इभी बिक्रीमा ठुला घरानाबीच प्रतिस्पर्धा, प्राइस वारले ग्राहकलाई कति फाइदा ?

शुक्र गिरी
२०८१ चैत्र १५ गते ०६:१९ | Mar 28, 2025
इभी बिक्रीमा ठुला घरानाबीच प्रतिस्पर्धा, प्राइस वारले ग्राहकलाई कति फाइदा ?

काठमाडौं । नेपालमा विद्युतीय गाडी बिक्री गर्न फेरि एक पटक ठुला घरानाबीच ‘कट थ्रोट’ प्रतिस्पर्धा हुने भएको छ। गत हप्ता नेपाल भित्रिएको मोरिस ग्यारेजको नयाँ गाडी एमजी एस५ को मूल्यले इभीको बजारमा एक खालको तरंग ल्याएको थियो। त्यस्तै सोमबार नेपाली बजारमा सार्वजनिक भएको हुन्डाईको क्रेटा इभीले पनि त्यही खालको माहोल बनाएको छ।

Tata
GBIME

यसले गर्दा मूल्यले अहिले प्राय ४० देखि ६० लाख सेगमेन्टका सबै ब्रान्डका गाडीलाई टाउको दुखाइको विषय बनेको छ। किनभने ह्याचब्याकको सेगमेन्टमा रहेका गाडीहरुको मूल्यमा रियल ह्वील भएको एमजी एस५ क्रसर ओभर एसयुभी नै आउने भएपछि ग्राहकहरु यसतर्फ मोडिने कम्पनीको विश्लेषण छ। तर, ग्राहकहरुले के चाहन्छन् भन्ने व्यवसायीको अनुमान शतप्रतिशत मिल्छ भन्ने हुँदैन।

यसैगरी, हुन्डाई ब्रान्ड प्रति नेपाली गरेको विश्वास र ब्रान्ड बोकेको लेगेसीलाई क्रेटा इभीले राम्रो पछ्याउने अनुमान गरिएको छ। यसको मूल्य पनि अन्य भारतबाट आउने गाडीकोभन्दा सस्तो राखिएको छ। जसले बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गरिरहेको छ।

बजार खुला बजार सिद्धान्तबाट चलेको छ। जे खरिद गर्दा किफायती मूल्यसँगै सुविधा हुन्छ ग्राहक त्यही रोज्छन्।

नेपालमा इभीको माग बढ्दै गएपछि विभिन्न अटोमोबाइल कम्पनीहरूले आफ्ना उत्पादनहरू बजारमा ल्याइरहेका छन्। यसले गर्दा ग्राहकहरूलाई विभिन्न विकल्पहरू उपलब्ध भएका छन्। इभीको मूल्यमा प्रतिस्पर्धाले ग्राहकहरूलाई कम मूल्यमा राम्रो गाडी किन्न सजिलो भएको छ।

अहिले बजारमा टाटाको सिप्रदी ट्रेडिङ, ओमोडा र जेकोको शारडा ग्रुप, एमजीको गाडी बिक्री गर्ने विशाल ग्रुप, बीवाइडीको साइमेक्स इंक, हुन्डाईको लक्ष्मी ग्रुप र आयोन, एक्सपेङ, नेटा जस्ता गाडी बिक्री गरिरहेको सीजी ग्रुप र प्रोटोनको इभी बिक्री गर्ने जगदम्बा ग्रुप जस्ता घरानाबिच ‘कट थ्रोट’ प्रतिस्पर्धा हुने देखिएको हो। यी सबै घरानाले ल्याएका गाडी बिक्री हुने सेगमेन्ट ४० देखि ६० लाख मूल्य हाराहारीमा छन्।

गाडी बिक्री गर्ने ग्राउन्ड एउटै तर ब्रान्ड र घरानाका बजार रणनीति फरक। जुन मूल्य र उनीहरुले दिने आफ्टर सेल्स सर्भिसले धेरै अर्थ राख्ने गरेको छ।

यसले ग्राहकहरुलाई राम्रो मूल्यमा राम्रो फिचर भएका गाडीहरु खरिद गर्न धेरै विकल्पहरु पाइने अवस्था सिर्जना भएको छ। किनभने गत वर्षतिर पनि बिवाइडी डल्फिन र एमजी फोरमा भएको प्राइस वारले गर्दा गर्दा ग्राहकहरुले उनीहरुले सोचेको भन्दा कम मूल्यमा गाडी खरिद गर्न पाएका थिए। यस्तै त्यसपछि नामी र पन्च इभीबिच भएको प्राइस वारले पनि ग्राहकहरुले एसयुभी नै ३५ लाख रुपैयाँमा पाउने अवस्था सिर्जना भएको थियो।

यसैगरी, गत भदौमा भएको नाडा अटो शोमा पनि एक खाल ठुला घराना सेरेस गाडी बिक्रेता एमएडब्लु ग्रुप र एमजीको गाडी बिक्री गर्ने विशाल ग्रुपबीच चर्को प्रतिस्पर्धा चलेको थियो। जसमा विशाल ग्रुपले एमजी जेडएस इभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको गाडी ४६ लाख ९९ हजार रुपैयाँ ल्याएको थियो। त्यस लगतै एमएडब्लु ग्रुपले पनि सेरेस थ्रीको ५२ लाख ९९ हजारबाट ४८ लाख ८७ हजार रुपैयाँ बनाएको थियो। यस्तै अर्को भेरियन्ट ४९ लाख ९९ हजारबाट ४५ लाख ४९ हजार रुपैयाँ बनाइएको थियो। जसले गर्दा उनीहरुसँग भएका सबै स्टक गाडीहरु बिक्री पनि भए।

एमजीलाई बजारमा प्राइस एग्रेसिभ रुपमा राख्ने कम्पनीका रुपमा हेरिन्छ। यो पटक पनि सदाझैं एस५ को मूल्य एग्रेसिभ रुपमा राखेको छ। जसले अन्य ब्रान्डलाई टाउको दुखाइको विषय बनाएको छ।

घरानाबीच प्राइस वार

अहिले चिनियाँ ब्रान्डहरु बीच नै गाडीको मूल्यमा प्रतिष्पर्धा सुरु भएको छ। बजारमा भएका बीवाइडी, ओमोडा, सेरेस, आयोन, टाटा र नेटा तथा एमजी जस्ता ब्रान्डका गाडीहरुमा अहिले मूल्य प्रतिस्पर्धी छ। यस्तै अर्को नयाँ ब्रान्ड प्रोटोन पनि यसमा सामेल भइसकेको छ। अर्को भनेको एमएडब्लुले पनि यही सेगमेन्टको ए०५ ल्याउने तर्खर गरिरहेको छ। हुन्डाई पनि केही दिनमा सामेल हुने तर्खर गरिरहेको छ।

नेपाली बजारमा चिनियाँ गाडी ब्रान्डहरुको हिस्सा अहिले हावी हुँदै गइरहेको छ। ४० लाखदेखि ४५ लाखको बीचमा सिप्रदी ट्रेडिङ, साइमेक्स इंक र पारामाउन्ट मोटर्सले एकअर्कामा प्रतिस्पर्धा गर्ने देखिन्छ। जसमा ह्याचब्याक सेगमेन्टमा रहेको बीवाइडीको डल्फिन, टाटा पन्च इभी, एमजी फोर इभी र एमजीको एस५ ले मूल्यका आधारमा प्रतिस्पर्धा गर्ने देखिन्छ।

डल्फिनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ छ। टाटाको पन्च इभीको ४० लाख रुपैयाँ छ। यस्तै एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस्तै एमजी फोर इभीको पनि कम्फर्ट भेरियन्टको ४१ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। यी ४ वटै गाडी फरक डल्फिन र एमजी फोर इभी ह्याचब्याक र एमजी एस५ क्रस ओभर र टाटा पन्च इभी कम्प्याक्ट एसयुभी सेगमेन्टका हुन्, तैपनि मूल्य र फिचरका आधारमा प्रतिस्पर्धा हुने देखिन्छ।

यसमा सबै गाडीको मूल्य एउटै रेसियोमा छ। तर, फिचरहरु केही फरक छन्। त्यसले बजारमा स्थापित हुन धेरै मद्दत गर्छ।

अर्को सेगमेन्ट भनेको ५० लाख हारहारीमा रहेका इभीहरु बीच पनि राम्रो प्रतिस्पर्धा चल्ने छ। यसमा पनि सिप्रदी र पारामाउन्ट मात्रै रहेका छन्। जसमा टाटा नेक्सन के थ्री, एमजी एस५ डिलक्स, एमजी कै एमजी फोर इभीको डिलक्स रहेका छन्। यो थ्रेस होल्डमा यी गाडीहरु अहिले प्रतिस्पर्धा गर्ने देखिन्छ। जसमा एमजी फोर डिलक्स र एमजी एस५ इभीको ४९ लाख ९९ हजार रुपैयाँ तथा टाटा नेक्सन इभी के थ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ।

यी गाडीहरुमा सबैभन्दा सस्तो टाटा नेक्सन इभी के थ्री १ लाख सस्तो छ। यसमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ भने एमजी एस५ इभीमा ४९.१ र एमजी फोर इभीमा ५१ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यी दुवै गाडी रियल ह्वील ड्राइभ हुन् भने नेक्सन के थ्री फ्रन्ट ह्वील ड्राइभ हो।

यस्तै ५० लाखदेखि ६० लाखको थ्रेस होल्ड भने धेरै घरानाहरुले प्रतिस्पर्धा गर्नु पर्नेछ। किनभने नेपाली बजारमा सबै भन्दा धेरै यही सेगमेन्टमा इभीहरु बिक्री भइरहेका छन्। जसमा सिप्रदी, पारामाउन्ट, एसपीजी, जगदम्बा, साइमेक्स, सीजी र लक्ष्मी छन्।

एटो थ्रीको एडभान्स्ड ५६ लाख ९० हजार रुपैयाँ छ। यसमा ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। यस्तै ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ छ। यसमा ६१ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। टाटाको कर्भ इभीको पनि ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ।

यस्तै प्रोटोन ईम्यास-७ इभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको ब्याट्री ४९.५२ किलोवाट क्षमताको छ। एमजी एस५ टप भेरियन्टको मूल्य पनि ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यस्तै अर्को हुन्डाई क्रेटा इभी पनि यही सेगमेन्टमा प्रतिस्पर्धा गर्न आउदै छ। यो सेगमेन्टको सबै गाडीमा मोटर पावर ९९ किलोवाटमा नै रहेको छ।

लक्ष्मी ग्रुपले ल्याएको क्रेटा इभीले पनि बजारमा एक खालको माहोल बनाएको छ। कम्पनीले ल्याएको क्रेटा इभिमा ४२ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। साथै भेरियन्ट अनुसार ५९ लाख ९६ हजारसम्म तोकिएको छ।

यसैगरी, सीजीले ल्याएको नेटा एक्सको मूल्य पनि ५३ लाख ९९ हजार रुपैयाँ छ। यो गाडी पनि यही सेगमेन्टमा बस्ने भएकाले यसले पनि यी सबै गाडीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। साथै अर्को भनेको लक्ष्मी र गोल्छाले ल्याएको काइवी एक्स थ्री प्रो पनि यही थ्रेस होल्डमा छ।

प्राइस वारमा चीन बाहिरका ब्रान्डलाई गाह्रो

अहिले भइरहेको प्राइस वारमा चीनभन्दा बाहिरका ब्रान्डहरुलाई धेरै गाह्रो अवस्था छ। जसरी चिनियाँ गाडी उत्पादक कम्पनीहरुले प्राइसमा बिक्रेताहरुलाई सहुलियत दिन्छन्, त्यसरी भारतीय र अन्य ब्रान्डका गाडीहरुले पाउदैनन्। उनीहरुको ब्रान्डले उत्पादन गरेको गाडीहरुको लागत नै उतै महँगो पर्ने गरेको छ।

एक व्यवसायी भन्छन् ‘जसरी चिनियाँ गाडीहरुले फिचर लोडेड भएको गाडीको मूल्य एग्रेसिभमा राखेका छन् त्यसरी हामीले उनीहरुसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिदैन।’ तर, आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्सको कुरामा आफूहरुल‍े राम्रो गरिरहेको ती व्यवसायीले बताए। ‘हामीले उनीहरुसँग मूल्यमा प्रतिस्पर्धा गर्न धेरै कठिन छ। तर, इभीको लागि आवश्यक इकोसिस्टममा लगानी गर्न हामीले कुनै कसर छोड्दैनौं,’ ती व्यवसायीले भने, ‘हाम्रो स्ट्रेन्थ नै यही हो।’

चिनियाँ गाडी उत्पादक कम्पनीहरुले नेपालका आयातकर्ताको आवश्यकता र उनीहरुले चाहे अनुसार गाडी बनाइदिने र मूल्यमा पनि सहुलियत दिने गरेका छन्।