६७ देशबाट नेपाल आउने यात्रु ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने, कुन कुन देश छन् सामेल?

बिजमाण्डू
२०७८ पुष ३ गते ०६:३७ | Dec 18, 2021
६७ देशबाट नेपाल आउने यात्रु ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने, कुन कुन देश छन् सामेल?

काठमाडौं। सरकारले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टिन अनिवार्य गरेको छ। कोभिडको नयाँ भेरियन्ट (ओमिक्रोन) को संक्रमण फैलिरहेका मुलुकबाट आउने यात्रुलाई यो नियम लागू हुनेछ।

Tata
GBIME

मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका जोखिमयुक्त देशबाट आउने यात्रुका लागि शुक्रबारदेखि सो व्यवस्था गरिएको हो। पछिल्लो समयमा विस्तारै विदेशी पर्यटक बढ्न थालेका थिए।

तर यो निर्णयसँगै विदेशी पर्यटक आवागमन घट्नेछ। सरकारले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने मुलुकमा अमेरिका, बेलायत, जर्मनी, थाइल्याण्ड, दक्षिण कोरिया, नर्वे लगायतका मुलुकहरु छन्। पछिल्लो समयमा ती मुलुकबाट पर्यटक आउने क्रम बढेको थियो।

एक पर्यटन व्यवसायीका अनुसार क्वारेन्टिनको व्यवस्थासँगै पर्यटक आउन हत्तोसाहित हुन्छन्। ‘सरकारले सुरक्षात्मक उपाय अपनाउनु राम्रो विषय हो। तर क्वारेन्टिनको व्यवस्थासँगै पर्यटक आउन मान्दैनन्,’ उनले भने,’घुम्न आउने पर्यटक होटलभित्रै बस्नुपर्ने अवस्थामा किन नेपाल आउँछ?’

अध्यागमन विभागले सूचना जारी गर्दै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढिरहेका देशबाट आउने यात्रुलाई क्वारेन्टिन अनिवार्य गरेको हो। जसमा अफ्रिका, युरोप तथा एसियाली मुलुक समेत सामेल छन्।

विभागको सूचना अनुसार आफ्नै खर्चमा सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नुपर्ने छ। साथै, कोभिड परीक्षण नेगेटिभ देखिएका व्यक्तिले थप सात दिन होम आइसोलेसनमा बस्नुपर्ने छ। कोभिड परीक्षण पोजेटिभ देखिएमा आइसोलेसन केन्द्र वा अस्पताल पठाइने छ।

विभागले यसअघि जारी भएको यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश पालना गर्न पनि आग्रह गरेको छ।