
काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले अरु समितिका तुलनामा बैठक निक्कै कम राखेको छ, ती कममध्येमा पनि अधिकांश बैठक विवादित भएका छन्।
आफैं विवादित भएका कारण सभापति ऋषिकेश पोखरेलले आक्कलझुक्कल मात्र बैठक बोलाउने गरेका छन्। समिति गठनको दुई वर्षमा ३८ वटा मात्र बैठक बसेको छ। समितिको शुक्रबारको बैठक भने अलि भिन्न रह्यो।
पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल नागरिक उड्यन प्राधिकरणमा महानिर्देशक र नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त गर्दा आर्थिक लेनदेन भएको खुलासा नै गरे। आलेले खुलासा गर्नुअघि बैठकको माहोल पनि रोचक नै रह्यो।

संयमित अमरेश
उजुरीमाथि छलफल गर्न बोलाइएको बैठकमा सुरुमा नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले बोले। उजुरी अध्ययन उपसमितिका संयोजकको रुपमा गौतमले १०० मध्ये ४८ उजुरी मात्रै छानबिन गर्न लायक भएको ब्रिफिङ गरे। उपसमितिले सर्टलिस्ट गरेपछि समितिमा १६ वटा उजुरी थपिएका छन्।

त्यसपछि कांग्रेसकै राजेन्द्र कुमार केसीले सर्टलिस्टमा परेका उजुरी छानबिनका लागि उपसमिति बनाउन र कार्यादेश दिएर टुंगोमा पुर्याउनुपर्ने धारणा राखे। ‘कार्यादेश दिनुपर्यो पहिला उपसमितिलाई। क्लस्टर बनाएर अगाडि जानु उचित हुन्छ, नभए सधैं यसैगरी चल्नुपर्ने हुन्छ,’ केसीले भने।
अरुबेला समितिका बैठकमा चर्किएर बोल्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंह शुक्रबार संयमित रहे। उनले उपसमितिलाई समय तोकेर उजुरी चाँडो टुंगोमा पुर्याउनुपर्ने बताए। अरुबेला आफ्नो विषय राखेर बैठकबाट बाहिरिने गरेका उनी शुक्रबार पूरै समय बसे। उनले सांसदहरुसँग कानेखुसी गर्न पनि भ्याए।
५२ उजुरीले तात्यो माहोल
सिंहपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले भने अलि भिन्न विषय उठाए। उनले उपसमितिले छानबिनका लागि छानेका ४८ वटा उजुरीभन्दा पनि बाँकी ५२ उजुरी के गर्ने? भन्ने प्रश्न गरे। ‘अब नछानिएका उजुरीलाई के गर्ने? कम्तिमा म्यासेज मात्रै भए पनि पठाउँ यो यो कारणले अघि बढ्न सकेन भनेर,’ झाले भने।

यतिबेलासम्म बैठकको माहोल बिस्तारै तात्न थालिसकेको थियो। लगतै एमालेका सचिव योगेश भट्टराईले बोले।

‘गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन उपसमितिको प्रतिवेदन बुझाउने बेला मेराबारे प्रश्न उठाउनु ठीक भएन,’ आफूभन्दा ठीक अघि बोलेका झाको आलोचना गर्दै भट्टराईले भने। पूर्वपर्यटनमन्त्री भएको व्यक्ति नै उपसमितिको संयोजक बस्नु ‘कन्फ्ल्किट अफ इन्ट्रेस्ट’को विषय झाले मंगलबारको बैठकमा उठाएका थिए।
आलेको इन्ट्रीले बदलिएको बैठक
भट्टराईले बोलिसकेपछि बैठकको माहोल एकाएक फेरियो। कारण थियो -पूर्वपर्यटनमन्त्री आलेको ‘इन्ट्री’।
बैठकको बीचमा आएका आलेले इन्ट्री लगत्तै बोले। उनले पनि भट्टराई संयोजक रहन नमिल्ने बताए। ‘कन्फ्ल्किट अफ इन्ट्रेस्ट हुनु भएन। संयोजक फेरेर रिपोर्ट कतिबेला बुझाउने भनौं,’ आलेले आफ्नो विषय राख्दै भने।
आलेले पोखरा र भैरहवा विमानस्थलबारे पनि समितिमा उजुरी आएकाले ती उजुरीमाथि जसरी पनि छानबिन गर्नुपर्ने नभए समिति नै बहिष्कार गर्ने चेतावनी दिए।

उनीपछि कांग्रेस सांसद रामकृष्ण यादव, रास्वपाका हरि ढकाल, कांग्रेसका देवप्रकाश तिमिल्सिना र एमालेका गोकुल बाँस्कोटाले बोले। बास्कोटाले गौतम संयोजक रहेको उपसमितिले छानेका बाहेकका उजुरी अघि बढाउन नमिल्ने बताए। पोखरा र भैरहवाको विषय छानबिन गर्न नहुने अडान राखे।
लगत्तै आले जंगिए। उनले जोडले टेबल ठोक्दै भने ‘किन नमिल्ने? यहाँ नमिल्ने भए कहाँ मिल्ने हो? यो उपसमितिले छानबिन नगर्ने भए के को छानबिन गर्छ?’
आले र सभापति पोखरेलबीच केहिबेर मुखामुख भयो। त्यसबेला अरु सांसदले माहोललाई केही सहजीकरण गर्न खोजे।आलेसँगको चर्काचर्कीका क्रममा सभापति पोखरेलले पनि बाँस्कोटाकै पक्ष लिए।
आले बैठकमा आउनुअघि समितिका सदस्यहरुले पालैपालो बोलिरहेका थिए। आले आएपछि भने एकले बोल्दा अर्कोले बीचमै बोल्न थाले। सभापति पोखरेलले १६ वटा उजुरीमा पोखरा र भैरहवाको विषय पनि रहेकाले त्यसलाई पनि छानबिन गर्ने र त्यसबारे गौतमकै उपसमितिले हेर्ने बताएपछि आले अलि शान्त बने।
योगेशले आलेलाई फुर्काएपछि बनेको माहोल
बैठकमा आरोपप्रत्यारोप चलिरहेकै थियो। एमाले सांसद भट्टराईले बोल्न समय मागे। उनले आफू भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक र सदस्य तथा आले पोखरा विमानस्थल छानबिन उपसमितिको सदस्यबाट अलग हुने प्रस्ताव गरे। भट्टराईको प्रस्तावलाई आलेले पनि खुसी हुँदैै स्वीकारे।
भट्टराई त्यतिमै रोकिएनन्, उनले आलेलाई फुर्काउँदै ‘तपाइँले पनि केही गल्ती गरेको छैन, मैले पनि केही गल्ती गरेको छैन’ भने। उनले आलेको पालामा नेपाल नागरिक उड्यन प्राधिकरणमा प्रदीप अधिकारीलाई महानिर्देशक र नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई नियुक्ति दिएको विषय निकाले। ‘सबै तपाइँले नै नियुक्त गरेको हो। मैले त केही नियुक्त गरेको छैन। त्यसमा उहाँहरु नै हुनुहुन्छ,’ भट्टराईले भने।

भट्टराईले यस्तो बताइरँदा बैठकमा रमाइलो माहोल बनिसकेको थियो। सांसदहरु हाँस्न थालेका थिए। ‘तपाइँहरु दुवै जनाले समझदारी गरेर उपसमितिमा नबस्ने भनेपछि एकदमै राम्रो भयो। अब यसपछि उपसमिति बनाउँदा त्यो मन्त्रालय हाँकेको मन्त्री छ भने त्यसलाई नराख्ने गर्नुपर्छ’ भन्दै सांसदहरु खुसी भए।
अनि गरे आलेले खुलासा….
योगेशले बोले लगत्तै आलेले समय मागे। अघिसम्म आक्रशित आले संयमित भइसकेका थिए। उनले प्रदीप अधिकारी र युवराज अधिकारीलाई पार्टीलाई चलायमान बनाउन पार्टी नेतृत्वको निर्देशनमा नियुक्त गरेको खुलाए।
मलाई एक पटक मेरो पार्टीबाट चिठी आयो। यो यो मान्छेलाई नियुक्त गर्नुपर्यो भनेर। त्यसमा प्रदीप अधिकारीको नाम थियो। सिनियारिटीका आधारमा १२औं तहका ५ जना थिए। प्रदीप अधिकारी ११औं तहको हुनुहुन्थ्यो। मैले हुँदैन भने। अब के गर्ने? समाजवादी नयाँ पार्टी पनि भयो। अलिकति चलायमान बनाउनु पनि पर्यो,’ आलेले भने, ‘जम्मै प्रेसरले गर्दा निर्देशन मान्नै पर्यो। झलनाथ खनाल र अर्का नेताको सिफारिसमा प्रदीप अधिकारी र युवराज अधिकारीलाई नियुक्ति दिइएको हो।’
आलेको यो खुलासाले बैठक हाँसोले गुञ्जियो। भट्टराईले आलेलाई थप उचाले। उनले ‘तपाइँले अर्का एक नेताको नाम त भन्नु नै भएन’ भने। त्यसपछि आलेले थपे, ‘मन्त्री भइसकेपछि राज्यको जुनसुकै चिज पनि सदुपयोग गर्नुपर्छ भनेर लागें। हामीलाई ६ महिनाको समय दिएको थियो। ६ महिनामा हामीले राजीनामा बुझाइसकेका थियौं।’
आलेले भट्टराईलाई पनि कटाक्ष गरे। नारायणहिटी संग्रहालय परिसरमा क्याफे खोल्न दिने भट्टराईको निर्णय कवट्याउँदै आलेले भने, ‘नारायणहिटी दरबार मैले दिएको हो त्यतिबेला? दिने मान्छे पनि यहिं छन् हामीसँग। साढे ६ आना क्याफ्टेरियाका लागि दिइएको थियो त्यतिबेला। कोभिडको बेलामा कोही बाहिर निस्कनै नपाउने बेलामा त्यो खाली गराए। सरकारी जग्गामा डान्सबार बनाउने भनिएको थियो त्यो पनि खाली गराएँ दुई घन्टामा।’
निर्दोष रहेको दाबी
आलेले आफूलाई कसैले समयमै पोखरा विमानस्थल निर्माणमा भएको त्रुटीबारे जानकारी नदिएको बताए। ‘पोखरामा आफैं गएँ म। बस्तीको पानी जम्मै एयरपोर्टमा हालेको थियो। मैले त्यतिबेला धेरै सरोकारवालाई त्यहाँ सोधें यस्तो किन भयो भनेर। त्यो जम्मै कमिसनको काम रहेछ। त्यसपछि मैले डाकें, हप्काएँ, निर्देशन दिएँ। तुरुन्त बनाउनुस् भनेर। बनाउने काम पनि भयो। तर पनि पत्रकार साथीले यहाँनिर यो गल्ती भएको छ है, यो रनवेको उचाइ २० फिट तल छ भनेन। मलाई त्यो भनेको भए आज प्रदीप अधिकारीको नियुक्ति हुने थिएन।’
उनले नियुक्तिमा भएकै लेनदेनमा आफू निर्दोष रहेको दाबी गरे। ‘यो जम्मै प्रेसरले गर्दाखेरी नियुक्त भएको हो। योगेश पहिला मन्त्री भइसकेको मान्छे। निर्देशन त मान्नै पर्यो। मैले आफैंले जानेर गरेको होइन। यति कुरा मैले भन्नै पर्छ,’ आलेले भने।
यादवले लगाए सेटिङको आरोप
बैठकको अन्तिमतिर लेखा समितिका पूर्वसभापति रहिसकेका कांग्रेस सांसद रामकृष्ण यादव जंगिए। बैठक सकिनै लागेको थियो, यादवलेछानबिनका लागि छानिएका उजुरीको विषयमा आपत्ति जनाए। उनले सभापति पोखरेलमाथि सेटिङका आधारमा उजुरी छानेको आरोप लगाए। ‘यहाँ कसरी कसरी छानिन्छ? म पनि पटकपटक सांसद भएको। यो समितिको सभापति भएको मान्छे हो। सबै थाहा छ। हुलाकी राजमार्गबारे किन बहस गर्न नहुने?,’ यादवले जंगिदै भने।

यादवलाई सभापति पोखरेलले रोक्न सकेनन्। नजिकै बसेका कांग्रेस सांसद केसीले ‘अबको बैठकमा हुलाकी राजमार्गकै कुरा गर्ने हो’ भनेर थामथुम गर्ने प्रयास गरे। अन्तिममा पोखरेलले यादवलाई यता आउनुस् भनेर इसारा गरे। यादव भने रिसाएर जान मानेनन्।