
नेपाल राज्यमा कहिलेबाट भारतीय मुद्रा प्रवेश गर्यो भन्ने यकिन इतिहास छ जस्तो लाग्दैन। पहाड र काठमाडौंतिर अलिअलि चाँदिको नेपाली मोहोरहरु चले पनि तराईलगायत देशका अधिकांश भागमा इष्ट इण्डिया कम्पनीको पैसा (जसलाई कोम्रु भनिन्थ्यो) नै चल्थ्यो।
सरकारले मालपोत दस्तुर उठाउँदा पनि भारुमै उठाउँथ्यो। अदालतमा मुद्दा मामिला पर्दा पनि भारुमै दस्तुर तिर्नु पर्थ्यो। चलनचल्तिमा त भारु छँदै थियो सरकारी कामकाजमा पनि भारु नै व्याप्त थियो।
आफ्नै देशमा नेपाली मुद्रा सरकारी कामकाजका लागि 'अवैध' थियो। कुनै पनि कारोबार नेपाली पैसामा हुँदैन थियो। सरकारले गर्ने खर्च र आम्दानी पनि भारुमै हुन्थ्यो।
राजा देश दौडहामा गइरहने चलन थियो। २०१२ सालमा महाराजधिराज महेन्द्र सरकारलाई के लाग्यो, उहाँले नेपाल राज्यभरी नेपाली मुद्रा चलाउने अठोट गर्नु भयो।
राष्ट्र बैंक ऐन २०१२ तयार भयो। २०१३ सालमा राष्ट्र बैंक स्थापना भएर काम गर्न थाल्यो। राष्ट्र बैंक खोल्नुको तीन वटा उद्देश्य थिए, त्यसमध्ये दोस्रो नेपाल अधिराज्यमा नेपाली मुद्रा चलाउने भन्ने हो।
नेपाल राष्ट्र बैंक ऐन २०१२ को प्रस्तावनामा राष्ट्र बैंकका उद्देश्यमा प्रस्टसँग यसबारेमा लेखिएको छ।
'सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्न नेपाली नोट निस्कासनको सुप्रबन्ध गर्नु, अधिराज्यभर नेपाली मुद्रा चलनचल्तीमा ल्याउन सुव्यवस्था मिलाउनु तथा नेपाली मुद्रा विनिमय दरमा स्थिरता कायम राख्नु' राष्ट्र बैंकको प्रमुख उद्देश्य रहेको छ भनेर प्रस्तावनामा लेखिएको छ।
राष्ट्र बैक सञ्चालनमा आएपछि प्रणालीभित्र २ करोड नौं लाख रुपैयाँ बराबरको भारु सञ्चिति थियो।
राष्ट्र बैंक स्थापना भएपछि सरकारी सम्पूर्ण कामकाज नेपाली रुपैयाँबाट गर्ने प्रबन्ध मिलाइयो। भारुको कारोबार गर्न राष्ट्र बैंक नै आउनु पर्थ्यो। नभए नेपाल बैंक र केही मनि चेञ्जरहरु थिए, त्यहाँ जानु पर्थ्यो। जथाभावी भारु कारोबार गर्न प्रतिबन्ध नै लगाइएको थियो।
एउटा नागरिकले अर्को नागरिकसँग भारु कारोबार गर्न नपाइने व्यवस्था थियो। सरकारले पूर्ण रुपमा प्रतिबन्ध भने पनि केही केही कुरामा आँखा चिम्लिदिएको थियो।
भारतसँग सदियौं देखिको सम्बन्ध। गहिरो हिमचिम। ब्यापार व्यवसाय सोझै भारतसँग। व्यापारीहरु पनि भारतबाट आएका थिए। नेपाली पनि भारत काम गर्न गएका हुन्थे। त्यही भएर अलिअलि भारु बजारमा कारोबार हुँदा आँखा चिम्लिदिइएको थियो। तर भारुको कारोबार देशभित्र गर्न पाइँदैन भन्ने चै सर्वसाधारणलाई पारिएको थियो।
हिजोआज बरु भारु धेरै नै चलन चल्तिमा आएको देखिन्छ। पञ्चायत कालमा भारु चलाउन गाह्रै हुन्थ्यो। भारतसँगको सम्बन्धका कारण अलिअलि भारु चल्नुलाई स्वभाविक मान्नु पर्छ।
भारतले पहिलो पटक अहिले भारु नचल्ने बनाएको होइन। पहिले पनि पटक पटक आफ्ना मुद्रालाई अवैध घोषणा गरेर नयाँ छाप्थ्यो। नेपालीहरु यसमा सचेत हुन आवश्यक थियो। आफ्नो देशको मुद्रा हुँदा हुँदै भारु धेरै थुपार्नु राम्रो होइन। आज अनावश्यक नोक्शान र दुख मात्र भयो।
भारतले पहिले पहिले भारु खारेज गरेपनि नेपालमा भएको नोट जत्ति साटिदिने गरेको थियो। यसपाली भ्रष्टाचारबाट कमाएको कालोधन नियन्त्रण गर्न र नक्कली नोटलाई निस्तेज गर्न प्रतिबन्ध लगाएको। फेरि पाकिस्तानमा जाली नोट छापिएर नेपालको बाटो हुँदै भारत जाने गरेको 'इम्प्रेसन' छ। त्यही भएर यसपाली भएजति सबै नोट साटिन अलिक गाह्रोजस्तो छ। वैधानिक नोट त उसले साट्नै पर्ने हुन्छ।
नेपालीहरुले अठोट गरे भारु कारोबारमा नियन्त्रण आउँछ। पञ्चायत कालमा सरकारले निर्देशन दिएपछि सर्वसाधारणले त्यो काम गर्दैन थिए। अहिले त सरकारनै अलोकप्रिय हुन्छ, उसले भनेको कसैले पनि मान्दैन।
भारु नचलाउन सरकारको निर्देशनभन्दा पनि देशबासीमै अठोट चाहिन्छ। अर्काको देशको मुद्रा चलाउँदा समस्या आउँछ भनेर बुझ्न जरुरी छ।
(राणा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हुन्।)