माघमा लक्ष्यभन्दा बढी उठ्यो आन्तरिक राजस्व, तर अन्तःशुल्क अझै पनि लक्ष्य नभेट्ने अवस्थामा

बिजमाण्डू
२०७७ फागुन २ गते १५:४७ | Feb 14, 2021
माघमा लक्ष्यभन्दा बढी उठ्यो आन्तरिक राजस्व, तर अन्तःशुल्क अझै पनि लक्ष्य नभेट्ने अवस्थामा

Tata
GBIME

काठमाडौं। माघ महिनामा आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ। विभागले लक्ष्यभन्दा ४ अर्ब ११ करोड रूपैयाँ बढी राजस्व संकलन गरेको हो। 

विभागले २८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३२ अर्ब ११ करोड राजस्व संकलन भएको जनाएको छ। हालसम्म २ खर्ब २३ अर्ब राजस्व संकलन गरेको छ। माघ महिनामा सबैभन्दा सुधार आयकरमा देखिएको छ। ८ अर्ब ३८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको यो शीर्षकमा ११ अर्ब ४७ करोड राजस्व संकलन भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट)मा पनि लक्ष्यको तुलनामा उल्लेख्य सुधार देखिएको छ। 

माघ महिनामा ७ अर्ब  ८८ करोड लक्ष्य राखिएकोमा १० अर्ब १८ करोड संकलन भएको छ। यो महिना सडक पूर्वाधार तथा घर बनाउने सिजन भएकाले निर्माण सामाग्रीको अत्यधिक माग हुने गर्छ। यस्तै सडक कालोपत्रे गर्नलाई यो सिजन उपयुक्त मानिन्छ। अन्तःशुल्क संकलन भने माघ महिनामा कम भएको छ।

चालु वर्षको सुरुदेखि नै अन्तःशुल्क संकलनले कुनै पनि महिना लक्ष्य भेट्न सकेको छैन। यो महिना ६ अर्ब ४५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ५ अर्ब ८० करोड संकलन भएको छ। यो वर्ष अन्तःशुल्क शीर्षकमा ९८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। 

७ महिनामा गैरकर शीर्षकमा निकै कम मात्रै राजस्व संकलन भइरहेको छ। सेवा क्षेत्रहरु राम्ररी खुल्न नसक्दा यो क्षेत्रको सुधार हुन सकेको छैन। यस्तै पर्यटन क्षेत्रमा पनि कुनै सुधार हुन सकेको छैन। 

ठूला करदाताको नाफा घट्दा लक्ष्यमा १० अर्ब ग्याप

आयकरको पहिलो किस्ता वापतको रकम ठूला करदताले दाखिला गर्न कम भएपछि लक्ष्यमा ग्याप देखिएको छ। विभागले ७ महिनामा २ खर्ब ३३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।

यो अवधिमा २ खर्ब २३ अर्ब राजस्व संकलन गरेको हो। ठूला करदाताले  ७ महिनामा १ खर्ब ५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको ठूला करदाता कार्यालयले ८५ अर्ब मात्रै राजस्व संकलन गरेको छ।

ठूला करदाता एनसेलले यो अग्रिम आयकरमा गत वर्षभन्दा ६५ प्रतिशतभन्दा कम दाखिला गरेको छ। यस्तै बैंकिङ क्षेत्रमा पनि नाफामा भारी गिरावट आउने भन्दै कम दाखिला गरेको छ। सरकारी लगानी रहेका संस्थानहरुले पनि गत वर्षको तुलनामा कम कर दाबी गरेका छन्। 

यद्यपि आर्थिक वर्षको अन्त्यसम्ममा विभागले राजस्वको लक्ष्य पूरा गर्ने दाबी गरेको छ। बजारमा आर्थिक चहलपहल बढ्दै जादा फागुन- चैतदेखि राजस्व संकलनको दर बढ्दै जाने विभागको दाबी छ। 'अहिले अन्तःशुल्क बाहेकका आयकर, भ्याट संकलनमा उल्लेख्य प्रगति देखिएको छ,' विभागका एक अधिकारीले भने 'आर्थिक क्रियाकलाप बढ्दै जादा आर्थिक वर्षको अन्त्यसम्म लक्ष्य पुग्नेछ। माघ महिनामा सेवा क्षेत्र पनि विस्तारै सञ्चालनमा आउन थालेको छ।'

मानिसहरु पार्टी-पिकनिक लगायत कार्यक्रम आयोजना गर्न लागिपरेका छन्। आर्थिक क्रियाकलपा बढ्दा बैशाखसम्ममा ठूला करदाताको पनि व्यवसायमा वृद्धि हुने विभागका अधिकारीहरूको अपेक्षा छ। 

सात महिनामा सरकारको कुल प्राप्ति ५ खर्ब ६० अर्ब

चालु वर्षको ७ महिना सकिँदा सरकारले विभिन्न शीर्षकबाट ५ खर्ब ६० अर्ब प्राप्ति गरेको छ। यो कुल प्राप्ति लक्ष्यको करिब ५० प्रतिशत हुन आउँछ। यो वर्ष १० खर्ब ७२ अर्ब प्राप्ति गर्ने लक्ष्य लिएको छ।

आन्तरिक र भन्सार महसुल गरेर सरकारले चार खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ। यस्तै गैरकर शीर्षकमा ४० अर्ब राजस्व संकलन गरेको छ। यसैगरी पाँच अर्ब रुपैयाँ अनुदान प्राप्त गरेको छ।