माउन्टेन फ्लाइटको भाडामा बुद्ध र यतीबीच प्रतिस्पर्धा, उडान थाल्न गुणले पनि बनाउँदैछ योजना

बिजमाण्डू
२०७८ असोज ८ गते १३:४७ | Sep 24, 2021
माउन्टेन फ्लाइटको भाडामा बुद्ध र यतीबीच प्रतिस्पर्धा, उडान थाल्न गुणले पनि बनाउँदैछ योजना


काठमाडौं। कोभिड दोस्रो लहरका कारण बन्द गरिएको माउन्टेन फ्लाइट पुनः सुरु भएसँगै बुद्ध र यती एयरसलाइन्सले प्रतिस्पर्धात्मक रूपमा भाडादर निर्धारण गरेका छन्। 

Tata
GBIME
Nepal Life

बुद्धले शनिबार र यतीले आइतबारबाट यो उडान सेवा सुरु गर्न लागेको हो। दुवै कम्पनीले एटीआर-७२ सिरिजको जहाजमार्फत यो उडान सेवा दिन लागेका हुन्। बुद्धको तुलनामा यतीले ११ सय ५२ रुपैयाँ सस्तोमा यो उडानको भाडादर सार्वजनिक गरेको छ।  

तीन दिन अगाडि बुकिङ खुला गरिएसँगै शुक्रबार विहानसम्म ४० जना यात्रुले टिकट बुकिङ सुरु गरिसकेको बुद्धका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए। 'भोलिबाट हाम्रो माउन्टेन फ्लाइट सुरु हुनेछ। छोटो समयमै उल्लेख्य यात्रुको सहभागिता रहेको पाइएको छ,' उनले भने, 'यो उडानमा हामी एउटा एटीआर-७२ उपयोग गर्नेछौं।' 

यो उडानका लागि आन्तरिक र भारतीय पर्यटकको हकमा १० हजार रुपैयाँमा दुई जनाले सहभागी हुन पाउने प्रावधान रहेको कम्पनीले जनाएको छ।

दुई दिन अघि माउन्टेन फ्लाइटका लागि टिकट बुकिङ सुरु गरेको यतीमा शुक्रबार विहानसम्म २० जना भन्दाले बढी टिकट बुकिङ गरिसकेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए। आइतबारबाट सुरु गर्न लागिएको यो उडानमा पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीसहित ११ जनाको क्रिकेट खेलाडीको सहभागीता रहने उनले जानकारी दिए।

'बुकिङ जुन मात्रामा हुनुपर्ने हो त्यसरी भएको छैन। नेपालीहरुको सहभागिता कम छ। भोलिसम्म यात्रुको संख्या थप हुने आशा लिएका छौं,' उनले भने। यो उडानका अन्तर्गत नेपाली र भारतीय नागरिकको हकमा दुई जना यात्रुले आठ हजार आठ सय ४८ रुपैयाँमै सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

यी दुई कम्पनीसँगै गुण एयरलाइन्सले पनि माउन्टेन फ्लाइट सेवा सुरु गर्ने योजना बनाएको छ। यती एयरलाइन्ससँग खरिद गरेको पाँचवटा जेटस्ट्रिम जहाजमार्फत आउँदो साता उडान संचालन सुरु गरेसँगै माउन्टेन फ्लाइट पनि थाल्ने योजना रहेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए।

'हाम्रो पनि माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको छ। नेपाली र विदेशी पर्यटन लक्षित आकर्षक योजना सार्वजनिक गर्दै यो सेवा सुरु गर्नेछौं,' प्रवक्ता थापाले भने। सामान्यतया समयमा (कोभिड अगाडि) माउन्टेन फ्लाइटका लागि प्रतिव्यक्ति ११ हजार रुपैयाँसम्म भाडादर निर्धारण गरिएको थियो। यो उडानमा सहभागी दुई यात्रुमध्ये एकजनाले झ्याल छेउको र अर्को यात्रुले साइड सीट पाउन सक्ने उनले जानकारी दिए।

सुरुवाती चरणमा साताको एक दिन यो उडान गर्न ला गेका दुवै कम्पनीले यात्रुको माग आए अनुसार उडान संख्या वृद्धि गर्दै लाने योजना बनाएका छन्।