कोभिडपछि घरजग्गा कारोबारमा पनि रेकर्डै रेकर्ड, ५ महिनामै तीन लाख बढी घरजग्गा किनबेच

बिजमाण्डू
२०७७ फागुन ७ गते ०८:५४ | Feb 19, 2021

Tata
GBIME

काठमाडौं। कोरोनाले थिलथिलो पारेको अर्थतन्त्रलाई पछिल्लो समय घरजग्गा र सेयर बजारको कारोबारले चलायमान बनाएको छ।

कोभिड प्रभाव पर्नुअघि मासिक औसत ४० हजारसम्म मात्रै किनबेच हुने घरजग्गा कारोबारको संख्या कोभिडपछि भने मासिक ८० हजारसम्म पुगेको छ।

त्यस्तै कोभिडअघि दैनिक मुस्किलले एक अर्ब हाराहारीको मात्रै किनबेच हुने सेयर बजारमा कोभिडपछि भने दैनिक ८/१० अर्ब सम्मको किनबेच सामान्य हुन थालेको छ।

घरजग्गा र सेयर बजार दुवै क्षेत्रको कारोबारले ऐतिहासिक रेकर्ड बनाउँदै गर्दा यसले कोभिडले थलिएको अर्थतन्त्रमा नयाँ पुँजी सञ्चार गरेको यस क्षेत्रका जानकारहरु बताउँछन्।

यी क्षेत्रमा बढेको कारोबारले प्रत्यक्ष रोजगारी सिर्जनामा ठूलो योगदान दिन नसके पनि आर्थिक गतिविधि चलायमान बनाउन भने निकै सघाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्।

अहिले मालपोत कार्यालयको सेवामा प्रविधिको अधिकतम सदुपयोग गर्दै अधिकांश काम पेपरलेस बनाउँदै लगिएको छ। यसले दैनिक सम्पादन हुने कामहरु छोटो समयमै सम्पन्न हुँदा कारोबार संख्या बढ्नुका साथै राजस्व संकलन पनि दोब्बर भएको पौडेलको भनाइ छ।

हुन पनि बिगतमा मुस्किलले मासिक अर्ब रुपैयाँ हाराहारी मात्रै रजिष्ट्रेसन दस्तुर संकलन गर्ने विभागले अहिले भने मासिक करिब चार अर्ब रुपैयाँ हाराहारी रजिष्ट्रेसन दस्तुर मात्रै संकलन गरिरहेको छ। 

पुँजीगत लाभकर, सेवा शुल्क लगायत विविध राजस्व समेत जोड्दा अहिले मासिक करिब ७ अर्ब रुपैयाँ राजस्व संकलन भइरहेको विभागको तथ्यांक छ।

चालु आर्थिक वर्षको साउन र भदौ महिनासम्म कोरोनाका कारण अधिकांश मालपोत कार्यालयहरु बन्दकै अवस्थामा थिए। खुलेका कार्यालयले पनि पालैपालो सेवा दिने गरेका थिए।

असोजमा भने कोरोनाको जोखिमकै बीच पनि सबै कार्यालय खोलिएका थिए। यसले असोजमा करिब ६० हजार घरजग्गा किनबेच गरि साढे पाँच अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।

कात्तिकमा दसैं तिहार जस्ता चाडबाडका कारण ३६ हजार मात्रै घरजग्गा किनबेच भइ तीन अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो।

तर त्यसपछि भने घरजग्गाको कारोबारमा पनि रेकर्ड नै रेकर्ड बनिरहेका छन्। मंसिरमा करिब ६५ हजार घरजग्गा किनबेच भइ साढे पाँच अर्ब रुपैयाँ राजस्व संकलन भयो। पुस र माघमा भने करिब ८०/८० हजार घरजग्गा किनबेच भइ करिब ७/७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

अहिले एक महिनामा उठेको राजस्व आज भन्दा ५ वर्ष अघि एक वर्षको अवधिमा मात्रै संकलन हुने गरेको थियो।

सेयर बजार बढ्दा घरजग्गाको खरिदबिक्री पनि वृद्धि

सेयर बजारले ऐतिहासिक उचाइ लिरहँदा यसबाट कमाएको धेरै थोरै रकम घरजग्गामा पनि लगानी हुने भएकाले कारोबार पनि बढेको यस क्षेत्रका जानकार विनोद सुवेदी बताउँछन्।

बिगतमा पनि सेयर बजार बढ्दा घरजग्गा कारोबार पनि बढेका धेरै उदाहरण छन्। यतिबेला पनि सेयर बजार कोभिड अघिको तुलनामा दोब्बर भन्दा धेरैले बढिसकेको हुँदा सेयर बजारबाट बुक गरेको नाफा घरजग्गामा आएको उनको बुझाइ छ।

कोभिडका कारण २/३ महिनासम्म सबै कुरा ठप्पै भए पनि त्यसपछि भने रेमिट्यान्स आउने क्रम बढेको थियो। उक्त रेमिट्यान्सको ठूलो हिस्सा घरजग्गा र सेयरबजारमै लगानी भएको उनको भनाइ छ।

बैंकमा तरलताको चाप परेर ब्याजदर निकै तल आएपछि मध्यम आय भएका जागिरेले पनि घरजग्गा जोड्दा कारोबारमा वृद्धि भएको सुवेदीले बताए।