काठमाडौं। समाज लघुवित्त वित्तीय संस्थाले शनिबारका लागि पूर्वतयारी गरेको आइपीओ बाँडफाँड आज नहुने भएको छ। शनिबार सार्वजनिक बिदा पर्नुका साथै निषेधाज्ञाका कारण आवतजावतमा समस्या हुने भएकाले बाँडफाँड योजना स्थगित गरिएको लघुवित्तको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।
अब आइतबार वा सोमबारसम्ममा यस लघुवित्तको आइपीओ बाँडफाँड हुने सिद्धार्थ क्यापिटलले बताएको छ। क्यापिटलका अनुसार आइतबार प्रि-अलोटमेन्टको तयारी छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सोही दिन बाँडफाँटको लागि अनुमति दिए आइतबारै गर्ने अन्यथा यो सोमबार हुने क्यापिटलले जानकारी दिएको छ।
कम्पनीले शुक्रबार नै आइपीओ बाँडफाँड गर्ने तयारी गरेको थियो। तर सेबोनबाट बाँडफाँडको अनुमति नपाएपछि सोमबारसम्ममा यसलाई टुंग्याउने निर्णय गरेको क्यापिटलले जनाएको छ।
कम्पनीले भदौ ४ देखि ८ सम्म सर्वसाधारणलाई ८० हजार ७ सय कित्ता सेयर बिक्रीमा राखेको थियो। उक्त अवधिमा कम्पनीको आइपीओमा ५ लाख ६६ हजार ४७३ जनाबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। लघुवित्तको आइपीओमा झन्डै १५० गुणा बढी आवेदन परेको हो।
कम्पनीको आइपीओ गोलप्रथाद्वारा बाँडिने भएकाले बढीमा ८ हजार ७० जना आवेदनकले मात्र १० कित्ता सेयर पाउने देखिन्छ। आवेदन दिएका ५ लाख ५८ हजार ४ सय ३ जना भने खाली हात हुनेछन्।