युनाइटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले असोज ७ देखि स्थानीयका लागि आइपिओ बिक्री गर्दै

बिजमाण्डू
२०७७ असोज २ गते ०८:३७ | Sep 18, 2020
युनाइटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरले असोज ७ देखि स्थानीयका लागि आइपिओ बिक्री गर्दै


Tata
GBIME
NLIC

काठमाडौं। युनाइटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले असोज ७ देखि छिटोमा २१ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि  ४ लाख २० हजार कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ। उक्त अवधिमा सबै कित्ता सेयर बिक्री नभएमा कात्तिक ६ गतेसम्म आवेदन दिने अवधि लम्बिने कम्पनीले जनाएको छ । 

कम्पनीले निष्कासन गर्न लागेको सेयरमा प्रतिकित्ता एक सय रुपैयाँमा न्यूनतम १० कित्ता र अधिकत्तम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । यसअघि कम्पनीले चैत १० गतेदेखि आइपीओ निष्कासनको तयारी गरेको थियो। तर, कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण स्थगित गरिएको थियो।

स्वीकृति प्राप्त भएको दुई महिनाभित्र सार्वजनिक निष्कासन गर्न नसकेकाले कोभिड-१९ को असर समेत समावेश गरी कम्पनीले संशोधित वित्तीय विवरणसहितको विवरणपत्र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गराएर प्रकाशित गरेको जनाएको छ।

कम्पनीले संस्थापकबाट ७५ प्रतिशत सेयर स्वामित्व कायम गरी चुक्ता पुँजी ३१ करोड ५०  लाख कायम गरेको छ। कम्पनीले अब, १० प्रतिशत स्थानीय र १५ प्रतिशत सर्वसाधराणबाट सेयर कायम गरी एक सय प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो। कम्पनीले  जारी पुँजीको २५ प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी जम्मा १० लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्नेछ। त्यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता जारी गर्न लागेको हो। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्नेछ। उक्त आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४२ करोड पुग्नेछ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ। कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ दिएको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको प्रति मेगावाट लागत २० करोड ३९ लाख ७६ हजार १४२ रुपैयाँ छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष रहेको छ भने डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १४.९६ वर्ष रहेको छ। कम्पनीको प्रकाशित विवरण अनुसार गत आर्थिक वर्ष २०७६ र ७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ ८५.८२ रुपैयाँ छ।

कम्पनीले आव २०७७ र ७८ मा प्रतिसेयर नेटवर्थ ९८.६९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।