उद्योगी चन्द्र ढकालले भने-‘बन्द रहेका खानी निजी क्षेत्र संलग्न गराएर संचालनमा ल्याउनुपर्छ’

बिजमाण्डू
२०७८ पुष ३ गते २०:१६ | Dec 18, 2021
उद्योगी चन्द्र ढकालले भने-‘बन्द रहेका खानी निजी क्षेत्र संलग्न गराएर संचालनमा ल्याउनुपर्छ’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै कारणले बन्द रहेका खानीहरु निजी क्षेत्रलाई संलग्न गराएर संचालनमा ल्याउनुपर्ने बताएका छन्।

Tata
GBIME
Nepal Life

रामेछाप उद्योग वाणिज्य संघको १४औँ वार्षिक साधारणसभाको मन्थलीमा उद्घाटन गर्दै उनले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइलालगायतका खानीहरु कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरुको सञ्चालनका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताए।

रामेछापको ठोसेमा रहेको फलाम खानी अहिले बन्द अवस्थामा रहेकाले त्यसलाई सञ्चालनमा ल्याउन र त्यसमा निजी क्षेत्रलाई संलग्न गराउन पनि उनले माग गरे।

उनले भने -'पहिले सञ्चालनमा रहेको सो खानीबाट फलाम निकालेर हातहतियार लगायत उत्पादन गर्ने गरिएकोमा अहिले बन्द हुनु राष्ट्रकै लागि क्षति हो, म यस खानी तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई माग गर्दछु र यस्ता खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई पनि संलग्न गरेर लैजान पनि माग गर्दछु।'

ढकालले स्थानीय स्तरका उत्पादन र तिनको औद्योगिकीकरण एवं बजारीकरणमा पनि निजी क्षेत्रलाई संलग्न गराउने खालका नीति नियमहरुमा आवश्यक परिमार्जन गर्नुपर्ने बताए।

उनले भने-'जस्तो कि रामेछापमा नै जुनारलगायतका कृषि उत्पादनहरुको ठूलो सम्भावना छ तर कृषकहरुको फुट्कर उत्पादनले यथोचित बजार पाउन सकेको छैन, त्यसैले यस्ता कृषि उपजलाई संस्थागत उत्पादन र बजारीकरणमा निजी क्षेत्रको संलग्नताले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्नेछ।'