कोभिड प्रभाव घट्दा बढ्न थाल्यो आयात, सात महिनामा आठ खर्बको आयात

बिजमाण्डू
२०७७ फागुन ७ गते १३:२० | Feb 19, 2021
कोभिड प्रभाव घट्दा बढ्न थाल्यो आयात, सात महिनामा आठ खर्बको आयात

Tata
GBIME

काठमाडौं । कोभिड प्रभाव घट्दा आयातको ग्राफ उकालो लाग्न थालेको छ। चालु वर्षको सात महिनामा ८ खर्ब ३ अर्ब रुपैयाँबराबरका विभिन्न वस्तु तथा सेवाहरु आयात भएको भन्सार विभागको ताजा तथ्यांकले देखाएको छ। 

चालु वर्षको सुरुआतदेखि नै गतवर्षभन्दा कम रकमको आयात भइरहेकोमा अहिले आयात पुरानै अवस्थामा फर्किएको हो। चालु वर्षको ६ महिनासम्म गतवर्षभन्दा चार प्रतिशतले कम आयात भएको थियो। आवको सात महिना पूरा हुँदा आयात गत वर्षकै हाराहारीमा आइपुगेको हो। गत आवको सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको थियो भने चालु वर्षको यही अवधिमा पोहोरभन्दा ४ करोड रुपैयाँ बढीको आयात भएको तथ्यांक छ। 

भन्सार विभागको तथ्यांकअनुसार समिक्षा अवधिमा व्यापार घाटा सात खर्ब ३३ अर्ब रुपैयाँ छ। चालु वर्षको साता महिनामा ६९ अर्ब ९९ करोडको निर्यात भएको छ।

हालसम्म सबैभन्दा धेरै रकमको आयात हुने वस्तुमा डिजल रहेको छ। सात महिनामा आयल निगमले ३९ अर्ब ७० करोड मूल्य बराबरको डिजेल आयात गरेको छ। यस्तै, फलामजन्य वस्तु पनि आयातको दोस्रो नम्बरमा परेको छ। यो सात महिनामा करिब ३८ अर्ब रुपैयाँको आयात भइसकेको छ। कोभिड असर कम हुँदा विलासी बस्तुको आयात समेत बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।