हिरो मोटोकर्प र गोगोरो इंकबीच रणनीतिक साझेदारी, विद्युतीय सवारी विकासमा सहकार्य हुने

बिजमाण्डू
२०७८ बैशाख १० गते १७:०५ | Apr 23, 2021
हिरो मोटोकर्प र गोगोरो इंकबीच रणनीतिक साझेदारी, विद्युतीय सवारी विकासमा सहकार्य हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। हिरो मोटोकर्प र गोगोरो इंकले शुक्रबार भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी)को दिगो परिवर्तनलाई प्रवर्द्धन गर्न रणनीतिक साझेदारीको घोषणा गरेका छन्।

साझेदारीले विश्वको ठूलो मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो र सहरी ब्याट्री स्वापिङ एवम् स्मार्ट मोबिलिटी नवप्रर्वतनको क्षेत्रमा कार्यरत अग्रणी कम्पनी गोगोरोलाई एक ठाउँमा ल्याएको हिरोले जनाएको छ।

भारतमा गोगोरोका उद्योगको अग्रणी ब्याट्री स्वापिङ प्ल्याटफम ल्याउन दुवै कम्पनीले संयुक्त लगानीमा ब्याट्री स्वापिङ उद्यम स्थापना गर्ने छन्। हिरोको ब्रान्डमा गोगोरो नेटवर्कद्वारा सञ्चालित हुने विद्युतीय सवारी साधन विकासमा सहकार्य गर्ने समझदारी भएको हिरोले जनाएको छ।

'गोगोरोसँगको रणनीतिक साझेदारी हाम्रो कम्पनीको दृष्टिकोण ‘मोबिलिटीको भविष्य बन्ने’ अनुरूप छ। आफ्नो लक्ष्य ‘सिर्जना, सहकार्य र प्रेरणा’ मार्फत् जीवन्त तुल्याउँदैछौं। आज हाम्रो यात्राको अर्को महत्वपूर्ण कोशेढुंगा कायम भएको छ,' हिरो मोटोकर्पका अध्यक्ष तथा सीईओ डा. पवन मुन्जालले भने।

गोगोरो नेटवर्क एक हाइपर–इफिसियन्ट ब्याट्री स्वापिङ प्लेटफर्म भएको हिरोले जनाएको छ। गोगोरो ‘ग्लोबल स्वापेबल ब्याट्री इलेक्ट्रिक स्कुटर मार्केट’ को सन् २०२० मा कम्पनी अफ द इयर अवार्डबाट सम्मानित भएको कम्पनी हो।

तीन लाख ७५ हजारभन्दा बढी सवारी चालक र दुई हजार ब्याट्री स्वापिङ स्टेशनहरूको साथमा गोगोरो नेटवर्कले दैनिक दुई लाख ६५ हजार ब्याट्री स्वाप गर्ने क्षमता रहेको बताइएको छ। कम्पनीले अहिलेसम्म १७ करोड ४० लाखभन्दा बढी ब्याट्री स्वाप गरिसकेको जनाएको छ।

हिरोले अहिलेसम्म १० करोडभन्दा बढी मोटरसाइकल र स्कूटर बिक्री गरिसकेको जनाएको छ। हिरो मोटोकर्पले हाल एसिया, अफ्रिका, मध्यपूर्व, दक्षिण र मध्यअमेरिकाका  ४० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको जनाएको छ।