सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, परिसक्यो ६ गुणा बढी आवेदन

बिजमाण्डू
२०७७ असोज २५ गते ११:४२ | Oct 11, 2020

Tata
GBIME
NLIC

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले असोज २१ देखि २५ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्रीमा राखेको छ।

उक्त सेयरमा आइतबार बैकिङ अवधिसम्म आवेदन दिन सकिन्छ। सिडिएस एण्ड क्लियरिङका अनुसार आइतबार बिहान १० बजेसम्म ८ लाख १९ हजार ९३३ जना आवेदकबाट १ करोड ७६ लाख ८५ हजार १५० कित्ताको लागि आवेदन परेको छ। कम्पनीले माग गरेको भन्दा ६.४७ गुणा बढी आवेदन परेको हो।

यस अनुसार कम्पनीले आज बैकिङ अवधिपछि आवेदन लिन बन्द गर्नेछ। कम्पनीले सेयरमा मागभन्दा बढी आवेदन परेकाले गोलप्रथाद्धारा सेयर बाँडफाँट हुने देखिन्छ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ।  

कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले पाउनेछन्। आइपीओ खरिद गर्न चाहनेहरुले बिक्री प्रबन्धकसँगै सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरको वेबसाइटमार्फत् घरबाटै पनि आवेदन दिन सकिने छ। 

कम्पनीकोे आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको आधार औसतभन्दा राम्रो रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पुँजी  ७० करोड छ। १ अर्ब जारी पुँजी रहेको उक्त कम्पनीको सर्वसाधारणलाई आइपीओ बिक्री पश्चात जारी पुँजी बराबरको रकम कायम हुनेछ।

गत आवको अपरिष्कृत विवरणमा कम्पनीको प्रतिसेयर आम्दानी  २.६६ र प्रतिशेयर नेटवर्थ  १०६.३९ छ। सानिमा जनरल २०६४ असार ७ मा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भएको हो। बीमा ऐन २०४९ अनुसार २०७४ माघ २४ मा बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न स्वीकृति पाएको थियो भने २०७५ असार २७ देखि कारोबार संचालन गरेको हो।

कारोबार संचालन गरेको दुई वर्षपछि कम्पनीले साधारण सेयर बिक्री गर्न लागेको हो  कम्पनीमा चार जना संस्थापक सेयरधनी दुई जना सर्वसाधारण र एक जना स्वतन्त्र संचालक छन्। कम्पनीमा ७० प्रतिशत हिस्सा संस्थापकको छ भने सर्वसाधारणको हिस्सा ३० प्रतिशत छ। \

कम्पनीको संस्थापक सेयरधनीमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने छन्। उनको समूहको बहुसंख्यक सेयर छ। यसपछि दुगड समूहको सेयर छ। मोतिलाल दुगड, मालचन्द दुगड र विवेक दुगडको सेयर छ। बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहाल र जुगल भुर्तेललगायतको पनि लगानी छ। संस्थापक सेयरधनीमा १८ जना ब्यक्ति तथा संस्था छन्।