२५ वर्षपछि कर्णालीमा पाँचवटा पुल बन्दै,१२ जिल्लाले लाभ पाउने पुल यसै वर्ष सञ्चालनमा आउने

बिजमाण्डू
२०७७ साउन १२ गते १२:१४ | Jul 27, 2020
२५ वर्षपछि कर्णालीमा पाँचवटा पुल बन्दै,१२ जिल्लाले लाभ पाउने पुल यसै वर्ष सञ्चालनमा आउने

Tata
GBIME
NLIC

काठमाडौं। कर्णाली चिसापानीमा सुदूरपश्चिम र मध्यपश्चिम विकास क्षेत्रलाई जोड्ने पुल बनेको २५ वर्षपछि सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने ५ वटा पुलको निर्माण सुरु भएको छ।

थपिने नयाँ पुलले कर्णाली प्रदेशका जाजरकोट र रुकुम पश्चिमबाहेक जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, मुगु, दैलेख र सुर्खेत गरि ७ जिल्ला तथा सुदूरपश्चिम प्रदेशका डोटी, अछाम, बाजुरा, बझाङ र कैलालीकै पहाडी भेग सहित  १२ वटा जिल्लाको  आवतजावत र ढुवानी सहज हुनेछ।

नेपालगञ्जको रुपेडिया र धनगढीको गौरीफण्टा नाकाबाट आयात-निर्यात हुने वस्तुहरुको पहाडी जिल्लामा सहज ढुवानी हुनेछ। पर्यटकीय गन्तव्य खप्तड, बडिमालिका, रामारोसन र रारा क्षेत्रको दुरी काठमाडौंबाट २०० देखि ३०० किलोमिटरसम्म कम हुनेछ। कर्णाली चिसापानीबाट १० किलोमिटर माथि कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको पञ्चपुरी नगरपालिका जोड्ने कुइने (कर्णाली) पुल निर्माणाधीन छ। ६५ प्रतिशत निर्माण सम्पन्न भइसकेको ट्रिपल आर्क ब्रिज चिसापानी (कैलाली)–मंगलसेन (अछाम) सडकखण्ड अन्तर्गत कुइनेमा निर्माण भइरहेको हो। 

चिसापानीको २५ वर्षअघि बनेको नमुना केबल ब्रिज जस्तै १० किमि उत्तरमा बन्ने ट्रिपल आर्क ब्रिज पनि नेपालकै नमुना पुल हुने पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट बताउँछन्।

करिब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको पुलको डिजाइन गर्न मात्रै २ वर्ष लागेको थियो।

पुलले कैलालीबाट सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको दुरीसमेत करिब एक सय किलोमिटर घट्ने बिष्टले बताए। अहिले सुर्खेत जानका लागि चिसापानी पुल तरेर बर्दिया, बाँके (कोहलपुर) हुँदै करिब २०० किलोमिटर यात्रा गर्नुपर्छ। कुइनेमा पुल बनेपछि कैलालीदेखि सुर्खेत सदरमुकामको दुरी ८५ किलोमिटर मात्रै हुनेछ।

त्यस्तै अछाम मंगलसेनको यात्रा पनि आधाभन्दा बढी छोटो हुनेछ। अहिले कैलालीबाट डोटी र डडेलधुरा हुँदै अछाम मंगलसेन जान करिब ३७० किलोमिटर यात्रा गर्नुपर्छ। तर चिसापानीबाट अछामको यात्रा भने २०० किलोमिटरभन्दा कम हुने बिष्टको विश्वास छ। त्यसका लागि सुर्खेत र अछामको सिमाना जंगलाघाट (कर्णाली) मा अर्को पुल पनि निर्माण हुनेछ। 

८ वटा पुल रातो किताबमा, बाँकी पुलको यसै वर्ष ठेक्का हुने
संविधान सभा सदस्य रहँदा तप्तबहादुर बिष्टले आफ्नो निर्वाचन क्षेत्रका लागि भन्दै २०७२ सालमा ८ वटा पक्की पुल र ३० बढी झोलुंगे पुल निर्माणका लागि पहल गरेका थिए। तीमध्ये २५ बढी झोलुंगे पुल र २ वटा पक्की पुलको निर्माण सकिएको बिष्टले बताए।

रातो किताबमा परेपछि भेरी नदिमा २ वटा पुल बन्यो। कर्णाली नदिमा निर्माण थालिका दुईमध्ये एउटा पुल यो वर्ष  निर्माण पूरा हुनै लागेको छ। कर्णाली नदिमाथि कुइनेमा निर्माण भइरहेको पुल चालु आर्थिक वर्षभित्र तयार हुने पुल सेक्टर नम्बर २ नेपालगञ्जका आयोजना प्रमुख इन्जिनियर शुभराज न्यौपानेले बताए।

३०० मिटर लामो पुल लुम्बिनी अनक जेभी निर्माण कम्पनीले निर्माण गरिरहेको छ। यो त्रिपल आर्क ब्रिज (३ वटा आर्क पिल्लर) भएको नेपालकै नमुना पुल भएको इन्जिनियर न्यौपानेले बताए। अहिले पुलको दुई वटा आर्क तयार भइसकेको र बाँकी काम चालु आर्थिक वर्षभित्रै सकिने आयोजनाले जानकारी दिएको छ। 

यही निर्माण कम्पनीले निर्माण गरेको तातापानी र बाबियाचौर जोड्ने भेरी पुल २०७५ मै उद्घाटन भइसकेको छ। उक्त पुल तोकिएको अवधिभन्दा एक वर्षअघि नै निर्माण सकिएको थियो। भेरी नदिमै बनिरहेको अर्को पुल लकडाउन नभएको भए अहिलेसम्म निर्माण सकिएको हुन्थ्यो। उक्त पुल पनि यही निर्माण कम्पनीले तोकिएकै समयमा निर्माण गरेको थियो।

कुइने पुल पनि डिजाइन गर्न २ वर्ष समय नलागेको भए अहिलेसम्म तयार भइसक्ने बिष्टको दाबी छ। नेपालकै नमुना पुल भएकाले डिजाइनमा समय लागे पनि ४ वर्षभित्र सक्नेगरि ठेक्का लागेकोले पुलको काम तोकिएकै समयमा सकिने आयोजना प्रमुख न्यौपानेले बताए।

कर्णाली नदिमै बडिगाउँ-घाटगाउँ ५८० मिटर लामो पुल पनि निर्माणाधीन छ। यो पुल पनि नेपालका लामा पुलहरुमध्ये एक हो। कर्णाली नदिमै सुर्खेतको बोला र कैलीको राक्सा जोड्ने पुलको ठेक्का प्रकिया अन्तिम चरणमा छ। तालागाउँ-डोटी र जगंलघाट-अछाम जोड्ने पुलको लागि पनि यसै वर्ष ठेक्का प्रकिया सकिने न्यौपानेले बताए। ६० करोड रुपैयाँ लागत अनुमान गरिएको ट्रिपल आर्क ब्रिजसहित अन्य पुलको लागत २५ देखि ४० करोड रुपैयाँसम्म छ। 

बोलाको पुल सेती लोकमार्गका लागि
कैलालीको टिकापुरदेखि बझाङको चैनपुरसम्म २४२ किमि लामो सेती लोकमार्ग कैलाली, डोटी, अछाम, बाजुरा र बझाङमा पर्ने गरि १० वर्ष अघिदेखि नै निर्माण सुरु गरिएको थियो। तर कैलालीबाट डोटीतर्फको रुटमा कडा चट्टान र कतै ठूला खहरे खोला भएका कारण सहज र छोटो बाटोका लागि मोहन्याल गाउँपालिकाको राक्सा र चौकुने गाउँपालिकाको बोलामा पुल निर्माण गर्न लागिएको बिष्टले बताए। 

कैलालीबाट बोला हुँदै सुर्खेतमा प्रवेश गर्ने सेती लोकमार्ग तालागाउँमा निर्माण हुने पुल हुँदै पुनः अछाम वा डोटीमा प्रवेश गर्नेछ। त्यस्तै सुर्खेतबाट बाबियाचौर-गुटु-लगाम हुँदै मदन भण्डारी राजमार्ग पनि तालागाउँमा जोडिन्छ। 

जल र धार्मिक पर्यटनको सम्भावना 
कर्णाली नदिमा बन्ने पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्दै यहाँको धार्मिक पर्यटनको सम्भावनासमेत बढाउने पञ्चपुरी नगरपालिकाका सामाजिक अगुवा कृपराम थापाले बताए।

कर्णाली नदिमा भेरी र सेती नदि मिसिएका दुई वटा दोभान छन्। यी दुवै ठाउँमा पुल बन्दै छन्। कच्ची ट्रयाकको सडक सञ्जालले पनि यी ठाउँलाई जोडिसकेको छ। यी ठाउँमा धार्मिक पर्यटनका साथै जल पर्यटनको पनि निकै सम्भावना रहेको थापाले बताए।

कैलालीको मोहन्याल गाउँपालिकाको बडिगाउँ र सुर्खेतको चौकुने गाउँपालिकाको घाटगाउँ जोड्ने पुल धार्मिक पर्यटनका लागि निकै महत्वपूर्ण हुने उनको दाबी छ। किनभने भेरी नदि र कर्णाली नदिको संगम स्थल घाटगाउँमै पुल बनेपछि त्याँहाको धार्मिक गतिविधि बढ्नेछ। त्यस्तै सेती नदि र कर्णाली नदि मिसिएको अर्को संगम बिन्दु चौकुने गाउँपालिकाको तालागाउँ र डोटीको मेल्टा तथा अछामको बलाँता जोड्ने ठाउँमा पनि पुल बन्दैछ। यहाँ पनि धार्मिक गतिविधिले बढावा पाउने चौकुने गाउँपालिकाका युवा हरिचन्द्र भण्डारीले बताए।

सरकारले चालु आर्थिक वर्षको बजेटमा कैलालीमा खिमडीदेखि खक्रौलासम्म जल यातायात सञ्चालन गर्ने घोषणा गरिसकेको छ। सडक सञ्जालले यी ठाउँ जोडिएपछि जल यातायातको सम्भावना खिमडीदेखि मात्रै नभएर करिब १० किमि माथि  सेती र कर्णाली नदिको संगम बिन्दुदेखि नै सुरु गर्न सकिने भण्डारी बताउँछन्।

चिसापानीदेखि जंगलाघाटसम्म बाटो बनेमा करिब ६० देखि ७० किमिमात्रै सडक यात्रा गरेर कर्णाली नदिको ३/४ सय किमि जल यात्रा गर्न सकिने भण्डारी बताउँछन्।