गुण एयरलाइन्स संचालनमा आउन थप एक महिना लाग्ने, जहाज प्राप्ति र पाइलट तालिम सकिएलगत्तै नियमित

बिजमाण्डू
२०७८ असार ११ गते १३:२१ | Jun 25, 2021
गुण एयरलाइन्स संचालनमा आउन थप एक महिना लाग्ने, जहाज प्राप्ति र पाइलट तालिम सकिएलगत्तै नियमित

Tata
GBIME

काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सको नियमित उडान संचालनमा आउन थप एक महिना लाग्ने भएको छ।

कम्पनीले पाइलट तयारी र यतीसँग खरिद गरेको पाँच जेटस्ट्रिम जहाज हस्तान्तरण भएपछि साउन महीनादेखि नियमित उडान सुरु गर्ने योजना रहेको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले बताए।

'कोभिड दोस्रो लहरका कारण तोकिएकै समयमा उडान गर्न नसकिएको हो। अहिले प्लेन पनि ट्रान्सफर हुने प्रक्रियामा छ। जहाज प्राप्ति अन्तिम चरणमा छ,' उनले बिजमाण्डूसँग भने। एक महीनाभित्रै कम्पनीले आफ्नो पाइलटको तालिम सक्ने योजना छ। पाइलट तालिमका लागि ट्रायलका कामहरु अगाडि बढाइसकेको उनले जानकारी दिए।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जहाज संख्या विस्तारको अनुमति लिएसँगै यतिखेर नागरिक उड्डयन प्राधिकरणले एओसीका लागि प्रक्रिया अगाडि बढाइसकेको गुणले जनाएको छ। 'उहाँहरुको आपसी समझदारी अनुसार जहाज स्वामित्व हस्तान्तरण हुनेछ। यो सँगै पाँचवटा चरण पुरा गरेर पाँचवटैं जहाज संख्या एओसीमा थपिनेछ,' प्राधिकरणका एक उच्च पदाधिकारीले भने। 

शाक्यले एक अर्बको लागतमा यती एयरलाइन्सको पाँचवटै जेट स्ट्रीम जहाज किनेर कम्पनी संचालनमा ल्याउन लागेको हो। १३ वर्षको अवधिमा वित्तीय व्यवस्थापन गर्दै शाक्यले गुण एयरलाइन्सलाई आक्रामक रुपमा अघि बढाउन लागेका हुन्। आर्थिक रुपमा संकटमा परेका बेला गुण एयरलाइन्सको ब्यवस्थापन सञ्चालन बन्द भएको थियो। आर्थिक संकटबाट बाहिरिएपछि शाक्यले गुणलाई ब्यूँताएर एग्रेसिभ रुपमा चलाउन लागेका हुन्।

यतीसँग खरिद गरेको पाँचवटा जहाज प्राप्ति गरेसँगै कम्पनीसँग भएको दुईवटा बिचक्राफ्टसहित जहाज संख्या  सात हुनेछ। कम्पनीले दुई वर्षभित्र नौवटा जहाजमार्फत सेवा दिने व्यवसायिक योजना बनाएको छ। दुई ट्विनअटर सिरिजका जहाज थप्ने योजना छ।

हाल करिब एक सयजना जनशक्ति कार्यरत कम्पनीले पाँचवटा जहाज थपेसँगै थप डेढ सय जनाभन्दा बढी कर्मचारी भर्ना गर्ने तयारी गरेको छ।
जहाज संख्या विस्तार गरिएसँगै गुणले धनगढीबाहेक सिमरा, भरतपुर, जनकपुर, भद्रपुर, बिराटनगर, नेपालगन्ज, तुम्लिङटार लगायतका विभिन्न गन्तव्यमा उडान सेवा बिस्तार गर्नेछ। यसअघि कम्पनीले दुई बिचक्राफ्टमार्फत पोखरा, भरतपुर, भैरहवा र माउन्टेन फ्लाइट लगायतका सेवा दिँदै आएको थियो।