आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमति, व्यवसायीसँग प्रधानमन्त्री देउवा किन रुष्ट भए?

बिजमाण्डू
२०७८ भदौ १० गते १७:३४ | Aug 26, 2021
आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच सहमति, व्यवसायीसँग प्रधानमन्त्री देउवा किन रुष्ट भए?

काठमाडौं। नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच विहीबार तीन बुँदे सहमति भएको छ। यो सहमतिसँगै व्यवसायीले आफ्नो हड्तालका कार्यक्रम फिर्ता लिएका छन्।

Tata
GBIME
Nepal Life

महासंघको अगुवाईमा मंगलबारदेखि प्रोडक्ट डेलिभरी अर्डर(पिडिओ) लिन बन्द भएको थियो। महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा बढाउनुपर्ने, तेल ल्याउँदा लाग्ने विभिन्न खर्च समायोजन हुनुपर्ने लगायतका माग राख्दै हड्तालमा उत्रिएको थियो।

हड्ताल सुरु भएर तेल उठाउन बन्द भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चासो लिएर माग संबोधनका लागि वाणिज्य सचिव दिनेश भट्टराई र निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई निर्देशन दिएका थिए। विहीबार विहान नौ बजे प्रधानमन्त्री देउवाले भट्टराई र पौडेललाई बोलाएर समस्या समाधानका लागि निर्देशन दिएका थिए।

२० मिनेट लामो छलफलमा देउवाले निगमलाई ठूलो भार नपर्ने गरि व्यवसायीको माग संबोधन गर्न भनेका थिए। त्यही निर्देशनपछि निगमका दिउँसो १ बजेदेखि वार्ता भएको थियो।

झण्डै तीन घण्टा लामो छलफलमा निगमबाट गठन भइसकेको प्राविधिक कमिटिको प्रतिवेदनका आधारमा मर्मत सम्भार खर्च तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चहरु यकिन गरि भाडा सुत्रमा समायोजन गर्ने सहमति भएको छ।

नेपाल सरकारको राजस्व तथा भारत सरकारले लिने सडक दस्तुर, भारतको केन्द्रीय तथा प्रादेशिक सरकारका प्रवेश इजाजत शुल्क तथा राजस्व, नेपाल तथा भारततर्फ लाग्ने एकीकृत भन्सार जाँच चौकी शुल्क, ट्यांकरको परिमाण मापन शुल्क तथा खर्च र विस्फोटन प्रमाणपत्र शुल्क भाडा सुत्रमा समायोजन गर्ने सहमति भएको छ। कोभिडका कारण हवाई इन्धनको खपत कम भएर ढुवानी न्यून भएका बारेमा छलफल गरेर आवश्यक उपाय अबलम्बन गर्ने सहमति भएको छ।

व्यवसायीसँग प्रधानमन्त्री रुष्ट

तेल उठाउन बन्द गरेर सरकारलाई समस्यामा पार्न खोजेको भन्दै प्रधानमन्त्री देउवा व्यवसायीसँग रुष्ट भएका छन्। महासंघको केन्द्रीय नेतृत्वमा नेपाली कांग्रेसका महासमिति सदस्य खगेश्वर बोहोरा छन्।

महासचिवमा धादिङबाट निर्वाचन लडेका विश्व अर्याल छन्। कांग्रेसको नेतृत्वमा रहेका व्यवसायीलेनै हड्ताल गरेर सरकारलाई असहयोग गरेको देउवाको निष्कर्ष छ। महासचिव अर्यालले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा सामाजिक संजालमा विरोध जनाएका थिए। प्रधानमन्त्री देउवाकै सहमतिमा निगमको व्यवस्थापनले मूल्य बढाएको थियो।

तर बोहोराले निगमले मूल्य बढाएर सरकारलाई असहयोग गरेको र आफ्नो माग धेरै अगाडिदेखि भएपनि संबोधन नगरेकोलेे हड्ताल गरेको बताएका थिए।