उपत्यकामा निर्माणका रोकिएका कामहरु पुनः सुरु हुँदै, सहजीकरण गरिदिन प्रशासनलाई गृहको निर्देशन 

बिजमाण्डू
२०७८ जेठ २६ गते १४:०६ | Jun 9, 2021
उपत्यकामा निर्माणका रोकिएका कामहरु पुनः सुरु हुँदै, सहजीकरण गरिदिन प्रशासनलाई गृहको निर्देशन 

Tata
GBIME

काठमाडौं। निषेधाज्ञाका कारण उपत्यकामा रोकिएका निर्माणका कामहरु पुन: सुरु हुन थालेको छ। प्रशासनले सहजीकरण गरिदिने भएसँगै सुरु हुन थालेका हुन्।

गृह सचिवको नेतृत्वमा मंगलबार उपत्यकाका तीनवटै सडक डिभिजन र सिडिओहरुसहितको बैठक बसेको थियो। गृह सचिव महेश्वर न्यौपानेले उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विकास निर्माणका काममा सहजीकरण गरिदिन निर्देशन दिएका छन्।

'हामीले अनौपचारिक रूपमा केही कामहरु सञ्चालन गरिरहेका थियौं तर प्रशासनले सहजीकरण गरिदिने भएपछि अरु कामहरु पनि अघि बढाउछौं,' डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले भने, 'अहिले काम हुने मुख्य सिजन हो। बाधा भएन भने धेरै काम अघि बढ्छ।'  उपत्यकामा निषेधाज्ञा जारी गरेका कारण निर्माणका कामहरु ठप्प जस्तै छन्।

काठमाडौं डिभिजन अन्तर्गत जमल, चक्रपथ, नयाँ बसपार्क लगायतका विभिन्न स्थानहरुमा ओभर-ले सुरु भएको छ। बानेश्वरमा आकाशे पुल निर्माण, पुतलीसडक, थापाथली, तिनकुने लगायतका विभिन्न स्थानमा फुटपाथ निर्माणको कामहरु चलिरहेको छ। त्यस्तै जरसिंह पौवाबाट मेलम्ची पुग्ने सडक स्तरोन्नतिको काम भइरहेको छ। उपत्यकामा ललितपुर, भक्तपुर, काठमाडौं तीनवटै डिभिजनले २ सय ४९ किलोमिटर सडक ओभर-ले गर्न लक्ष्य छ। 

निर्माण सामाग्रीको बोकेका ट्रकहरु दिउँसो पनि चलाउनका लागि प्रशासनले सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै काम गर्न थप सहज हुने अपेक्षा गरिएको छ। रिङरोड बाहिर दिनमा समेत निर्माण सामाग्री बोकेका सवारी साधन सञ्चालन हुँदा निर्माण सामाग्रीको समस्या हुँदैन। रिङरोडभित्र भने रातमा मात्रै सञ्चालन गर्न निर्देशन दिइएको छ।