
काठमाडौं। ललितपुर सातदोबाटोमा आवासीय क्लस्टर 'द अर्बन स्पेस' निर्माण सुरु भएको छ। कुल ४० आना जग्गामा १२ वटा रो-हाउजिङ निर्माण गरिने यो परियोजना २०७९ दसैंमा हस्तान्तरण गर्ने लक्ष्यसहित निर्माण थालिएको छ।
परियोजनाभित्र एउटा भवन निर्माण कम्पनीको कर्पोरेट कार्यालय, ग्रोसरी स्टोर तथा मार्ट, क्याफे, पार्किङ लगायत रहने कम्पनीका संस्थापक ई. विपिन गैरेले बताए। बाँकी रहेका ११ घरहरु भने कम्पनीले बिक्री गर्नेछ। ३५ करोड रुपैयाँ लगानीमा कम्पनीले निर्माण सुरु गरेको छ।
परियोजनामा सबै घरहरु ३/३ आनामा बन्नेछन्। 'धेरै जनालाई तीन आनामा बन्ने घर निकै साँघुरो होला भन्ने लाग्न सक्छ। तर हाम्रो परियोजनाका कुनै पनि घरमा त्यस्तो महसुस हुने छैन,' गैरेले भने, 'सबै घर २६०० वर्गफिट क्षेत्रफलका हुनेछन् । यो भनेको निकै सुविधाजनक स्पेस हो।'
अहिले बनेका हाउजिङका अधिकांश घरहरु १५ सयदेखि दुई हजार वर्गफिट हाराहारीका हुने गरेका छन्। घरको सुरु मूल्य तीन करोड ६० लाख रुपैयाँ निर्धारण गरिएको छ। जग्गाको खरिद मूल्यका कारण पनि परियोजनाका घरहरुको मूल्य केही बढी जस्तो लागेको गैरेको भनाइ छ। काठमाडौंका राम्रा लोकेसनका जग्गा आनाकै ४५ लाख रुपैयाँभन्दा बढी पर्छ।
परियोजनाभित्र 'ए' र 'ब' रोमा तीन आनामा बन्ने घरहरुले अतिरिक्त आठ आना डेडिकेटेड खुला क्षेत्र (२०×१२० फीट) पनि उपयोग गर्न पाउने गैरेले बताए। घरहरु साढे तीन तलाका हुनेछन्।
तीन आनामा बन्ने हरेक घरहरुमा दुई वटा गाडी अट्ने पार्किङ क्षमता रहने उनले जानकारी दिए। घरहरुलाई आगलागीबाट जोगाउन फायरलाइन जडान गरिनेछ। त्यसैगरी, सेन्ट्रल हिटिङ, पर्याप्त खानेपानी तथा ढल लगायतका सुविधा रहने छन्।
घरघरमा ग्यासको पाइपलाइन 'द अर्बन स्पेस' परियोजनामा निर्माण गर्ने तयारी डेभलपरको छ। हरेक घरमा स्मार्ट ग्यास मिटर जडान हुने बताइएको छ।