पर्यटन बोर्डलाई विज्ञहरुको सुझाव- ‘२ देखि ३ वर्षको रिकभरी र रिभाइभल योजना चाहिन्छ’

बिजमाण्डू
२०७८ असार १८ गते १५:१६ | Jul 2, 2021

Tata
GBIME

काठमाडौं। कोभिड-१९ का कारण धरासायी अवस्थामा रहेको पर्यटन क्षेत्र पुनर्उत्थानमा लक्षित बजेट ल्याउन पर्यटन बोर्डले विज्ञहरुसँग छलफल गरेको छ।

छलफलका क्रममा बिज्ञहरुले नेपाल पर्यटन बोर्डलाई तीन तहसँग समन्वय गरी बजेट ल्याउन सुझाव दिएका छन्। बजेट ल्याउनु पूर्व बोर्डले बिज्ञहरुको राय लिएको हो। 

विज्ञहरुले कोभिड १९ बाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसंग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका हुन्।

हालको सयममा पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकार समेत खुम्चिने जनाउँदै भएको बजेटबाटै सिमित र प्रभावकारी काम गर्न विज्ञले बोर्डलाई सुझाव दिएका छन् । 

भर्चुअल कार्यक्रममार्फत विज्ञहरुले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै खोपको सुनिश्चितता र विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजान आवश्यक रहेको जनाएका छन्। 

हालको अवस्थामा मुलुकको पर्यटन प्रवर्धनका लागि संघीय सरकारले बोर्डलाई अनुदान दिन आवश्यक रहेको पूर्व गभर्नर तथा पूर्व पर्यटन सचिव दिपेन्द्रपुरुष ढकालले बताए। 'समस्यामा परेको समय सहयोग गर्ने र भएको समय लिनेगरी अगाडि नबढे पर्यटन प्रर्वद्धनमा आर्थिक समस्या आउनका साथै सम्रग पर्यटन क्षेत्र प्रभावित हुनेछ।'-उनले भने।  

विगतमा भएका कार्यहरुको समीक्षा गर्दै मुलुकको पर्यटन क्षेत्र पुनर्उत्थानका लागि तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण गर्न आवश्यक रहेको पर्यटन विज्ञ विष्णु प्रसाद गौतमले बताए। 

यसैगरी पर्यटन विज्ञ डा. प्रेम शर्माले तत्काल अन्तरराष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेको जनाउँदै आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने खालको बजेट तर्जुमा गर्न सुझाव दिएका छन्।

कार्यक्रममा प्राध्यापक डा.सोमप्रसाद खतिवडा,रामचन्द्र सेडाई,चेतनाथ कँडेल, सूर्यकिरण श्रेष्ठ लगायत विज्ञले बोर्डले सरोकारवालालाई समेटेर कम्तिमा २ देखि ३ वर्षको रिकभरी र रिभाइवल योजना बनाउनु पर्ने र सोही अनुरुप पर्यटन प्रर्वद्धनका कार्य अगाडि बढाउनु पर्ने बताए।  

पर्यटन विज्ञ डा. आलोक राई,रमेश उपाध्याय र पशुपति न्यौपाने, ज्ञानेन्द्ररत्न तुलाधर लगायतले कोभिड चुनौतीसँगै अवसर पनि भएकोले यो समयमा जनशक्ति विकास,पर्यटकीय प्रडक्टको विकास गर्दै डिजिटल मार्केटिङमा जोड दिनु पर्ने बताए । 

यसैगरी पर्यटन व्यवसायीहरु विजय अमात्य, विक्रम पांडे काजी र सिएन पाण्डेले स्रोतको कमी भएको अवस्थामा प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गर्दै पूर्वाधार भन्दा नयाँ पर्यटकीय प्रडक्ट र बजारीकरणलाई जोड दिनेगरी बजेट बनाउन बोर्डलाई आग्रह गरेका छन् ।  

अन्तरक्रियामा बोर्डका उपाध्यक्ष तथा स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद रिजालले कोभिडको कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहेपनि सिमित साधनबाट अधिकतम काम गर्ने गरी आफुहरुले तयारी गरिरहेको जानकारी दिए ।

विज्ञहरुका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारका काम अगाडि बढाउने उनले बताए । उनले थोरै बजेट भएपनि सातै प्रदेशमा केही देखिने गरी काम गर्ने योजना रहेको उनले जानकारी दिए।

यस्तै बोर्डका सदस्य कृष्ण शाह तथा पम्फा पौडेल धमलाले कठिन परस्थितीमा पनि बोर्डले स्रोत व्यवस्थापनका लागि विभिन्न निकायहरुसँग समन्वय गरिरहेको जानकारी दिए।