मोरङ-सुनसरीका अधिकांश उद्योगमा बाढी पस्यो, क्षतिको आंकलन हुँदै, बाढी बीमाले बचे उद्योगी

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७८ कात्तिक ४ गते १२:०३ | Oct 21, 2021
मोरङ-सुनसरीका अधिकांश उद्योगमा बाढी पस्यो, क्षतिको आंकलन हुँदै, बाढी बीमाले बचे उद्योगी

विराटनगर। बेमौसमी वर्षात हुँदा मोरङ–सुनसरीका अधिकांश उद्योग तहसनहस भएको छ। ती उद्योगमा बाढी पस्दा करोडौं क्षति भएको उद्योगीहरुले बताएका छन्।

Tata
GBIME

उद्योग सङ्गठन मोरङका कार्यकारी निर्देशक चूडामणि भट्टराईले अहिलेसम्म क्षतिको पूर्वानुमान गर्न समेत कठिन भइरहेको बताए।

‘धेरै उद्योगीहरू अहिले कारखानाभित्र र बाहिरको पानी निकाल्नमै व्यस्त हुनुहुन्छ’, निर्देशक भट्टराईले भने, ‘बुढीगङ्गा, दुहबी, सोनापुर र इटहरी क्षेत्रका अनि मोरङको कटहरी खण्डका अधिकांश उद्योगमा बाढीको पानीले तहसनहस पारेको छ। कति क्षति भएको छ भनेर अहिले अनुमान गर्नसमेत गाह्रो छ। नोक्सानी अर्बौंमा पुग्ने अनुमान छ।’

भट्टराईले डुबानमा परेर उद्योगका मेसिन, मोटर, औजार, कच्चा माल, प्याकेजिङ सामग्री, गोदामका तयारी माल, ढुवानीका साधन लगायत धेरैतिर नोक्सानी भएको जानकारी दिए। उनले सङ्गठनले सबै उद्योगसित यथाशक्य छिटो क्षतिको विवरण मागेको उल्लेख गर्दै केही ठूला र मुख्य उद्योगमा स्थलगत निरीक्षणसमेत गरिरहेको स्पष्ट पारे।

दुहबीस्थित क्वालिटी बिस्कुटका सञ्चालक नबलकिशोर काबराले आफ्नो उद्योगमा ५ करोडभन्दा बढीको क्षति हुनसक्ने बताए। ‘आज बिहीबार हामी उद्योग परिसरमा ६ वटा पम्प लगाएर पानी फालिरहेका छौँ’, काबराले भने, ‘बिस्कुट र कन्फेक्सनरीका तयारी वा कच्चा पदार्थ दुबैमा अलिकति पनि पानी परेमा खराब हुन्छ। कारखानाभित्र रहेका र गोदामका पनि धेरै सामानमा पानी पसेको छ। क्षतिको विवरण आउन अझै एक हप्ता लाग्ने देखिएको छ।’

मोरङको क्वालिटी थाई फुड्सका सञ्चालक घनश्याम काबराले उद्योग परिसरमा रहेका नुडल्स, स्न्याक्स, रिफाइनरी, साबुन लगायतका सबै उद्योगमा ४ फिटसम्म पानी भरिएको जनाए। मोरङकै एसीसी इँटाका निर्देशक रमेश भगतका अनुसार इँटाभट्टामा राखिएका २ वटा ट्रक, ४ वटा ट्रयाक्टर, १ स्काभेटर लगायतका धेरै सामग्री अहिलेसम्म डुबिरहेका छन्।

‘अफिस सबै डुबेको छ’, उनले भने, ‘इन्धनका लागि थाक लगाएर राखिएका कोइला पनि पानीले डुबाएको छ।’ बाढीले आरती स्ट्रिप्स तहसनहस परेको छ। आरतीभित्र ४ फिटसम्म पानी पसेको थियो। आरतीका सूचना अधिकारी दिवस नेपालले टीएमटी, कर्कट पाता लगायतका सामग्री उत्पादन गर्ने मेसिन पनि बाढीले आधा डुबाएको बताए।

त्यस्तै अरिहन्त मल्टिफाइबर र स्वस्तिक जुट मिल्स गरी यस क्षेत्रका २ वटा जुट उद्योगमा पनि साढे तीन फिटभन्दा माथिसम्म पानी पसेको छ। अरिहन्तका सञ्चालक राजकुमार गोल्छाले कच्चा जुट र तयारी वस्तुमा बाढीको पानी पसेर ठूलो नोक्सानी भएको गुनासो गरे।स्वस्तिक जुटका रमेश राठीले आफ्नो कारखानाभित्रका सबै मेसिन, मोटर, तयारी र कच्चा माल पानीले डुबाएको उल्लेख गरे।

उद्योगी राठीका अनुसार कारखानाका २ वटा ठूला मोटर पानी पसेर काम नलाग्ने भएका छन्। क्षति कति भयो भनेर अहिले नै अनुमान गर्नसक्ने अवस्था छैन। राठीले सबै जसो उद्योगले बाढीको बीमा गरेका भए पनि अतिरिक्त खर्च र विभिन्न झन्झटका कारण उद्योगीले नोक्सान नै ब्यहोर्नुपर्ने जिकिर गरे।

प्रगति टेक्सटाइलका सञ्चालक ललित लोहियाले उद्योगमा रहेका धागो र केमिकल लगायतका कच्चा पदार्थलाई पानीले डुबाउँदा सबै काम नलाग्ने भएको दुखेसो गरे। उद्योगी लोहियाका अनुसार रानी–विराटनगर–धरानको ६ लेन सडक बनाउँदा दायाँबायाँका उद्योगहरू ६ फिटसम्म तल परेका छन्। सडकमा नाला त बनाइएको छ तर उद्योगको सतहभन्दा धेरै माथि निर्माण गरिएको छ।

यसले गर्दा सडक दायाँबायाँको वस्ती र उद्योगबाट पानीको निकास हुन गाह्रो भएको छ। यस क्षेत्रका अधिकांश उद्योग डुबानमा पर्ने मुख्य कारण यही हो।उद्योग सङ्गठनले हुलास वायर, एसियन थाई फुड्स, नेपाल लिकर्स, पशुपति खाद्यतेल उद्योग, स्वदेशी साबुन लगायतका दर्जनौँ ठूला उद्योगमा पनि बाढीले तहसनहस बनाएको स्पष्ट पारे।

उद्योगीलाई मात्र नभई व्यवसायीलाई पनि बाढीको पानीले नोक्सानी पुर्‍याएको छ। आयातकर्ता श्रवण अग्रवालले आफूले मोरङको कटहरीस्थित गोदाममा राखेको चना, मटर, दाल लगायतका सामग्री बाढीले डुबाउँदा ३ करोडभन्दा बढीको नोक्सानी भएको बताए।