हल्लैहल्लामा रि-इन्स्योरेन्सको सेयरमा उलटफेर, प्राधिकरण भन्छ- नयाँ निर्णय गर्ने अवस्था छैन

सुनिल कुँवर
२०८१ चैत्र ८ गते १५:२७ | Mar 21, 2025
हल्लैहल्लामा रि-इन्स्योरेन्सको सेयरमा उलटफेर, प्राधिकरण भन्छ- नयाँ निर्णय गर्ने अवस्था छैन


काठमाडौं। नेप्सेमा बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच हुँदा शीर्ष सूचीमा दुईवटा रि-इन्स्योरेन्स कम्पनी रहे। नेपाल रि-इन्स्योरेन्सको २८ करोड २१ लाख र हिमालयन-रिको २३ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भयो।

Tata
GBIME
NLIC

रि-इन्स्योरेन्सको सेयर लगातार उच्च कारोबार हुन थालेको एक महिनाभन्दा बढी भएको छ। सेयर बजार ओरालो लाग्दा समेत उचालिएका रि-इन्स्योरेन्सको मूल्यमा अहिले लगातार गिरावट आएको छ। गत फागुन दोस्रो सातापछि नेप्से बियरिस ट्रेन्ड देखिंदा समेत रि-इन्स्योरेन्सको मूल्य चुलिएको थियो।

फागुन २० गते दुईवटै रि-इन्स्योरेन्सको मूल्य उच्च विन्दुमा पुग्यो। एक वर्षमा न्यूनतम् ५१२ रुपैयाँमा आएको हिमालयन रि-इन्स्योरेन्सको भाउ ११५६ रुपैयाँ पुग्यो। यस्तै न्यूनतम ६३० रुपैयाँ आएको नेपाल रिको मूल्य २० गते प्रति कित्ता १३८९ रुपैयाँ पुग्यो।

जबकि नेप्से त्यसदिन ३०.३६ अंकले घटेको थियो। फागुन १९ देखि नै बियरिस बनेको बजार चैत ७ सम्म एक दिनबाहेक बढेको छैन।

फागुन १ गते प्रति कित्ता ८४४ रुपैयाँ रहेको हिमालयन रि-इन्स्योरेन्सको भाउ तीन सातामा ३१२ रुपैयाँले वृद्धि भएर रेकर्ड कायम गरेकामा अहिले प्रति कित्ता ९६३ रुपैयाँमा आएको छ।

त्यस्तै, नेपाल रि-इन्स्योरेन्सको सेयर मूल्य फागुनको तीन साता ४११ रुपैयाँले उकालो लागेकामा अहिले घटेर १२७७ रुपैयाँ छ। एकैदिन १/१ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकामा अहिले मूल्य ओरालो लाग्न थालेसँगै किनबेच पनि कम भएको छ।

‘फ्युचरमा प्रोफिटाबिलिटी प्रोजेक्सन गरेर कम्पनीमा लगानी गरिन्छ। तर, अहिले अर्निङको हिसाबले रि-इन्स्योरेन्सको मूल्य धेरै नै माथि हो,’ एक मर्चेन्ट बैंकरले भने, ‘हामीले हेर्दा कम्पनीको मूल्यलाई जस्टिफाइ गर्ने कुनै आधार देखिंदैन। एक हिसाबको सट्टेबाजी नै दुई कम्पनीमा लामो अवधिदेखि चलिरहेको छ। बजारमा अस्वाभाविक घटाउने र बढाउने काम भएको छ।’

हिमालयन रि-इन्स्योरेन्स र नेपाल रि-इन्स्योरेन्सको सेयर किनबेचको अवस्था

हिमालयन रि-इन्स्योरेन्सनेपाल रि-इन्स्योरेन्स
मितिकारोबार रकमसेयर मूल्यकारोबार रकमसेयर मूल्य
फागुन १८ करोड ८५ लाख८४४१२ करोड ६० लाख९७८
फागुन ४६ करोड ६९ लाख८४८९४ करोड ५८ लाख९८०
फागुन ५१५ करोड २२ लाख८७६३२ करोड ६४ लाख१०११
फागुन ६८२ करोड २ लाख९३६५१ करोड ६८ लाख१०५५
फागुन ८३८ करोड ३७ लाख९३४६५ करोड ६६ लाख१०७७
फागुन ११९५ करोड ६४ लाख९८२६० करोड २९ लाख११५२
फागुन १२८९ करोड ३५ लाख९९०८० करोड ८७ लाख१२२७
फागुन १३१ अर्ब २ करोड१०२५८३ करोड ३ लाख१३०४
फागुन १५९६ करोड ४७ लाख१०२९७६ करोड ४२ लाख१३२१
फागुन १८८५ करोड ९३ लाख१०१९९७ करोड ५३ लाख१३२३
फागुन १९१ अर्ब ३८ करोड१०९२७३ करोड ४२ लाख१३३२
फागुन २०१ अर्ब ९ करोड११२४६४ करोड २५ लाख१३४१
फागुन २१९६ करोड ७० लाख१११५९० करोड ३१ लाख१३४५
फागुन २२१ अर्ब १२ करोड१०७३१ अर्ब ८ करोड१३५०
फागुन २५१ अर्ब १२ करोड१०४६५९ करोड ९८ लाख१३०४
फागुन २६७३ करोड १७ लाख१०५८७३ करोड ५० लाख१३००
फागुन २७५८ करोड ६५ लाख१०१८५३ करोड ३६ लाख१२८०
फागुन २८५६ करोड ४ लाख१०३२३८ करोड ६७ लाख१३०७
चैत ३५८ करोड ६६ लाख९९९३४ करोड १६ लाख१२८९
चैत ४४३ करोड ९३ लाख९८४३० करोड ७४ लाख१२८९
चैत ५३२ करोड ११ लाख९८६१८ करोड ३ लाख१२८९
चैत ६२९ करोड ६७ लाख९७७१७ करोड ११ लाख१२८२
चैत ७२३ करोड १२ लाख९६३२८ करोड २१ लाख१२७७
स्रोत : नेप्से

एकै प्रकारको व्यवसाय भएका हिमालयन र नेपाल-रि प्रतिस्पर्धी कम्पनी हुन्।

कहिले कम्पनीबीच मर्जरको हल्ला चलाएर त कहिले हकप्रद सेयर निष्कासनका लागि नेपाल बीमा प्राधिकरणले स्वीकृति दिन लागेको हल्ला प्रचार गरेर चलखेल गरी अस्वाभाविक उतारचढाव ल्याउने काम भइरहेको जानकारहरु बताउँछन्।

‘ह्विममा चलिरहेको बजारमा एउटाले फण्डा फ्याँकेपछि सबै त्यसकै पछाडि दौडिने प्रवृत्ति छ। यही कुरा रि-इन्स्योरेन्समा देखिरहेको छ,’ बजारका एक जानकारले भने।

हिमालयन र नेपाल-रि बजारमा लोक्याप कम्पनी होइनन्। नेपाल रिको २ करोड १४ लाख ७५ हजार कित्ता पब्लिक सेयर संख्या छ भने हिमालयनको ३ करोड १२ लाख कित्ता साधारण सेयर हो। ब्रोकरहरुका अनुसार अहिले रि-इन्स्योरेन्सबीच मर्जरको हल्ला चलाइएको छ।

‘रि-इन्स्योरेन्सको पुँजी वृद्धि अवधि थप र हकप्रद सेयर निष्कासन अनुमति बीमा प्राधिकरणले रोक्नुलाई बजारले फरक रुपमा लिएको छ। अहिले खासगरी मर्जरको हल्ला चलेको छ। त्यसकै आडमा लगानीकर्ताले कम्पनीलाई चलाइरहेका छन्,’ एक ब्रोकरले भने।

प्राधिकरणले गत वर्ष माघमा रि-इन्स्योरेन्सको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरेकामा कार्यान्वयन गराउन सकेको छैन। अहिले नेपाल रिको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ र हिमालयनको १० अर्ब ४० करोड रुपैयाँ छ।

दुवै कम्पनीले हकप्रद सेयर निष्कासनबाट पुँजी वृद्धिको योजना प्राधिकरणमा पेस गरेका छन्। तर, प्राधिकरणले स्वीकृति दिएको छैन। प्राधिकरणले पुँजी वृद्धिको अवधि एक वर्ष थपेको छ।

नेपाल रि-इन्स्योरेन्समा सरकारको ४४ प्रतिशत लगानी छ। नेपाल रिले हकप्रद सेयर निष्कासनको अनुमति पाएमा सरकारले सोही बराबरको रकम हाल्नुपर्ने हुन्छ। तर, सार्वजनिक वित्त चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अर्थ मन्त्रालयले हकप्रदमा चासो दिएको छैन।

अर्थको बेवास्तापछि प्राधिकरणले पनि कुनै निर्णय गरेको छैन। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले रि-इन्स्योरेन्सको पुँजी वृद्धिका लागि तत्काल नयाँ निर्णय गर्ने अवस्था नरहेको बताए।

‘हामीले एक वर्ष म्याद थप गरेका छौं। तर, हकप्रद सेयर र मर्जरका विषयमा निर्णय गर्ने अवस्था छैन। नेपाल रिमा सरकारको करिब आधा सेयर रहेकाले हकप्रद निष्कासन र अर्को कम्पनीसँग मर्जर दुवै सजिलो देखिंदैन,’ उनले भने, ‘हाम्रो कुरा यही हो। सेयर बजारमा के आधारमा चलखेल भइरहेको छ हामीलाई थाहा हुने कुरा भएन।’