पाँच दशकपछि संचालनमा आउँदै महेन्द्रनगर विमानस्थल, ४० करोडको आयोजना तीन वर्षमा सकिने

बिजमाण्डू
२०७८ पुष २२ गते १३:३९ | Jan 6, 2022
पाँच दशकपछि संचालनमा आउँदै महेन्द्रनगर विमानस्थल, ४० करोडको आयोजना तीन वर्षमा सकिने

काठमाडौं। सुदुरपश्चिममा पाँच दशकदेखि प्रयोगविहिन अवस्थामा रहेको महेन्द्रनगर विमानस्थल स्तरोन्नति हुने भएको छ। पर्यटन मन्त्रालयका अनुसार विमानस्थल स्तरोन्नतिको शुभारम्भ पुस २८ गते हुँदैछ।

Tata
GBIME

पर्यटन मन्त्री प्रेम आलेको पहलमा यो विमानस्थल ४० करोड रुपैयाँको लागतमा स्तरोन्नति हुन लागेको हो। निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पारेेको यो विमानस्थल तीन वर्षमा सक्ने सम्झौता नेपाल नागरिक उड्डयन प्राधिकरणसँग गरेको छ।

'यो विमानस्थल स्तरोन्नतिका लाग्ने कुल लागतको ५० प्रतिशत प्राधिकरणले व्योहोर्नेछ भने बाँकी ५० प्रतिशत प्रदेश सरकार र चाँदनी दोधार र भीमदत्त नगरपालिकाले ब्योहोर्ने सहमतिमा छ,' मन्त्रालयका एक कर्मचारीले भने।

 अहिले आठ सय ८४ मिटर लम्बाई रहेको विमानस्थलको धावनमार्गको लम्बाई १५ सय २५ मिटरमा विस्तार गरिने छ।

हाल ६४ विघा क्षेत्रफल रहेको यो विमानस्थलका लागि थप १३ विघा जग्गा आवश्यक रहेको जनाइएको छ।

'विमानस्थल छेउमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब दुई विघा जग्गा रहेको छ। केही जग्गा नेपाली सेनाले पनि प्रयोग गरेको छ। थप १२ विघा मुआब्जा दिन नपर्ने जग्गा रहेको छ। सरकारको निर्णयसँगै स्थानीय निकाय र प्रदेश सरकारसँग समन्वय हुनेछ,' प्राधिकरणका एक कर्मचारीले भने।

विमानस्थलको टर्मिनल भवन निर्माणको लागि भने यतिखेर डिजाइनको काम भइरहेको छ। टर्मिनल भवन निर्माणका लागि यो बाहेक अतिरिक्त लागत लाग्नेछ।

'विमानस्थल परिसर गहिरो ठाउँमा रहेको छ। वरिपरीको बाटो अग्लो भइसकेको छ। भोलि विमानस्थल बनिसकेपछि बर्खामा डुब्ने कुरालाई मध्यनजर गर्दै एक मिटर भन्दा बढी मोटाइमा फिलिङ हुनेछ,' उनले भने।

डोर्नियर, वा-१२ लगायतका जहाजमार्फत उडान भइरहेको विमानस्थल स्तरोन्नति भएसँगै एटिआर ७२, ड्यास-८ सिरिजको जहाजमार्फत उडान संचालन गर्न मिल्ने प्राधिकरणले जनाएको छ।

यो विमानस्थल सन् १९७३ डिसेम्बरमा संचालनमा आएको थियो। तर यो विमानस्थलमा नियमित उडान भने छैन।