सडक विभागका डीजीले भनेका थिए-‘तातोपानीको सडक बन्नै सक्दैन’, तर एक सातामा कसरी संचालनमा आउँदैछ?

बिजमाण्डू
२०७८ असार २२ गते २०:३९ | Jul 6, 2021
सडक विभागका डीजीले भनेका थिए-‘तातोपानीको सडक बन्नै सक्दैन’, तर एक सातामा कसरी संचालनमा आउँदैछ?


काठमाडौं। एक साता अघि सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चीनसँगको व्यापारिक नाका तातोपानी पुग्ने सडक मर्मत गर्न नसकिने बताएका थिए। भोटेकोशीले बगाएको ५० मिटर सडक बनाउनै नसक्ने उनको जिकिर थियो।

Tata
GBIME

थापाले तलतिर नदीले कटान गरिरहेको र माथितिर बस्ती भएकाले सडक निर्माण गर्न सक्ने अवस्था नै नरहेको जिकिर गरेका थिए। 'सडक पूरै वास आउट भएको छ। नामोनिसान नै छैन। सडकमाथि सय घरको एउटा वडा नै छ,' उनले भनेका थिए, 'गाउँ हुँदैनथ्यो भने एक/दुई दिनमा बाटो खुल्थ्यो। तलबाट निरन्तर भोटेकोशीले तानिरहेको छ। माथितिर अहिले नै क्रयाक छ। गाउँ नै सार्नुपर्ने गरी कसरी काम गर्ने?'

उनले सडक विभागसँग गाउँ नै सारेर काम गर्नु की चुप लागेर बस्ने दुई विकल्प रहेको बताउँदै भनेका थिए- 'त्यसैले चुप लागेर बसेको छौं।'  विभागका महानिर्देशक थापाको भनाई एक सातामै गलत साबित भएको छ। अहिले यो सडक धमाधम मर्मत भइरहेको छ। भोटेकोशीमा बाढी नआए एक सातामै संचालनमा आउनेछ। भोटेकोशीमा पानीको बहाव घटेसँगै सडक मर्मत धमाधम भइरहेको सडक डिभिजन चरिकोटका  इन्जिनियर गोविन्द डुमरुले बताए।

उनका अनुसार केही दिनदेखि सडक मर्मतको काम चलिरहेको छ। 'पानीको बहाब घटेपछि मर्मतको काम तीव्र गतिमा अघि बढाएका छौ। थप क्षति नपुगे बढीमा एक सातामा सडक संचालनमा आउँछ,' उनले बिजमाण्डूसँग भने।

सडक डिभिजन चरिकोटका अनुसार मंगलबारबाट पाँच वटा टिपर, तीन वटा स्काभेटर, लोडर प्रयोग गरेर काम भइरहेको छ। 'हामीले काम गर्न मेसिन अट्ने सम्मको सडकको आकार निकालेका छौं। माथितिर खन्न नमिल्ने भएकाले तलतिर ढुंगा हालेका छौं। खोलाबाटै उठाएको भने होइन,' उनले भने,'यो सडक केही दिनमै संचालन ल्याउने तयारी छ।' नेपाल-चीन मितेरी पुलबाट नेपालतिर करिब १ किलोमिटरमा पर्ने ओडारे भन्ने ठाउँको सडक बगाएको हो। नदीको बहाव कम भएपछि मर्मतको काम थालिएको डुमरुको भनाइ छ।

सडक संजाल टुटेपछि उत्तरी नाकाबाट आयात निर्यात ठप्प छ। व्यवसायीहरुले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्रीहरु भने तुइनमा तारेर ल्याएका थिए। अक्सिजन प्लान्टहरु केरुङ हुँदै ल्याउने तयारी भएको थियो।