४९० मेगावाटको अरुण-४ विद्युत प्राधिकरणले नै निर्माण गर्ने, एउटै नदीमा चार हजार मेगावाटका आयोजना

बिजमाण्डू
२०७८ असोज १४ गते १३:५८ | Sep 30, 2021
४९० मेगावाटको अरुण-४ विद्युत प्राधिकरणले नै निर्माण गर्ने, एउटै नदीमा चार हजार मेगावाटका आयोजना

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ४९० मेगावाटको अरुण-४ जलविद्युत आयोजना पनि आफैले निर्माण गर्ने भएको छ। संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने उक्त आयोजना अर्धजलाशययुक्त जलविद्युत आयोजना हो।

Tata
GBIME

विद्युत विकास विभागले एक वर्ष अघिनै अरुण-४ आयोजनाको क्षेत्र निर्धाणरण गरेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ।

प्राधिकरणले संखुवासभामा १०६१ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ।

अरुण नदीमा अहिले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणाधिन छ। भारतीय कम्पनी सतलज जलविद्युत निगमले उक्त आयोजना निर्माण गरिरहेको छ। त्यस्तै सतलजलेनै ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना पनि निर्माण गर्दै छ।

विद्युत उत्पादन कम्पनीले ४५० मेगावाटको किमाथांका अरुण, ग्रेट हाइड्रोपावरले १०९ मेगावाटको अपर बरुण आयोजनाको अध्ययन गरिरहेका छन्। एम्पिक पावरले १३२ मेगावाटको तल्लो बरुण आयोजनाको निर्माण अनुमति मागेको छ।

यसरी अरुण र उसका सहायक नदीमा गरी संखुवासभामा मात्रै विभिन्न ८ वटा आयोजनाबाट करिब चार हजार मेगावाट विद्युत उत्पादनको तयारी गरिएको छ।

९०० मेगावाटको अरुण तेस्रोबाट भने सन २०२५ भित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ। अरुण तेस्रो र ६७९ मेगावाटको तल्लो अरुण दुवै आयोजना सतलजले निर्माण गर्ने उत्पादित विद्युत भारत निर्यात गर्ने छ।