७ अर्ब लगानीमा जगदम्बा स्टिल्सको जस्तापाता उद्योग, उत्पादन चाँडै बजारमा आउने

बिजमाण्डू
२०७८ असार २३ गते १५:५१ | Jul 7, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। जगदम्बा स्टिल्स्ले सात अर्ब लगानीमा जस्तापाता उद्योग स्थापना गरेको छ। डन्डी उद्योगमा पायोनियर रहेको शंकर समूहको रंगिन जस्तापाता साउनदेखि बिक्री सुरु हुनेछ।

समूहका संस्थापक अध्यक्ष शंकरलाल अग्रवालले मंगलबार बाराको सिमरा स्थित फ्याक्ट्री उद्घाटन गरे। समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले विश्वकै पछिल्लो प्रविधि जडान गरेर जस्तापाता उत्पादन सुरु भएको बताए।

'हामीले विश्व बजारमा आएको लेटेस्ट प्रविधि ल्याएका छौं। हामीले सादा जस्तापाता बिक्री सुरु गरिसकेका छौं,' उनले बिजमाण्डूसँग भने, 'साउनदेखि रंगिन जस्तापाता बजारमा बिक्री सुरु हुनेछ।'  उनका अनुसार जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) चाँडै बजारमा आउन लागेको कम्पनीले जनाएको छ ।

 सिमरामा अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री सिआरएम मिलको डिजाईन, मेशिन  जडान कार्य, तथा कमिशनिगं कम्पनीका उपाध्यक्ष प्रभात मिश्राले गरेका हुन्।

मिश्रा ग्याल्भालुम् तथा कलर कोटिङ उत्पादन प्रबिधिका विज्ञ रहेको कम्पनीले जनाएको छ। 

जगदम्बा स्टील्सले केही समय यता नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्तापाता भित्र्याउने तीव्र तयारी गरिरहेको यसअघि नै जानकारी दिँदै आएको थियो।

जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाता अत्याधुनिक प्रविधिबाट उत्पादन हुने भएकाले नेपाली बजारमा नयाँ आयाम खडा गर्नेमा विश्वस्त रहेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युम लाईन प्रविधिबाट उत्पादन हुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्तापाताको तुलनामा अत्यधिक मजबुत र टिकाउ हुने कम्पनीले बताएको छ ।