वीरगंजमा चाडपर्वमा सुनचाँदीको खरिद बिक्रीमा मन्दी,पोहोरभन्दा ५०% ले कम भयो कारोबार

बिजमाण्डू
२०७६ कात्तिक १४ गते १०:३६ | Oct 31, 2019

Tata
GBIME
Nepal Life

वीरगंज। यसपाली वीरगंजमा दशैं र दीपावलीमा सुनचाँदीको कारोबार न्यून भएको छ ।

सुनचाँदीको भाउ बढेपछि  कारोबार उत्साहजनक नरहेको व्यवसायीहरुको भनाई छ । गतवर्ष  ५५ देखि ५७ हजार रुपैयाँसम्म तोलामा कारोबार भएकाले पोहोर उत्साहजनक कारोबार भएको उनीहरुले बताए।

पोहोर करिब ४० किलोभन्दा बढी सुन दशैंदेखि छठसम्म एक महिनाको अवधिमा बिक्री भएको पर्सा सुनचाँदी व्यवसायी संघ पर्साले जनाएको थियो । यसपाली सुनको भाउ बढेकैले धेरै कारोबार नभएको पर्सा सुनचाँदी व्यवसायी संघका महासचिव परबेज सर्राफले बताए ।

गत वर्षभन्दा तोलामा ११ हजार रुपैयाँभन्दा बढीले भाउ बढेकाले ग्राहकहरु सुनचाँदीको गहना किन्न हच्केको उनी बताउँछन् । वीरगंजमा मासिक ५ देखि ८ किलो सुन र २५ देखि ४० किलो चाँदी खपत हुने गरेकोमा यसवर्ष चाडपर्वमा समेत कारोबार राम्रो हुन सकेन।

उनले वीरगंजमा कुल २८७ वटा सुनचाँदी पसल रहेकोमा मुख्य बजारमा रहेका सुनचाँदी पसलले केही कारोबार  गरेको भएपनि भित्री गल्लीका पसलले कम कारोबार गरेको प्रस्टयाए ।

ग्राहकहरुले धनतेरसको दिन सुनचाँदीको गहना बढी किन्ने परम्परा रहेपनि महंगीको कारण यस वर्ष धनतेरसमा चाँदीको सिक्काको बिक्री पनि पोहोर भन्दा घटेको उनले बताए ।

वीरगंजमा सुनचाँदी किन्न पर्सा,बारा,रौतहट,मकवानपुर तथा भारतबाट पनि ग्राहकहरु आउने गरेका छन् ।

कुल ग्राहकको १५ प्रतिशत भारतय ग्राहक पनि वीरगंज आउने गरेका छन् । भारतमा २२ क्यारेटको सुन अधिक बेचिने हुनाले २४ क्यारेटको सुनको लागि उनी उनीहरु चाडपर्बको  बेला वीरगंज आउने गरेको उनको भनाई छ ।