करियर सुरु गरेको संस्थाको प्रमुख कार्यकारी भए खत्री, नेशनल लाइफमा चार वर्षलाई नियुक्त

बिजमाण्डू
२०७८ जेठ ६ गते १०:०७ | May 20, 2021
करियर सुरु गरेको संस्थाको प्रमुख कार्यकारी भए खत्री, नेशनल लाइफमा चार वर्षलाई नियुक्त

Tata
GBIME
Nepal Life

काठमाडौं। बीमा समितिले स्वीकृति दिएपछि नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्री औपचारिक रूपमा नियुक्त भएका छन्। 

कम्पनीको संचालक समिति बैंठकले कामु सीइओ खत्रीलाई चार वर्षका लागि एक महिनाअघि नै प्रमुख कार्यकारीमा नियुक्त गरेको थियो।

कम्पनीले नियुक्त गरेको प्रमुख कार्यकारीलाई नियामक समितिले स्वीकृत गर्नु पर्छ। समितिले जेठ ३ गते स्वीकृति दिएपछि उनी त्यही दिनदेखि लागू हुने गरी प्रमुख कार्यकारीको जिम्मेवारीमा आएका हुन्।

उनले नेशनलबाटै बीमामा करियर सुरु गरेका हुन्। २६ वर्ष अघि बीमा क्षेत्रमा आएका खत्रीले बेंग्लोरबाट एमबीए गरेका छन्। उनले कोभिड महामारीका कारण बीमा क्षेत्रमा पनि चुनौती थपिएको बताए।

'निश्चय पनि कोभिड महामारीका कारण बीमा क्षेत्र पनि प्रभावित छ। हामीले अहिले बीमा समितिको निर्देशन अनुसार एक चौथाई कर्मचारी राखेर काम गरिरहेका छौं,' उनले बिजमाण्डूसँग भने, 'कोभिड महामारी सकिएपछि यो क्षेत्रले पनि गति लिने विश्वास लिएका छौं।'

सीइओ भरतबहादुर बस्नेतको पदावधि पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीइओको जिम्मेवारी दिइएको थियो।