माधवकुमार नेपालसहित ३२ नेतालाई स्पष्टीकरण सोध्दै ओली, कर्णालीका ५ जनालाई सोधिने

बिजमाण्डू
२०७८ बैशाख ७ गते १४:१० | Apr 20, 2021

Tata
GBIME

काठमाडौं।  नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

एमाले संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संघ र प्रदेशको गरी ३२ जनालाई स्पष्टीकरण सोध्न लागेको एमाले पार्टी कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए।

'उहाँहरुलाई संसदीय दलको नेताको हैसियतले स्पष्टीकरण सोध्न लागिएको हो,' उनले भने।

सोमबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

कर्णालीमा पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेको भन्दै प्रदेशका सांसदलाई स्पष्टीकरण सोध्न लागिएको हो।

नेपालसहित स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई महासचिव ईश्वर पोखरेलले यसअघि नै स्पष्टीकरण सोधेका थिए। माधव नेपालसहित यी चारै जना नेतालाई एमालेले ६ महिना पार्टीबाट निलम्बन गरेको थियो।

बालुवाटारको सोमबारको बैठकमा ओलीले नेपालले कर्णाली प्रदेशमा बेइमानी गरेको भन्दै नेपाल समूहका नेतालाई कडा कारवाही गर्ने चेतावनी दिएका थिए।