कोरोना संक्रमण कम भएपछि आन्तरिक हवाई उडान खोल्ने निर्णय, अन्तर्राष्ट्रियतर्फ ९ देशमा उडान खुला

बिजमाण्डू
२०७८ असार ८ गते १९:४३ | Jun 22, 2021
कोरोना संक्रमण कम भएपछि आन्तरिक हवाई उडान खोल्ने निर्णय, अन्तर्राष्ट्रियतर्फ ९ देशमा उडान खुला

Tata
GBIME

काठमाडौं। सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ नौ मुलुकमा हवाई उडान खोल्ने निर्णय गरेको हो।

कोरोना संक्रमण कम भएपछि सरकारले यो निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भए पनि आन्तरिक उडानको मिति भने तय भएको छैन। तर आन्तरिक हवाई उडान कम्पनी सीमित उडानका लागि तयारी अवस्थामा छन्। ‘सरकारले मिति तोक्नेबित्तिकै उडान खोल्न तयार छौं। स्वास्थ्यका सबै मापदण्ड पालनासहित उडान गर्नेछौं,’ आन्तरिक हवाई कम्पनीका प्रतिनिधिहरुले बिजमाण्डूसँग भने। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले पर्यटन मन्त्रालयसँग छलफल गरेर मिति टुंगो लगाइने जानकारी दिए।

अन्तर्राष्ट्रियतर्फ टर्की, कुवेत, दुबई, दम्माम, कतार, मलेसिया लगायत मुलुकमा साताको दुईवटा उडान गर्न अनुमति दिइएको छ। कोभिड संक्रमणसँगै अन्तर्राष्ट्रिय उडान बन्द थिए। तर चार्टर उडान भने संचालन गर्न दिइएको थियो। चार्टर उडानका नाममा हवाई कम्पनीले मनपरी भाडा असुलेका थिए।

साउदी अरेबियाको दम्माम उडानमा जाने श्रमिकले हवाई भाडा र क्वारेन्टिनका नाममा दुई लाख रुपैयाँसम्म तिर्नुपरेको थियो। चार्टरको नाममा भइरहेको लुटतन्त्र रोक्न सरकारले वैदेशिक रोजगारीमा जाने गन्तब्य मुलुकमा नियमित उडान सुरु गर्न अनुमति दिएको हो। चार्टरका नाममा श्रमिकसँग दुई लाखसम्म असुली भएको बारे पर्यटन मन्त्रालयले छानविन समिति समेत बनाइसकेको छ। नौ वटा मुलुकमा साताको दुई उडान गर्न मन्त्रिपरिषद्ले अनुमति दिएको छ।

 मन्त्रिपरिषद्ले कोरिया, जापान, चीन, मस्कट लगायत गन्तव्यमा साताको एउटा उडान गर्न अनुमति दिइएको छ।