तङ्ग्रिँदै गरेको उद्योग व्यवसाय वैशाख १६ देखिको निषेधाज्ञाले पुन प्रभावित: राष्ट्र बैंक

बिजमाण्डू
२०७८ जेठ ५ गते १७:१२ | May 19, 2021
तङ्ग्रिँदै गरेको उद्योग व्यवसाय वैशाख १६ देखिको निषेधाज्ञाले पुन प्रभावित: राष्ट्र बैंक

Tata
GBIME

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति (फलोअप) सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले पछिल्लो वस्तुस्थिति बारे २०७७ असार र मंसिरको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुन: तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ वैशाख ५ देखि १४ गतेसम्म दोस्रो पुनरावृत्ति सर्वेक्षण गरेको थियो। 

सर्वेक्षणले २०७७ असारको तुलनामा वैशाख २०७८ मा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यवसायिक कारोबारमा उल्लेख्य सुधार आएको जनाएको छ। 

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको भएपनि २०७६ फागुन (कोभिड-१९ पूर्व) को अवस्थामा उद्योग/व्यवसायहरु फर्किन नसकेको जनाएको छ। 

तर, दोस्रो फलोअप सर्वेक्षण गरिसक्दा कोरोनाको दोस्रो लहरका कारण अधिकांश जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले अर्थतन्त्र पुन: प्रभावित हुने अवस्था आएको जनाएको छ। राष्ट्र बैंकले कोभिड-१९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु चलयामान बनाउन आवश्यक रहेको जनाएको छ।

राष्ट्र बैंकले कोभिड-१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्यांक संकलन गरेर प्रतिवेदन सार्वजनिक गरेको थियो। 

सो सर्वेक्षणले लकडाउन पश्चात औषतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेको र जम्मा ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो।