८ माघ ६ गते १४:५१ | Jan 20, 2022
गौतम बुद्ध विमानस्थल प्रमुखमा दाहाल नियुक्त, जनवरीभित्रै क्यालिब्रेसन फ्लाइट हुने

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख नियुक्त गरेको छ।

Tata
GBIME

प्राधिकरणले हालै १२ औं तहमा बढुवा भएका उपमहानिर्देशक गोविन्दप्रसाद दाहाललाई विमानस्थल प्रमुख (महाप्रबन्धक)मा नियुक्त गरेको हो। यो विमानस्थल संचालनमा ल्याउनका लागि प्राधिकरणले एक सय ५१ जना कर्मचारीको दरबन्दी खडा गरेको उनले जानकारी दिए।

'अहिले ३४ जना कर्मचारी परिचालन भइसकेका छन्। केही करारको कर्मचारी पनि भर्ती गर्ने योजना रहेको छ। कुल एक सय ५१ दरबन्दी पूर्ति गर्नैपर्ने अवस्था छ,' महाप्रबन्धक दाहालले भने।

दाहालले यस अघि प्राधिकरणमा फाइनान्स डाइरेक्टरको जिम्मेवारी सम्हाल्दै आएका थिए।

यो विमानस्थलको फ्लाइट क्यालिब्रेसन लागि आउँदो २२ तारिख (शनिबार ) एरो थाइबाट प्राविधिक जनशक्ति आउने योजना रहेको उनले जानकारी दिए। क्यालिब्रेसन फ्लाइट गरेको दुई महिनाको अध्ययनपछि विमानस्थल संचालनमा आउने उनले बताए।

यो विमानस्थलको काम ९८ प्रतिशत सकिए पनि क्यालिब्रेसन फ्लाइट नहुँदा अरु प्रक्रिया अगाडि बढ्न सकेको छैन।

विमानस्थलको पहिलो चरणको धावनमार्ग, टर्मिनल र टावर निर्माणका लागि ६ अर्ब ७२ करोड रुपैयाँ लागेको थियो। यो विमानस्थल निर्माणका लागि एडीबीले ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान दिएको छ।