रेल चलाउन सरकारले ल्यायो रेलवे अध्यादेश, रेल चालक बन्न विज्ञान विषय लिइ प्लस टु पास हुनुपर्ने 

बिजमाण्डू
२०७८ बैशाख २६ गते १५:५५ | May 9, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं।  सरकारले रेलवे अध्यादेश २०७८ जारी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अध्यादेश जारी गरेकी हुन्।

रेल यातायात सञ्चालनका लागि कानुन ल्याउन प्रस्तावित विधेयक राष्ट्रियसभामै अलमलिएपछि सरकारले अध्यादेश ल्याएको हो।

कोरोनालाइ कारण देखाउदै संसद छलेर अध्यादेश ल्याइएको हो। फास्ट ट्रयाकबाट काम गर्न अध्यादेश ल्याएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरुको जिकिर छ। 

अध्यादेश अनुसार रेल चालकका लागि  मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह (दश जोड दुई) उत्तीर्ण वा मेकानिकल वा अटोमोवाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको योग्यता हुनुपर्ने उल्लेख  छ।

त्यस्तै मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम लिई रेल चलाउन योग्य भएको प्रमाण पत्र प्राप्त गरेको, २५ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघेको र कम्तीमा तीन बर्ष रेल सहचालकको रुपमा काम गरेको हुनुपर्ने उल्लेख छ।

उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि शारीरिक वा मानसिक अस्वस्थताको कारण रेल चलाउन योग्य नभएको, आँखाको देख्ने शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, साधारण  आवाज सुन्न वा संकेत देख्न र सुन्न नसक्ने अवस्था भएको, रातो, हरियो, पहेलो रंगहरु तुरुन्त छुट्याउन नसक्ने गरी दृष्टिदोष (कलर ब्लाइन्डनेश) भएको प्यक्ती चालक बन्न नसक्ने उल्लेख छ। त्यस्तै  रतन्धो भएको, हात वा खुट्टा शक्ति हिन भई काम दिन नसक्ने भएको व्यक्ती समेत चालक बन्न अयोग्य हुनेछ।
 
विदेशी चालक अनुमति पत्रको मान्यता
दफा १७ मा विदेशी चालक अनुमतीपत्रको मान्यता पाउने विषयमा उल्लेख छ।  सो दफामा भनिएको छ,'कसैले विदेशी राष्ट्रबाट रेल चालक वा सह चालक अनुमति पत्र प्राप्त गरेको रहेछ भने त्यस्तो व्यक्तिले नेपालमा रेल चलाउन निवेदन दिएमा रेल्वे प्रशासकले रेल चालक वा सहचालकको अनुमतिपत्रको लागि लाग्ने दस्तूर लिई यस अध्यादेश बमोजिम रेल चालक वा सहचालकको अनुमति पत्र दिन सक्नेछ।'

सो दफामा रेल चालक वा सहचालकले रेल चलाउनको निमित्त आफ्नो अनुमतिपत्र अन्य व्यक्तिलाई दिन नहुने उल्लेख छ । चालक र सहचालकले मादक वा अन्य कुनै प्रकारको लागू पदार्थ सेवन गरी रेल चलाउनु नहुने उल्लेख छ।

के गर्न पाइदैन ?
परिच्छेद १२ मा कसुर र सजाय सम्वन्धी व्यवस्था उल्लेख छ। रेल वा रेल्वेमा आगो लगाउने वा विष्फोटक पदार्थ ओछयाउने, कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप (एम्बुस) बनाई बा अन्य कुनै प्रकारले रेल सञ्चालनमा बाधा पुयाउने, रेल बा रेल्वे कब्जा गर्ने वा अन्य कुनै किसिमले रेल वा रेल्वेको सम्पत्तिमा हानि, नोक्सानी पुयाउने कार्य गर्न पाइदैन।

त्यस्तै, रेल दुर्घटना हुन सक्ने गरी रेल वा रेल्वेमा कुनै वस्तु फ्याँक्ने, रेलको लिकमा ढवा, काट वा अरु कुनै वस्तु राख्ने वा अधिकार प्राप्त अधिकारी बाहेक कसैले रेलको लिक वा सो सम्बन्धी किला, काँटा, स्लिपर आदि झिक्ने, ज्वाइन्टहरु खुकुलो पार्ने वा अरु कल पूर्जा चलाउने, हेरफेर गर्ने वा बन्द गर्ने कार्य गर्न पाइदैन।

त्यस्तै, रेल वा रेल्वेको कुनै निशाना वा बत्ती लुकाउने, चलाउने, झिक्ने, फरक गरी देखाउने, बदल्ने, मेट्ने, हटाउने, खुर्किने लगायतका रेल दुर्घटना हुने कुनै कार्य गर्ने, अधिकारप्राप्त अधिकारी बाहेक अरु कसैले गुडिरहेको रेल विना कारण रोक्न वा रेल चलाउन अटेर गर्न वा रेल चलाउन नदिन अबरोध सिर्जना गर्ने, मादक पदार्थ वा लागू पदार्थ सेवन गरी रेल चलाउने. रेल्बेका कर्मचारी वा यात्रु सँग झगडा गर्ने लगायतका गतिविधी गर्ने  व्यक्तीलाइ दण्ड सजाय हुनेछ।

त्यस्तै रेल चालक वा सहचालकको अनुमति पत्र नलिई रेल चलाउने, आफूले प्राप्त गरेको रेल चालक वा सहचालक अनुमति पत्र रेल चलाउनको लागि प्रयोग गर्न अन्य व्यक्तिलाई दिने, रेलमा यात्रा गर्ने वा गराउने प्रयोजनको लागि अधिकार पत्र वा टिकटको अंक, अक्षर, मिति वा व्यहोरा सच्याउने, बोर्डको अनुमति बेगर टिकट बिक्रि वा अधिकार पत्र वितरण गर्नेलाई सजायको व्यवस्था गरिएको छ।

त्यस्तै, यात्रीगण्टा वा मालसामान हराएको, नासिएको, नोक्सानी भएको वा फिर्ता नभएको भनी बोर्ड समक्ष झुटो मागदाबी पेश गर्ने वा सो को लागि झुठो विवरण दिने, रेलमा यात्रीलाई अनावश्यक झञ्झट दिने, अधिकार प्राप्त व्यक्ति बाहेक अरु कसैले रेल्वे सजालनको लागि जारी गरिएका सार्वजनिक सूचना उप्काउन, च्यात्न वा व्यहोरा केरमेट वा सच्याउने, रेल्वेमा धुलो वा फोहोर वा यात्री माधि फोहोर बा अन्य कुनै वस्तु फाल्ने, रेलको निषेधित स्थानमा बसी यात्रा गर्नेलाइ दण्ड सजाय हुनेछ।

यस्ता कसुर गरे दण्ड सजाय दुवै हुने उल्लेख छ।  कसुरको प्रकृति अनुसार १० बर्ष सजायदेखि २ लाख रुपैयासम्म जरिवाना हुनेछ। अध्यादेशमा  रेलवे प्रशासकको काम.कतर्व्य र अधिकार,रुट, भाडा तथा शुल्क निर्धारण,कर्मचारी नियुक्ती लगायतका विषयहरु तोकिएका छन्। जयनगर जनकपुर (३५ किमी) रेल संचालनका लागि यो अध्यादेश ल्याइएको हो।