भन्सार र आन्तरिक राजस्व दुवै लक्ष्यभन्दा बढी उठ्यो, ९ महिनामा सरकारको प्राप्ति सात खर्ब ३० करोड

बिजमाण्डू
२०७८ बैशाख २ गते १२:३२ | Apr 15, 2021
भन्सार र आन्तरिक राजस्व दुवै लक्ष्यभन्दा बढी उठ्यो, ९ महिनामा सरकारको प्राप्ति सात खर्ब ३० करोड

Tata
GBIME

काठमाडौं। चैत महिनाको राजस्व संकलनमा सरकारले लक्ष्यभन्दा बढी सफलता हात परेको छ। राजस्व संकलन गर्ने सरकारका दुई मुख्य निकायले लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको हो।

गत चैत महिनामा आयाततर्फ धेरै वृद्धि भएको छ। गत महिना भन्सार महसुलमा लक्ष्यभन्दा १३ अर्ब धेरै राजस्व संकलन भएको छ। 

चैतमा विभागले ३६ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा त्योभन्दा १३ अर्ब बढी उठाएको हो । गत वर्षको चैतपछिका झन्डै ८ महिना कोभिडको प्रभाव देखिँदा ओरालो लागेको आयात पछिल्लो चार महिनादेखि सुधार हुँदै गएको छ। विभागले पछिल्लो नौ महिनाकै तुलनामा चैतमा सबैभन्दा धेरै राजस्व संकलन गरेको हो। 

विभागले चालु वर्षको नौ महिनामा तीन खर्ब आठ अर्ब असुल गर्ने लक्ष्य लिएको थियो। तर संकलन भने तीन खर्ब ३० अर्ब भइसकेको छ। यो लक्ष्यभन्दा २२ अर्बले बढी हो।

चैत महिनादेखि सरकारको विकास खर्चको हिस्सामा पनि वृद्धि हुने भएकोले यो महिना मेसिनरी लगायतका सामग्रीहरुको आयात बढ्छ । यसका साथै पछिल्लो समय विलासी वस्तुको आयात बढेर गएको विभागले जनाएको छ। 

विद्यमान कोटाको सुनले बजारमा माग धान्न नसक्दा कोटा बढाएर सरकारले दैनिक २० केजी आयात गर्ने व्यावस्था गरेको थियो। यस्तै सवारी आयातमा पनि वृद्धि भएको छ। विशेषगरी कोभिड प्रभावपछि मोटरसाइकलको माग उच्च भएको गएको छ। मोटरसाइकल तथा सवारीको माघ बढ्दै गएपछि बिक्रेताले माग धान्न नसक्ने अवस्था आएको थियो। यस्तै सेवाग्राहीले एकदेखि दुई महिनासम्म कुरेरै सवारी लिने गरेका थिए। 

आन्तरिक राजस्वले पनि लक्ष्य कटायो
राजस्व संकलन गर्ने अर्को निकाय आन्तरिक राजस्व विभागले पनि चैत महिनाको राजस्व संकलनमा लक्ष्य नघाएको छ। विभागले यो महिना महत्वकांक्षी ५५ अर्ब ५८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर त्योभन्दा करिब ८५ करोड ज्यादा उठाउँदै विभागले चैतमा कुल ५६ अर्ब ४३ करोड राजस्व संकलन गरेको छ। 

विभागको चालु वर्षको नौ महिनाको कुल राजस्व संकलन भने लक्ष्यभन्दा एक अर्ब कम रह्यो । चालु वर्षको नौ महिनामा विभागले ३ सय ११ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३ सय १० अर्ब उठेको छ। यद्यपि, चालु वर्षमा तोकिएको लक्ष्य भने पूरा हुने विभागका महानिर्देशक झक्क प्रसाद आचार्यले विश्वास व्यक्त गरे ।

सेवा क्षेत्र र ठूला व्यावसायिक संस्थाबाहेक अन्य क्षेत्र बौरिँदै गएको महानिर्देशक आचार्यको भनाई छ। चैतमा अन्तःशुलक शिर्षकमा समेत लक्ष्य नाघेको छ। उक्त महिना विभागले ७ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब ४४ करोड उठाएको छ। 

यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि सरकारको लक्ष्य नाघेको छ। यो महिना ८ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ११ अर्ब २ करोड असुली भएको छ। विकास निर्माण परियोजनाहरुको ठेक्कापछि काम गर्ने मौसम भएकाले यो शिर्षकमा धेरै राजस्व उठेको हो। 

अर्कोतर्फ, संस्थागत ठूला कम्पनीहरुले भने धेरै कर तिर्न सकेका छैनन्। यो महिना अग्रिम आयकर मध्येको दोस्रो किस्ता वापतको ७० प्रतिशत रकम तिर्ने महिना हो ।

यो महिना विभागले ३८ अर्ब ३१ करोड राजस्व उठाउने लक्ष्य लिएकोमा ३५ अर्ब ७० करोड मात्रै संकलन भएको छ। नीतिगत सुधारबाट करदातामा सचेतना बढेको विभागको दाबी छ। प्रत्येक क्षेत्रमा कर चुक्ताको प्रमाणप्रत्र अनिवार्य गरिएकाले पनि कर संकलनमा यसले मद्दत पुगेको बताइएको छ। 

यस्तै अन्तर निकाय समन्वय र कर कार्यालयहरुमा आएको सुधार 'प्यान फर अल' कार्यक्रमले कर सहभागितामा वृद्धि भएको छ। यस्तै अन्लाईन भुक्तानीको सुरुआतले पनि कर सहभागितालाई बढाएको छ। 

महालेखा नियन्त्रकको तथ्यांक अनुसार सरकारले चालु वर्षको नौ महिनामा सबै खाले प्राप्तिबाट ७ खर्ब २९ अर्ब ५४ करोड रुपैंया उठेको छ। जसमा करतर्फ ६ खर्ब ३६ अर्ब, गैरकर तर्फ ४७ अर्ब १७ करोड र अनुदानतर्फ १० अर्ब संकलन गरेको छ।