अवकास पाउन तीन दिन मात्र बाँकी रहँदा उड्डयन प्राधिकरणका महानिर्देशक पोखरेलले दिए राजीनामा

बिजमाण्डू
२०७८ असोज ५ गते १९:५२ | Sep 21, 2021

काठमाडौं। अवकाश पाउन मात्र तीन दिन बाँकी हुँदा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्। पोखरेलले मंगलबार आफूले राजीनामा दर्ता गरेको बताए।

Tata
GBIME

उनले राजीनामा दिनुअघि नै कार्यकाल सकिन लागेकाले प्राधिकरणको महानिर्देशक पदका लागि आकांक्षीबीच दौडधुप बढेको छ। हवाई उड्डयनको क्षेत्रमा प्राधिकरण महानिर्देशक प्रभावशाली पद भएकाले सरकारले पोखरेलको बहिर्गमनअघि नै नयाँ पदाधिकारी टुंगो लगाउने अनुमान कर्मचारीहरुको छ।

स्रोतका अनुसार सम्भवतः आगामी बिहीबारको मन्त्रिपरिषद बैठकले नयाँ महानिर्देशक नियुक्त गर्नेछ। त्यसैले आकांक्षीहरुबीच नियुक्तिका लागि जोडबल बढेको हो।

योग्यताका हिसाबले प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री, प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, उपमहानिर्देशक भोला गुरागाईं लगायतका चारजनाले महानिर्देशकका लागि राजनीतिक भेटघाट तीव्र पारेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका राजकुमार क्षेत्रीको कार्यकाल चार महिना बाँकी छ। आकांक्षीहरुमध्ये अनुभवका हिसाबले उनी वरिष्ठतम भएकाले प्राधिकरणको नयाँ नेतृत्वका प्रबल दाबेदार हुन्। उनीभन्दा पछि रहेका उपमहानिर्देशक भोला गुरागाईंको भने कार्यकाल अवधि साढे पाँच महिना मात्र बाँकी छ।

यता राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्देशनालयका निर्देशक अधिकारी ११औं तहका अधिकृत हुन्। उनले राष्ट्रिय गौरव आयोजना अन्तर्गतका विमानस्थलको निर्माण हेर्छन्। यस्तै, गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन कार्यदलका संयोजकको भूमिका निर्वाह गरिसकेका प्रतापबाबु तिवारी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक छन्।

१२औं तहका पाँच कर्मचारीमध्ये दुई जना उपमहानिर्देशकले पनि केहीअघि मात्र राजीनामा दिइसकेका छन्। आउँदो बिहीबारदेखि कार्यकाल पूरा हुनुअगावै उपमहानिर्देशक देवानन्द उपाध्याय र नरेन्द्रबहादुर थापाले राजीनामा दिइसकेको प्राधिकरणले जनाएको छ।