‘मेरो सेयर’ मोबाइल एपबाटै आइपीओ भर्न मिल्ने, सीडीएससीले थप्यो ‘माइ आस्वा’ अप्सन

बिजमाण्डू
२०७७ मंसिर २६ गते १२:१२ | Dec 11, 2020
‘मेरो सेयर’ मोबाइल एपबाटै आइपीओ भर्न मिल्ने, सीडीएससीले थप्यो ‘माइ आस्वा’ अप्सन


Tata
GBIME
NLIC

काठमाडौं। सेयरमा लगानी गर्न फारमको साटो अनलाइन प्रयोग गरिरहेकाहरूका लागि अब कम्प्युटर वा ल्यापटप नचाहिने भएको छ। मोबाइल एप्लिकेसनबाटै सेयर भर्न मिल्ने भएको छ।

सिडीएस एण्ड क्लियरिङ लिमिटेडले ‘मेरो सेयर’ मोबाइल एपबाटै आइपीओ भर्न मिल्ने सुविधा थपेको हो। गत भदौमा सीडीएससीले लञ्च गरेको उक्त एपबाट सुरूमा प्रयोगकर्ताले आफ्नो सेयर र दरभाउ मात्रै हेर्न पाउने सुविधा थियो।

अब यसमा आइपीओ भर्न मिल्ने सुविधा पनि थपिएको हो। गुगल प्ले स्टोरमा परीक्षणका लागि बेटा भर्सन उपलब्ध गराइरहेको सीडीएससीले मोबाइल एपमा 'माइ आस्वा' सुविधा थपेपछि लगानीकर्ताहरुले ब्राउजरसँगै अब एपबाट पनि आइपीओ भर्न विकल्प भएको छ। लकडाउनयता सेयर बजारमा थपिएका लगानीकर्तामध्ये अधिकांश अनलाइन प्रयोगकर्ता छन्।

स्मार्टफोन प्रयोगकर्ताहरूले मोबाइल एप्लिकेसनको अधिकतम प्रयोग गर्छन्। मोबाइलबाटै डिम्याट खाता खोल्न, बेंक खाता लिंक गर्न, सेयर खरिद-बिक्री अर्डर र भुक्तानीसँगै दिनहुँ कारोबार गर्नेहरू बढ्दा सीडीएसले 'मेरो सेयर' मा सुविधा थपेको हो।  

सुरूमा यो एपमा 'माइ आस्वा' को अप्सन थिएन। प्रयोगकर्ताले सेयर भर्न पाउने सुविधा पनि थप्न माग गरिरहेका थिए। आफ्नो मोबाइलमा डाउनलोड गरेकाहरूले अब एपबाट आइपीओ भर्न फारम खोज्नु वा कम्प्युटर खओज्नु पर्ने छैन। बिभिन्न कम्पनीले आइपीओ जारी गर्दा सीडीएसको साइटमा एकैपटक धेरै प्रयोगकर्ता हुने गरेका छन्। एकैपटक साइटको 'हिट' बढ्दा नखुल्ने समस्या प्रयोगकर्ताले भोग्दै आएका छन्

मोबाइल एपबाट पनि आइपीओ भर्ने सुविधापछि साइटमा चाप घट्ने अनुमान गरिएको छ। कम्पनीले डिम्याट खातामा रहेको सेयर विवरण, बजार मूल्यका आधारमा आफ्नो पोर्टफोलियो, भारित औसत गणना, सेयरको राफसाफ तथा फर्छ्योटलगायतका सुविधा दिँदै आएको छ।