लकडाउनमा तराईमा स्वदेशी तोरीको तेल र चिनीको कारोबार चम्कियो, अवैध व्यापारको जालो अध्ययन हुँदै

बिजमाण्डू
२०७७ साउन २१ गते १४:३३ | Aug 5, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं।  केएल दुगड समूहद्वारा उत्पादित धारा तोरीको तेल लकडाउनको अवधिमा जनकपुर र वीरगंज क्षेत्रमा तीन गुणा बढीले बिक्री भयो।

लकडाउन अघिसम्म भारतका सीमा क्षेत्रमा रहेका जिल्लामा तोरीको तेल नगन्य मात्रै बिक्री हुन्थ्यो। लकडाउनको चार महिनामा तेलको बिक्री देखेर यो समूह उत्साहित बन्यो।

‘लकडाउनको अवधिमा तेलको व्यापार भारतसँग जोडिएका जिल्लामा अत्यन्तै राम्रो भयो। त्यो बेलामा धारा तोरीको तेल तीनदेखि चार गुनासम्म बढी बिक्री भयो,’ समूहका प्रबन्ध निर्देशक कुमुद दुगडले बिजमाण्डूसँग भने, ‘स्वदेशी उत्पादनको यो बिक्रीले पनि अरू बेला भारतबाट चोरी निकासी भएर बजारमा आउने वस्तुको अंश ठूलो रहेको देखाउँछ।’

लकडाउनको अवधिमा चिनीको बिक्री पनि उत्साहजनक नै देखियो। त्यही भएर दुई महिनाअघि नै स्वदेशी चिनीको स्टक सकियो। नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल लकडाउनको अवधिमा स्वदेशी चिनीको खपत बढ्दा स्टक चाँडै सकिएको बताउँछन्। ‘स्वदेशी चिनीले भदौसम्म धान्ने अवस्था थियो। तर लकडाउनका कारण साउनमै चिनीको स्टक शून्यमा झर्‍यो,’ उनले बिजमाण्डूसँग भने, ‘लकडाउनले तस्करी रोकिँदा स्वदेशी चिनीको बिक्री राम्रो भयो। तस्करी रोक्ने हो भने हामीले पनि उद्योगमा थप लगानी गर्न बाटो खुल्ने देखिएको छ।’

उनका अनुसार स्वदेशी चिनीको बिक्री काठमाडौं, पोखरा र  पहाडी भेगमा बढी बिक्री हुन्थ्यो। तर लकडाउनमा भने तराईका जिल्लाहरुमा चिनीको बिक्री राम्रो भयो।

 यी दुई वस्तुको बिक्रीले पनि तराईका जिल्लामा तस्करीबाट आउने सामानको बजारमा बोलवाला रहेको स्पस्ट हुन्छ। सीमा पारिका बजारमा नेपाली किनमेलका लागि जाने चलन पुरानो हो। वीरगंज, विराटनगर र भैरहवाबाट हजारौं स्थानीय पारिका सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्थे। रक्सौल, जोगबनी र सुनौलीको बजार नेपालीकै कारण चलेको छ। पारि दिनहुँ हजारौंको खरिदारी चल्दा नेपाली बजारमा पाइने सामान पनि बिक्री उल्लेख्य नहुने स्थिति लकडाउनअघि थियो।

सीमा बन्द रहँदा भारतीय बजारमा किनमेल गर्न चाहनेहरूले पनि जान पाएनन्। सीमा सिल गरेका कारण तस्करी गर्ने समूह पनि रोकिए, जसका कारण स्वदेशी उत्पादनको बजार गुल्जार बन्यो।

स्वदेशी मात्रै होइन विदेशबाट आयात हुने मोबाइल सेटको व्यापार पनि चम्कियो। सामसङ मोबाइलको आधिकारिक बिक्रेता आइएमएसका संचालक दीपक मल्होत्राका अनुसार लकडाउनपछि मिड रेन्जका फोनको कारोबार तीन गुणासम्म बढेको छ। उनका अनुसार लकडाउनका कारण अवैधानिक रूपमा हुने आयात बन्द हुँदा त्यसको फाइदा वैधानिक व्यापारमा परेको छ।'सीमाबाट चोरी पैठारी हुँदा मोबाइलको बजार पूरै धरासायी भएको थियो। रोकिनासाथ त्यो बजार फर्किएको छ,' उनले भने।

अर्थमन्त्रालय अध्ययनमै

लकडाउनको अवधिमा वैध व्यापार फस्टाएपछि अर्थमन्त्रालय पनि उत्साहित देखिएको छ। वैध व्यापार हुनेबित्तिकै त्यसको सीधा प्रभाव राजस्वमा पर्छ। त्यही कारण अर्थमन्त्रालयले चार महिनाको अवधिमा देखिएको वस्तु व्यापारलाई अध्ययन समेत गरिरहेको छ।

अर्थसचिव शिशिर ढुंगानाले लकडाउनको अवधिमा वैध रूपमा आयात भएका वस्तुको व्यापार फस्टाएको बताउँदै त्यसले अर्थतन्त्रलाई समेत सकारात्मक प्रभाव पार्ने बताए। ‘हामीले लकडाउनको अवधिको व्यापारलाई मिहिन रूपमा हेरिरहेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘वैध रूपमा आयात हुने सामानले राजस्वमा तीन गुणासम्म सकारात्मक प्रभाव पार्छ।’

उनका अनुसार भन्सार, भ्याट र आयकरमा प्रत्यक्ष फाइदा पुग्ने भएकाले अवैध रूपमा हुने आयात नियन्त्रणमा ध्यान केन्द्रित गरिएको हो।

उनले चिनी, तेल, डिटर्जेन्ट पाउडर लगायतका वस्तुको व्यापार राम्रो देखिएको बताए। त्यो बाहेक पनि मोबाइलमा पनि सकारात्मक प्रभाव देखिएको ढुंगानाले बताए।

 भन्सार विभागको तयारी यस्तो छ

लकडाउनको अवधिमा वैध व्यापार फस्टाएपछि भन्सार विभागले सशस्त्रको सीमा निगरानी पोष्ट(बिओपी) बढाउन लबिङ गरिरहेको छ। विभागले तस्करी हुने क्षेत्रलाई हेरेर बिओपी राख्न लबिङ गरेको हो।

विभागका महानिर्देशक सुमन दाहालले लकडाउनका अवधिमा सीमा सील हुँदा तस्करी नियन्त्रण भएको बताउँदै त्यसले राजस्वमा सकारात्मक प्रभाव पारेको बताए। ‘सीमा सिल हुँदा धेरै भन्सार राजस्व आउने चाउचाउ, बिस्कुट, मोटर पार्ट्स, कुरमुरे, दाल, चिनी र तेल लगायतका सामान आउन पाएन। त्यसले हाम्रो राजस्वमा सकारात्मक प्रभाव पनि पार्‍यो,’ उनले भने, ‘त्यही भएर मैले राजस्व चुहावट नियन्त्रण समितिमा बिओपी राख्नका लागि आग्रह समेत गरेको थिए। सीमा सुरक्षा हुनेबित्तिकै तस्करीबाट आउने सामान रोकिन्छ र त्यसले राजस्वमा ठूलो प्रभाव पार्छ।’

उनका अनुसार लकडाउनका कारण आर्थिक गतिविधि खुम्चिएकाले अवैध व्यापारको तथ्यांक पत्ता लगाउन सकिएन। ‘सामान्य समयमा सीमा सिल भएर सामान आएको भए अवैध र वैध व्यापारको तथ्यांक पत्ता लगाउन सजिलो हुन्थ्यो। तर लकडाउनका कारण आर्थिक गतिविधि नै खुम्चिएकाले पत्ता लगाउन सकिएन,’ दाहालले भने, ‘तर हामीले केही वस्तुको भने केस स्टडीको रूपमा हेरिरहेका छौं।’