
काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशमा लगानी खुल्ला गर्न माग गरेको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीले आइतबार पत्रकार सम्मेलन गर्दै लगानी रोक्दा अवैध रुपमा पुँजी पलायन भइरहेको बताएका थिए ।
‘विदेशमा लगानीमा रोक लगाएपनि स्वदेशी पुँजी विदेश गइरहेको छ,’ परिसंघका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले भने, ‘विश्वनै ग्लोबल भिलेजको रुपमा विकास भइरहेको बेला लगानी रोक्दा झन् समस्या हुन्छ ।’ विदेशमा लगानी खुल्ला गर्ने बारे परिसंघले सधै वकालत गर्दै आएको छ । परिसंघका एमिरेट्स चेयरम्यान विनोद चौधरीले विदेशमा लगानी गर्दै आएका छन् । बस्न्यातले कानुन अनुसार कर तिरेका उद्योगीलाई विदेशमा लगानी गर्न वातावरण बनाउनुपर्ने बताए । परिसंघका उपाध्यक्ष सतीश मोरले विदेशमा लगानी खुल्ला गरेर आम्दानी अनुसार कर लिन सरकारलाई सुझाव दिए ।
‘सरकारले लगानी खुल्ला गरेर विदेशमा भएका लगानीको तथ्यांक राख्नुपर्छ,’ उनले भने, ‘तथ्यांक राखेर लगानी अनुसारको कर लिनेतर्फ पहल गर्नु उपयुक्त हुन्छ ।’ परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले विश्वव्यापी प्रतिस्पर्धामा जान विदेशमा लगानी गर्न दिनुपर्ने बताए ।