हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’, मर्जरपछि कस्तो हुनेछ यो बैंक?

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७८ बैशाख ३० गते १५:१८ | May 13, 2021
हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच ‘बिग मर्जर’,  मर्जरपछि कस्तो हुनेछ यो बैंक?

Tata
GBIME
Nepal Life

काठमाडौं। ८ वैशाख २०७६ मा बिजमाण्डूमा 'बिग मर्जर बहस: हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच कुन सर्तमा मर्जर हुनसक्ला?' भन्ने शीर्षकमा विश्लेषणसहितको समाचार प्रकाशित भएको थियो।

समाचार आइसकेपछि दुवै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको समान धारणा 'ब्याक अफ दी माइन्ड कतै (मर्जरको कुरा) थियो होला, तर बिजमाण्डूले दुई संस्था मर्जर हुँदा के हुन्छ भनेर लेख्दिँदा सम्भावनामाथि बहस गर्न सजिलो भयो' भन्ने थियो। 

बिग मर्जरको पहल गरिरहेको नेपाल राष्ट्र बैंकले पनि यी दुई संस्था मर्जरमा विशेष जोड दिन थाल्यो। तत्कालिन गभर्नर डा. चिरञ्जीवी नेपालले दुवै संस्थाका सञ्चालक र प्रमुख कार्यकारीलाई मर्जरमा जान हौस्याए भने उनको नीतिलाई अहिलेका गभर्नर महाप्रसाद अधिकारीले निरन्तरता दिए।

अधिकारीले 'मर्जरका लागि केही सहयोग चाहिन्छ भने राष्ट्र बैंकलाई भन्न' आग्रह गरिरहे। हौस्याएर होस् या दबाब सृजना गरेर राष्ट्र बैंकले दुई संस्था मर्जर गराउन भूमिका खेलिरह्यो। 

सबैको चौतर्फी पहलपछि सञ्चालक, प्रवर्द्धक र उच्च व्यवस्थापनको साझा मत बन्यो। 

लामो तयारीपछि बिहीबार दुई संस्थाबीच 'बिग मर्जर' का लागि औपचारिक सहमति भएको छ। 

मर्जर सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन्।

मर्जर सम्झौतासँगै दुवै संस्थाले यसको जानकारी राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रार र धितोपत्र बोर्डलाई औपचारिक रूपमा दिएका छन्। अब एकीकृत कारोबार नहुन्जेल दुवै संस्थाको सेयर कारोबार रोक्का हुनेछ।

मर्जर सहमतिपछि दुवै बैंकका प्रमुख कार्यकारी अधिकृतले यो एकदमै ठूलो निर्णय भएको र यसले वित्तीय क्षेत्रलाई निकै फाइदा पुर्‍याउने बताए। हिमालयनका प्रमुख कार्यकारी अशोक राणाले 'माइलस्टोन' निर्णय भएको बताए। इन्भेष्टमेन्टका प्रमुख कार्यकारी पाण्डेले वित्तीय स्थायित्वमा ठूलो योगदान गर्ने र यसबाट अरुलाई पनि प्रेरणा मिल्ने बताए।

यस्ता छन् सहमति
एलफ्ट होटलमा भएको मर्जर सहमतिमा अध्यक्षबाहेकका बाँकी पदाधिकारी 'भर्चुअल' माध्यमबाट सहभागी थिए। मर्जरका लागि सहमति गर्नु अगाडि गरिएको सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रति सेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ आएको छ। 

'यसैलाई आधार मानेर एक बराबर एकको अनुपातमा मर्जरमा जाने भन्ने प्रारम्भिक सहमति हो,' एक सञ्चालकले भने, 'अब बिस्तृत डीडीए हुन्छ। त्यसका आधारमा पछि सेयर आदानप्रदान अनुपात निर्धारण हुन्छ।' 

उनका अनुसार, अहिलेसम्म भने १० प्रतिशत तल-माथि हुँदा पनि एक बराबर एकको अनुपातमा मर्जरमा जाने भन्ने नै छ। यसअघि टीआर उपाध्यायको सीए फर्मले डीडीए गरेको थियो।

दुवै बैंकबीच मर्जर पूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोर गरिने सहमति भएको छ। हिमालयन बैंकको कर्मचारी नियमावलीलाई नै अवलम्बन गरिने छ। यसो हुँदा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको आधारभूत तलब बढ्ने छ।

'आवश्यकता अनुसार मर्जरअघि नै दुवै बैंकले कर्मचारी कटौतीका लागि स्वेच्छिक अवकाश योजना ल्याउने सहमति भएको छ,' अर्का एक सञ्चालकले भने, 'नाम र उच्च व्यवस्थापन पनि टुंगो लागेको छ।'

अहिले हिमालयनमा हजार जना जति कर्मचारी छन् भने इन्भेष्टमेन्टमा १५ सय जना हाराहारी कर्मचारी छन्। इन्भेष्टमेन्टले करारमा पनि कर्मचारी राखेको छ। उनीहरुका बारेमा इन्भेष्टमेन्टले निर्णय गर्नुपर्ने हुन्छ।

मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डे हुने छन्। ज्योति पाण्डेलाई केही स्पष्ट अधिकारसहित डेपुटी प्रमुख कार्यकारी बनाइने छ।

अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने छन्। त्यसपछि सेयर संरचनाका हिसाबले बाँकी सञ्चालक छानिने छन्। यसमा आधा हिमालयन र आधा इन्भेष्टमेन्टबाट ल्याउने प्रयास हुने छ। मर्जरपछि नाम 'हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक' हुने छ।

हिमालयन बैंकमा पाकिस्तानको बैंक हबिबको २० प्रतिशत लगानी छ। यसले आफ्नो सेयर मर्जरको समयमा पनि बिक्री गर्न पाउने भएको छ। राष्ट्र बैंकको स्वीकृति लिएर मर्जरको सहमति भएको हो।

प्रणालीलाई के हुन्छ?
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर भएपछि देशकै सबैभन्दा ठूलो वासलात भएको वाणिज्य बैंक बन्ने छ। यसपछि अरु बैंकलाई पनि एग्रेसिभ मर्जरका लागि दबाब पुग्ने बैंकरहरु बताउँछन्।

केही समयअघि बैंकरहरुसँग गरिएको कुराकानी अनुसार, दुई संस्था मर्जरपछि आगामी वर्ष खासै सिनर्जी नदेखिए पनि अर्को वर्षबाट बैंकले अझ फराकिलो छलाङ मार्नेछ। यो कुरामा हिमालयन र इन्भेष्टमेन्ट बैंकका उच्च व्यवस्थापक सहमत छन्। पहिलो वर्ष आन्तरिक धेरै विषय मिलाउनतिर फोकस हुनुपर्ने भएकाले पनि सिनर्जी नदेखिने उनीहरुको बुझाइ छ। त्यसपछिको वर्षबाट व्यापार वृद्धिसँगै मर्जरको सिनर्जी देखिने छ।

'प्रणालीलाई निकै फाइदा पुर्‍याउँछ भनेर मैले दुई बैंकको मर्जरका लागि पहल गरेको थिएँ,' पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले बिजमाण्डूसँग भने, 'अरु बैंकहरु पनि मर्जरमा प्रोत्साहित हुँदा संख्या घटेर राष्ट्र बैंकलाई नियमन र सुपरिवेक्षण गर्न पनि सजिलो हुन जान्थ्यो।'

नेपालको भनाइसँग बैंकिङ विज्ञ पर्शुराम कुँवर क्षेत्री पनि सहमत छन्। उनले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जानेबित्तिकै ठूलो हुनुपर्ने दबाब अरु बैंकलाई पनि पर्ने बताउँछन्।

नबिल, ग्लोबल आइएमइ, एभरेष्ट र एनआइसी एसिया बैंकलाई पहिलो दबाब पर्नेछ। अन्य बैंकहरु पनि मर्जरमा जाने छन्। नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच तीव्र प्रतिस्पर्धा नै छ। नबिलले बिग मर्जरका लागि पहल गरिरहेको छ। उसले तत्काललाई सानो मर्जर गर्न युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ। उसले तीन वटा बैंकसँग समानान्तर रूपमा कुराकानी गरिरहेको छ।

निकै लामो समयसम्म दुई बैंक (नबिल र इन्भेष्टमेन्ट) मध्ये कसले बढी नाफा कमाउने र लाभांश बाँड्ने प्रतिस्पर्धा चल्ने गर्दथ्यो। त्यसैले एकले अर्काको वित्तीय विवरण पर्खेर बस्ने प्रवृत्ति दुवै बैंकमा थियो। नबिलले जितेका बेला इन्भेष्टमेन्टको बोर्डले प्रमुख कार्यकारीलाई सोध्ने र इन्भेष्टमेन्टले जितेका बेला नबिलको सञ्चालक समितिले सीइओको स्पष्टीकरण नै सोध्नेसम्मको हुन्थ्यो।

पाँच वर्षअघिसम्म निकै पछाडि रहेको एनआइसी एसियाले तीव्र रफ्तार पक्डिएर दुवै बैंकलाई व्यापारमा उछिनेपछि नबिल र इन्भेष्टमेन्टको प्रतिस्पर्धा केही सेलाएको छ। अब हिमालयनसँग मर्जरपछि दोस्रो हुनका लागि पनि बाँकी संस्थालाई निकै परिश्रम गर्नुपर्ने देखिन्छ।

'मलाई लाग्छ हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुँदा अरु बैंकलाई पनि यसले तान्ने छ। मर्जरको लहर नै चलेर वाणिज्य बैंकहरुको संख्या आधाउधीमा आउन सक्छ,' पूर्व गभर्नर नेपालले भने, 'मेरो अपेक्षा पनि यही थियो। धेरै पटक कुराकानी गरियो पनि। त्यही भएर मैले मर्जरलाई गति दिन आफ्नो मौद्रिक नीतिमा केही व्यवस्थाहरु पनि गरेको थिएँ।'

जनता र ग्लोबल आइएमइको सफल मर्जर गराएका क्षेत्रीको बिचारमा केही चुनौतीहरु आउने छ। तर, त्यो मर्जर अगाडि नै सल्टाएर गएमा दुई बैंकको मर्जरले वित्तीय क्षेत्र र अर्थतन्त्रलाई फाइदा पुर्‍याउने उनी बताउँछन्। 'कर्मचारीको व्यवस्थापनमा बेलैमा ध्यान दिनुपर्ने हुन्छ,' उनले भने। 

मर्जर समितिका एक सदस्यका अनुसार, केही कर्मचारीलाई स्वेच्छिक अवकाश लिन लगाइने छ। हिमालयन बैंकको विनियमावली लागू गरिने छ। त्यसो हुँदा कर्मचारी मिलानमा समस्या नहुने उनको दाबी छ।

केही बैंकरलाई भने दुई बैंकबीच मर्जर भएपछि संस्था ठूलो नभएर भद्दा हुन्छ भन्ने लाग्छ। 

'नेपालको अर्थतन्त्रमा अहिले ५० अर्बभन्दा बढी पुँजी कोष भएको बैंक आवश्यक छ त? यसले व्यापार त गर्ला तर पुँजी वृद्धि अनुसार प्रतिफल दिन सक्छ?' ती बैंकर भन्छन्, 'मर्जर अहिलेको आवश्यकता हो तर भद्दा हुने मर्जर कत्तिको आवश्यक छ त? यस बारेमा भने राष्ट्र बैंक र सरोकारवालाले सोचेजस्तो लाग्दैन।'

केही समयअघि बैंकिङबाट बाहिरिएका एक बैंकरलाई भने हिमालयन र इन्भेष्टमेन्टको मर्जर संस्थासँगै पारिवारिक व्यवस्थापन पनि भएको भन्ने लाग्छ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। उनका ससुरा हिमालय शम्शेर राणा बैंकमा अहिले पनि छन्।

'मर्जरपछि भिनाजु अध्यक्ष र साला प्रमुख कार्यकारी भनेको त पारिवारिक ब्यवस्थापन जस्तो भयो। यहाँ त प्रोफेसनल चाहिने हो,' ती बैंकरले भने, 'आखिरी बैंक त एकाघरभित्रै रह्यो नि।'

बैंकिङ क्षेत्रका दुई पुराना र ठूला बैंक मर्ज हुँदा प्रणालीभित्रका अन्य बैंक निकै साना देखिनेछन्। अर्थात उनीहरुको प्रतिस्पर्धी क्षमता कम हुनेछ। र, ब्यापार गर्न नसकेर उनीहरु कमजोर देखिने सम्भावना पनि रहने ती बैंकरको भनाइ छ। तर त्यही बेला ती संस्थाहरु पनि मर्जरमा गए भने प्रतिस्पर्धी बन्न भने सक्छन्।

अर्को समस्या मर्जरपछिको हिमालयन-इन्भेष्टमेन्ट बैंकलाई नै पनि पर्न सक्छ। त्यो भनेको दक्ष र अनुभवी कर्मचारी। २ खर्ब ८८ अर्बको ऋण र २ खर्ब ९८ अर्बको निक्षेप ब्यवस्थापन गर्न सानोतिनो अनुभवबाट सम्भव नहुन सक्छ। यसका लागि बैंकले अन्य संस्थाहरुबाट राम्रा कर्मचारी छान्नुपर्ने हुन्छ। कतिपय अवस्थामा जोखिम न्यूनीकरणका लागि विदेशी कर्मचारी पनि झिकाउनुपर्ने हुन सक्छ।

अहिले पनि यी बैंकमा प्रमुख कार्यकारी र विभागीय प्रमुखका बीचमा कर्मचारी अभाव छ। इन्भेष्टमेन्ट बैंकमा सिइओपछि नायब महाप्रबन्धक छन्। यी दुई पदको बीचमा दुई/चार जना अनुभवी बैंकर अटाउने ठाउँ छन्। हिमालयन बैंकमा तीन जना महाप्रबन्धकहरु राखिएका छन्। त्यहाँ पनि बीचको पदहरुमा कर्मचारी अभावै छ। मर्जरपछि पनि यो खालीपन अझ बढ्छ। यो चुनौती हो भने अवसर अनुभवी कर्मचारी बाहिरबाट भित्र्याउन सकिन्छ।

'नियामकलाई पनि ठूलो बैंकको नियमन गर्न सजिलो हुने छैन। ठूलो बैंक बनाउनुको अर्थ नियामकीय क्षमता पनि वृद्धि गर्नु हो,' ती बैंकरले भने।
           
वित्तीय अवस्था
चैतसम्मको वित्तीय विवरण अनुसार, इन्भेष्टमेन्ट बैंकको कुल ऋण एक खर्ब ६० अर्ब छ। हिमालयन बैंकको एक खर्ब २७ अर्ब रुपैयाँ छ। निक्षेप पनि इन्भेष्टमेन्टको एक खर्ब ६५ अर्ब र हिमालयनको एक खर्ब ३२ अर्ब छ। 

चैतकै तथ्यांकका आधारमा नयाँ बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब र ऋण २ खर्ब ८८ अर्ब रुपैयाँको हुने छ। यी दुई संस्था मर्जर नहुँदा अहिले सबैभन्दा धेरै (निजी क्षेत्रको) बैंक एनआइसी एसियाको २ खर्ब ५९ अर्ब रुपैयाँ छ। निक्षेप २ खर्ब ७५ अर्ब रुपैयाँ छ। मर्जरपछि यस हिसाबले एनआइसीभन्दा २३ अर्ब निक्षेप र २९ अर्ब ऋण बढी हुने छ, त्यो पनि एकदमै कम शाखा सञ्जालबाट।

दुवै बैंकको राजधानीलगायत देशका विभिन्न शहरहरुमा थुप्रै जग्गा जमिन र आफ्नो भवन छ। कस्ट अफ फण्ड साढे ५ प्रतिशतभन्दा कम हुने छ भने आधार दर सात प्रतिशत हाराहारी हुने छ। यसले गर्दा ब्यापार वृद्धि गर्न मर्जरपछि अझ सजिलो हुने छ।

'ठूलो बैंक भइसकेपछि मार्केटिङ गर्न पनि निकै सहज हुन्छ। ग्राहकलाई सानोभन्दा ठूलो बैंकमा काम गर्नुस्, तपाइँलाई सस्तो पनि पर्छ भन्न सकिन्छ,' क्षेत्रीले भने, 'यो फाइदा हिमालयन र इन्भेष्टमेन्ट बैंकले उठाउन सक्छन्।'

हिमालयनमा सीमित लगानीकर्ता
हिमालयन बैंकको स्थापना नेपालका प्रथम गभर्नर हिमालय शम्सेर राणाको पहलमा भएको थियो। अहिले पनि हिमालय शम्सेर बैंकको सञ्चालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। उनका छोरा अशोक राणा दुई दशकदेखि बैंकको प्रमुख कार्यकारी अधिकृत छन्। 

हिमालयन बैंक स्थापना हुँदा उनीहरुका आफन्त र मित्रहरु गरेर चार वटा समूह बनाइएको थियो। यी चार समूहमा प्रत्येकसँग १२.७५ प्रतिशतका दरले ५१ प्रतिशत सेयर थियो।

त्यसमध्ये पहिलो समूह हिमालय शमशेर राणाको थियो, दोस्रो भीमबहादुर पाँडे तथा पृथ्वीबहादुर पाँडे, तेस्रो मोहनगोपाल खेतान र चौथो नरसिंहबहादुर श्रेष्ठ तथा आनन्दभक्त राजभण्डारीको परिवारको स्वामित्वमा भएका कम्पनी, उनीहरुका आफन्त र मित्रहरुको नाममा सेयर थियो। 

बैंकको ठूलो सेयर साझेदारमध्येको एक आभा इन्टेरनेशनल कम्पनी हिमालय शम्सेर राणाको कम्पनी थियो, जुन कम्पनीसँग हिमालयन बैंकमा अहिले पनि ११.३८ प्रतिशत सेयर छ।

तर आभा इन्टरनेशनल कम्पनीमा अहिले हिमालय शमशेर राणाको प्रभाव भने घट्दै गएको छ। आभामा भएको ठूलो सेयर शशिकान्त अग्रवालको हातमा पुगेको छ भने त्यही कम्पनीको केही हिस्सा एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको हातमा पुगेको दाबी बिजमाण्डू स्रोतको छ।

हिमालय शम्सेर, शशिकान्त अग्रवाल र सतिशलाल आचार्य लगायत गरेर आभामा अहिले झण्डै ५० जना सेयरधनी पुगेका छन्। तर त्यसमध्ये अहिले पनि शशिकान्त र हिमालय शम्सेर बलिया छन्। 

त्यसबाहेक हिमालय शमशेर राणाको क्लस्टरअन्तर्गत उनका आफन्त र मित्रहरु शर्मा एण्ड कम्पनीसँग ०.६६ प्रतिशत, इन्टरनेशनल ट्रेड लिंकसँग ०.४७ प्रतिशत, इलु शर्मा धोबीचौरसँग ०.१३ प्रतिशत, नेत्र राज्यलक्ष्मीसँग ०.०६ प्रतिशत र विजयनारायण सिंहसँग ०.०५ प्रतिशत सेयर छ।

त्यसपछि संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवार, आफन्त र मित्रले खोलेर स्थापना गरेको कम्पनी छायाँ इन्टरनेशनलसँग हिमालयन बैंकमा अहिले ८.८९ प्रतिशत सेयर छ। 

जब पाँडेले इन्डोस्वेज बैंक खरिद गरे, त्यतिबेला उनले छायाँ इन्टरनेशनलको सेयर बेचे, यो सेयरमा पनि केही हिस्सा अहिले शशिकान्त अग्रवालसँग छ। त्यसबाहेक मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको सेयर पनि यो कम्पनीमा छ। 

त्यसबाहेक पाँडेको क्लस्टरमध्ये शशिकान्त अग्रवालसँग आफ्नै नाममा २.६५ प्रतिशत, इन्दिरा मल्लसँग ०.१९ प्रतिशत,  नयनतारा मास्केसँग ०.०२ प्रतिशत, मेनुका श्रेष्ठसँग ०.०१ प्रतिशत र स्याकार कम्पनीसँग ०.९९ प्रतिशत सेयर छ।

नरसिंहबहादुर श्रेष्ठ र आनन्दभक्त राजभण्डारी तथा उनका आफन्त र मित्रहरु मिलेर स्थापना गरेको कम्पनी एन ट्रेडिङसँग हिमालयन बैंकमा अहिले पनि १२.७१ प्रतिशत सेयर छ। यो कम्पनी अहिले मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको स्वामित्वमा छ। त्यसबाहेक उनको क्लस्टरमा सुमन राजभण्डारीसँग ०.०४ प्रतिशत सेयर छ।

मोहनगोपाल खेतान तथा उनको परिवारको स्वामित्वमा रहेको कम्पनी म्युचुअल ट्रेडिङसँग हिमालयन बैंकमा अहिले पनि ११.८५ प्रतिशत सेयर छ। जुन कम्पनीमा प्रेमलता खेतान सेयरधनी भएपनि अहिले सिपि खेतान र पिपि खेतानले हेर्छन्। त्यसबाहेक उनको क्लस्टरबाट हिमालयन बैंकमा मारवाडी सेवा समितिको ०.१३ प्रतिशत सेयर र अन्जु खेतानको नाममा ०.७७ प्रतिशत सेयर छ।

यो ५१ प्रतिशत सेयरबाहेक बाँकी ३४ प्रतिशत सेयर दुई वटा संस्थापक लगानीकर्तासँग छ। त्यसमध्ये एउटा कर्मचारी सञ्चय कोषसँग १४ प्रतिशत सेयर छ भने अर्को २० प्रतिशत सेयर पाकिस्तानको हबिब बैंकसँग छ। बाँकी १५ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तासँग छ।

इन्भेष्टमेन्टमा को-को छन्?
हिमालयन बैंकमा जस्तो इन्भेष्टमेन्ट बैंकमा सीमित पारिवारिक लगानीकर्ताको दबदबा छैन्। तर यहाँ पनि पृथ्वीबहादुर पाँडेको प्रभाव भने बलियो छ। जति बेला पृथ्वीबहादुरले हिमालयन बैंकमा भएको आफ्नो सेयर बेचेर क्रेडिट एग्रिकोलसँग इन्डोस्वेज नेपाल (पछि नेपाल इन्भेष्टमेन्ट बैंक नामामा बदलिएको) को सेयर खरिद गरे त्यतिबेलादेखि नै उनी बैंकमा प्रभावशाली छन्। 

हिमालयन बैंकमा रहँदा पाँडेले छायाँ इन्टरनेशनल कम्पनीमार्फत सेयर लगानी गरेका थिए भने नेपाल इन्भेष्टमेन्ट बैंकमा उनले छायाँ इन्भेष्टमेन्ट प्रालि खडा गरेर लगानी गरेका थिए। बैंकमा छायाँको ६.६५ प्रतिशत सेयर छ।

इन्भेष्टमेन्ट बैंकमा ०.५० प्रतिशतभन्दा बढी सेयर भएका छायाँ जस्तै २३ वटा कम्पनीको कुल ५७ प्रतिशत सेयर लगानी छ। पाँडेपछि इन्भेष्टमेन्ट बैंकमा पनि शशिकान्त अग्रवाल प्रभावशाली सेयरधनी हुन्। उनले आधा दर्जन कम्पनीमार्फत १० प्रतिशतभन्दा माथि सेयर होल्ड गर्छन्। तर उनले बोर्डदेखि व्यवस्थापनसम्म कहिल्यै पनि दख्खल दिँदैनन्।

शशिकान्त अग्रवालपछि सांघाई परिवार, टिवडेवाला, पञ्चकन्या र मर्कन्टाइल इन्भेष्टमेन्ट लगायतको पनि बैंकमा सेयर लगानी छ। तर बैंकमा उनीहरुको पनि दख्खल भने ज्यादै कम छ। 

इन्भेष्टमेन्ट बैंकको सबैभन्दा ठूलो सेयरधनी भने राष्ट्रिय बीमा कम्पनी हो। यो कम्पनीसँग १२.१५ प्रतिशत सेयर छ भने राष्ट्रिय बीमा संस्थानसँग १.१४ प्रतिशत र नागारिक लगानी कोषसँग २.६३ प्रतिशत सेयर छ। यसबाहेक बैंकमा सर्वसाधरण सेयरधनीको ३१ प्रतिशत सेयर छ।