क्याटरपिलरले दियो ६ अस्पताललाई स्वास्थ्य सामाग्री, अक्सिजन कन्सन्ट्रेटरदेखि भेन्टिलेटरसम्म

बिजमाण्डू
२०७८ साउन ३० गते १७:२१ | Aug 14, 2021
क्याटरपिलरले दियो ६ अस्पताललाई स्वास्थ्य सामाग्री, अक्सिजन कन्सन्ट्रेटरदेखि भेन्टिलेटरसम्म

काठमाडौं। क्याटरपिलर आइएनसीको परोपकारी अंग क्याटर पिलर फाउन्डेसनले नेपालका ६ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

कोभिड-१९ को तीव्र संक्रमणसँग संघर्षरत मुलुकहरुलाई आवश्यक राहत प्याकेज सहयोग दिने घोषणा अनुसार नै नेपालमा पनि सहयोग गरेको फाउन्डेसनले जनाएको छ।

यस फाउन्डेसनले संसारभर छरिएका संस्थाहरुमार्फत कोभिड प्रभावित समुदायमा एक करोड २० लाख अमेरिकी डलर बराबरको राहत सहायता प्रदान गरिसकेको दाबी गरेको छ।  

कोभिड-१९ बाट अति प्रभावित देशको सूचीमा रहेको नेपाललाई पनि आवश्यक राहत सहायता प्रदान गरिएको फाउन्डेसनको भनाइ छ। 

पहिलो र  दोस्रो चरणको कोभिडसँग जुधिसकेको नेपाल र नेपाली समुदायले तेस्रो चरणको कोभिडसँग जुध्नुपर्ने अवस्था आउन लागेकाले फाउन्डेसनले थप वृहत् सहयोग गर्ने पनि जनाएको छ।  

असिष्ट इन्टरनेशनलको सहकार्यमा फाउन्डेसनले नेपालका ग्रामीण र शहरी क्षेत्रमा रहेका ६ अस्पतालहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयु भेन्टिलेटर, प्यासेन्ट मनिटर, नेवुलाइजर लगायतका सामाग्री उपलब्ध गराएको हो।

स्वास्थ्य सामाग्री पाउनेमा पोखरा एकेडेमी अफ हेल्थ साइन्सेस, रुपाकोट गाउँपालिका स्वास्थ्य केन्द्र, स्याङ्जा जिल्ला अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल, शीर मेमोरियल अस्पताल बनेपा र कान्ति बाल अस्पताल, काठमाडौं रहेका छन्। 

अस्पतालहरुको छनोट गर्न ट्रयाक्टर्स नेपालले सहयोग गरेको थियो। ट्याक्टर्स नेपाल क्याटर पिलर आइएनसीको नेपाल डिलर हो।

पोखरा एकेडेमी अफ हेल्थ साइन्सका निर्देशक प्रोफेसर डा. भरतबहादुर खत्रीले महामारीको समयमा स्वास्थ्य सामग्रीको अभावसँग लडिरहेका स्वास्थ्य केन्द्रले महत्वपूर्ण स्वास्थ्य सामग्री पाउँदा कोभिडबाट ग्रसित स्थानीय समुदायको जीवनरक्षामा सहयोग पुग्ने बताएका छन्।

फाउन्डेसनले अझै विकट ठाउँमा रहेका स्वास्थ्य केन्द्रहरु पहिचान गरी आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्नुपर्ने पनि उनको भनाइ छ।

क्याटरपिलर फाउन्डेसनका अध्यक्ष आशा वर्गिजले समुदायको सार्वजनिक स्वास्थ्य सुरक्षाको लागि कठिन परिस्थितिमा हिम्मतको साथ खटिने असिष्ट इन्टरनेशनल जस्ता गैर नाफामुखी संस्थाहरुलाई सहयोग गर्न पाँउदा खुसी लागेको वताए।

नेपालमा कोभिड-१९ संक्रमणविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु अति उपयोगी हुने भन्दै यसले अमूल्य जीवनहरुको रक्षा गर्ने उनले बताए।