वीरगंज। पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले पर्सामा शिलान्यास गरेको तिलावे पुल जनतालाई सास्ती दिने पुलका रूपमा चिनिन थालेको छ।
आधा दशकदेखि उक्त पुलको काम भइरहे पनि निर्माणमा प्रगति नहुँदा हजारौं जनतालाई पुलको बाटो भएर आउँदा जाँदा सास्ती खेप्नु परेको छ।
वीरगंज आउने जाने क्रममा पुल क्षेत्रको करिब एक किलोमिटर डाइभर्सन पार गर्दा पोखरियाका रामएकबाल साहको मन भित्रैबाट कुडिन्छ। धुलो धुवाँ एकातिर छ भने डाइभर्सनमा खाल्डाखुल्डी पनि उत्तिकै छन।
अहिले गर्मीको मौसममा डाइभर्सन बाटो भरी पुलको ठेकेदारले पानी छर्ने नियम भए पनि पानी छरिएको छैन। जसका कारण खाल्डाखुल्डी बाटोमा धुलाम्मे यात्रा गर्न यात्रुहरु बाध्य छन्।
उक्त पुलको ठेक्का पप्पु-लुम्बिनी जेभीले लिएको छ। पुल निर्माणका लागि सडक विभागले ७ करोड रुपैयाँको बजेट छुट्याएको छ। पुलको काम भने सम्झौता अनुरुप अघि बढेको छैन।
डाइभर्सनमा ठाउँ ठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई जोखिम बढाएको छ। धुलो यति भएको छ की साइकल, मोटरसाइकल र अन्य सवारी साधन दुर्घटना हुने जोखिम पनि उत्तिकै बढेको स्थानीयवासी बताउँछन्।
ठेकेदार कम्पनीका प्रतिनिधि सुमित रौनियार भने अगामी असारसम्म पुलको काम सम्पन्न हुने अन्तिम म्याद रहेकाले उक्त अवधिसम्म काम पूरा गर्ने दाबी गर्छन्।
डाइभर्सन निर्माणका लागि २६ लाख रुपैयाँ सडक विभागसँग माग गरे पनि विभागले नदिएपछि डाइभर्सनको काम राम्रोसँग गर्न नसकेको उनले जिकिर गरे। पुलको स्पानको काम पूरा भइ करिब ८० प्रतशित निर्माण सकिएको उनले बताए।
डाइभर्सनमा तिलावे खोलाको पानी बगाउन राखिएका दुई वटा ह्युमपाइप पनि भारी मालबाहक सवारी गुडाउदा भाँचिएकाले जुन बेला पनि पाइप फुटेर बाटो अवरुद्ध हुने अवस्था सृजना हुँदै गएको स्थानीयको भनाइ छ।