युरो २०१६ : यी हुन्, गोल्डेन बुट दाबेदार १० खेलाडी

बिजमाण्डू
२०७३ जेठ २८ गते ००:०० | Jun 10, 2016
युरो २०१६ : यी हुन्, गोल्डेन बुट दाबेदार १० खेलाडी

काठमाडौं। १५ औं संस्करणको युरो कप फुटबल भोलिबाट फ्रान्समा सुरु हुँदै छ। छनोट भएका सबै २४ टीम फ्रान्समा पुगिसकेका छन्। उपाधि दाबेदार टीमबारे चर्चा-परिचर्चा सुरु भइसकेको छ। उपाधि दाबेदारसँगै सर्वाधिक गोल कसले गर्ला? कसले गोल्डेन बुट अवार्ड हात पार्ला भनेर अड्कलबाजी सुरु भएको छ।
 
गत वर्ष ६ खेलाडीले सर्वाधिक ३ गोल गरेका थिए र युइएफएले खेल खेलेको समय, गोल र असिस्टको आधारमा फर्नान्डो टोरेसलाई उक्त अवार्ड प्रदान गरेको थियो।
 
आखिर स्टार खेलाडीहरुको जमघट रहेको युरो १६ को गोल्डेन बुट अवार्ड कसले जित्ला? बेलायती अनलाइन डेलिमेलले तयार पारेको सम्भावित १० दाबेदार यस्ता छन्-
 
१. क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
जुनसुकै फुटबल प्रतियोगिता सुरु हुनुअघि रोनाल्डोको नाम सर्वाधिक गोलकर्ताको दाबेदारमा स्वत: आउने गर्छ। गतवर्ष स्पेनी क्लब रियल मड्रिडलाई कीर्तिमानी ११औं पटक च्यापियन्स लिगको उपाधि जिताउन मद्दत गरेका रोनाल्डोले रियलका लागि कुल ४८ खेलमा ५१ गोल गरेका थिए। गत संस्करणमा पनि संयुक्त रुपमा सर्वाधिक ३ गोल गरेका रोनाल्डो अवार्ड पाउनबाट भने चुके। 

Tata
GBIME
Nepal Life

 

२. थोमस मुलर, जर्मनी
गत सिजन जर्मन क्लब वायर्न म्युनिखलाई बुण्डेशलिगाको उपाधि जिताउने क्रममा ४९ खेलमा मुलरले ३२ गोल गरेका थिए। सन् २०१० को विश्वकपमा समेत गोल्डेन बुटको अवार्ड जितेका मुलर यसपटक पनि युरो गोल्डेन बुटका दाबेदार हुन्। 

 
३. एन्टोनी ग्रिज्मन, फ्रान्स
युरो २०१६ फ्रान्समै हुँदै छ र फ्रान्स उपाधिको दाबेदारमध्ये एक हो। त्यस्तै स्पेनी क्लब एथ्लेटिको मड्रिडबाट खेल्ले ग्रिज्मन पनि गोल्डेन बुटका दाबेदारका रुपमा रहेका छन्। उनले गत सिजन एथ्लेटिकोका लागि ५४ खेलमा ३२ गोल गरेका थिए। 
 
४. रोबर्ट लेवान्डोस्की, पोल्याण्ड
युरो २०१६ को छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्, रोबर्ट लेवान्डोस्की। उनले छनोटमा सर्वाधिक १३ गोल गरेका थिए। यस्तै जर्मन क्लब वायर्नका लागि पनि उनले ५१ खेलमा ४२ गोल गरे। 
 

५. ओलिभर जिरुड, फ्रान्स
गोल्डेन बुटको दाबेदारमा रहेको अर्का फ्रान्सेली खेलाडी हुन्, जिरुड। उनले गत सिजन आर्सनलका लागि ५३ खेलमा २४ गोल गरेका थिए।
 

६. ह्यारी केन, इङ्गल्याण्ड
एलान सिररपछि इङ्गल्याण्डबाट पहिलो पटक सर्वाधिक गोलकर्ता बन्ने दाउमा छन्, ह्यारी केन। सन् १९९६ मा गोल्डेन बुट अवार्ड जितेका सिरर युरोमा उक्त अवार्ड जित्ने एक मात्र इङ्ग्लिस खेलाडी हुन्।
 
यस्तै गतवर्ष प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बनेका केनले टोटनहमका लागि ५० खेलमा २८ गोल गरेका थिए।
 

७. ज्लाटन इब्राहिमोभिच, स्वीडेन
गतवर्ष फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनको लागि ५१ खेलमा ५० गोल गरेका ज्लाटन स्वीडेनको मुख्य हतियार हो। बेल्जियम, इटली र नर्दन आयरल्याण्ड रहेको समूहमा रहेको स्वीडेनका लागि अघिल्लो चरण प्रवेश गर्न ज्लाटनको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ।

 
८. गारेथ बेल, वेल्स
रोनाल्डोसँगै रियल मड्रिडबाट खेल्ने गारेथ बेलको टीम वेल्स पहिलो पटक युरो कप खेल्दै छ। तर उसका स्टार खेलाडी बेल सर्वाधिक गोलकर्ताको होडमा छन्। बेलले गत वर्ष रियलका लागि ३३ खेलमा २० गोल गरेका थिए।
 

९. डिमित्री पायट, फ्रान्स
अर्का फ्रान्सेली खेलाडी डिमित्री पायट पनि सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन्। फ्रि-किकबाट गोल गर्न माहिर पायटले गतवर्ष वेस्टह्यामका लागि ३८ खेलमा १२ गोल गरेका थिए। 
 

१०. अर्टम जुबा, रुस
युरो छनोटमा रुसका लागि ८ गोल गरेका जुबा सर्वाधिक गोलकर्तामा डार्क हर्स हुन्। रसियन क्लब जेनिथ सेन्ट पिटरसवर्गबाट खेल्ने जुबाले ४३ खेलमा २३ गोल गरेका थिए।