वीरगंजमा हुलास स्टिलले १५ करोडको उद्योग तयार पार्दै, ६ महिनाभित्रै उत्पादन सुरु हुने

बिजमाण्डू
२०७८ असार १८ गते १२:५३ | Jul 2, 2021

Tata
GBIME
Nepal Life

वीरगंज । गोल्छा घराना अन्तर्गतको हिमांशु गोल्छा समूहले वीरगंजमा अर्को फलाम उद्योग निर्माण गरिरहेको छ। जस्तापाता उत्पादन गर्ने हुलास स्टिल प्रालि सिमरापछि वीरगंज करिडोरमा दोस्रो फलामे उद्योगका रूपमा यो खुल्न लागेको हो।

पछिल्लो ६ महिनादेखि वीरगंज-३१ बेल्वामा यो उद्योगको निर्माण कार्य जारी छ।

फलामे स्ट्रक्चर आर्थत प्रि-फेब्रिकेटर सामाग्री उत्पादन गर्ने लक्ष्यका साथ करिब १५ करोडको लागतमा उद्योग स्थापना भइरहेको व्यवस्थापन पक्षले जनाएको छ।

उद्योगका प्रबन्धक रमेश श्रीवास्तवका अनुसार अहिले चारैतिरबाट पर्खाल लगाउने, जगमा माटो पुर्ने र सेड बनाउने काम भइरहेको छ।

आगामी ६ महिना भित्रै उद्योगले घर बनाउने फलामको भौतिक उपकरण उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए।

साढे ७ बिघामा फैलिएको उद्योगले फलामको घर निर्माणमा आवश्यक संरचना तथा उपकरण अर्डर अनुसार उत्पादन गर्नेछ।

यस्तो उद्योग नेपालमा भैरहवा बुटवल क्षेत्रमा फाटफुट भएको र आधुनिक युगको मागलाई मध्यनजर गर्दै यस्तो उद्योगमा लगानी गरिएको उनले बताए ।

उद्योगले चीनबाट आधुनिक प्रविधि भित्र्याउन लागेको र उद्योग सञ्चालनमा आएपछि ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने उद्योगका प्रबन्धक श्रीवास्तवको भनाइ छ ।

सस्तो जग्गा पाएर लगानीकर्ताले बाराको जीतपुरबाट करिब ८ किलोमिटर पश्चिममा वीरगंजको बेल्वामा यो उद्योग स्थापना भइरहेको हो ।

पैनीको विवाद सुल्झियो, बाढीको जोखिम

उद्योग स्थापना भइरहेको क्षेत्रमा किसानले उपभोग गर्ने कुलो(पैनी) उद्योगले अतिक्रमण गरेको सम्बन्धमा केही समयअघि उत्पन्न विवाद पनि सुल्झिएको उद्योगले दाबी गरेको छ। उद्योगका प्रबन्धक श्रीवास्तवका अनुसार ५ फिटा चौडा र सय मिटर लम्बाईको किसानले सिचाई गर्ने पैनी उद्योगले अतिक्रमण गरेको भन्दै खुल्ला गर्न स्थानीयले माग गरेका थिए। स्थानीय जनप्रतिनिधि तथा प्रभावित किसानसँग  छलफलबाट सबै किसिमका समस्या समाधान गर्ने प्रबन्धक श्रीवास्तवले बताए ।

उद्योग स्थापना भइरहेको स्थलभन्दा पश्चिमबाट भेडहा खोला बगेकाले वर्षातको समयमा उद्योगना बाढी पस्ने जोखिम छ। उद्योग सञ्चालनका लागि ११ हजार केभीएको विद्युत आपूर्तिमा पनि झन्झट भइरहेको बताइएको छ ।