नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा अब एकल विन्दु सेवा, यस्ता छन् सचिव बैठकका निर्णय

बिजमाण्डू
२०८३ कात्तिक १६ गते २०:०६ | Nov 2, 2026
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा अब एकल विन्दु सेवा, यस्ता छन् सचिव बैठकका निर्णय
गोविन्दबहादुर कार्की। फाइल तस्वीर


काठमाडौं। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा एकल विन्दु सेवा सुरु गरिने भएको छ।

GBIME
Tata

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको सचिवहरुको बैठकले नागरिकले सरल, सहज र प्रभावकारी ढंगले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयमा एकल विन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्ने निर्णय गरेको छ।

यस्तै उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव जस्ता अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप नियन्त्रण गरी अत्यावश्यक वस्तुको आपूर्ति सहज तुल्याउन बजार अनुगमनलाई सघन बनाउने निर्णय गरिएको छ।

बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने)सम्बन्धी नियमावली र चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि तयार पारिएको विस्तृत कार्ययोजना समयवद्ध रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।

यस्तै महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्स्योट गर्न महालेखापरीक्षकको कार्यालय, सार्वजनिक लेखा समिति र बेरुजु फर्स्योट समितिसँग समन्वय गरी न्यूनीकरणका लागि सबै मन्त्रालय र निकायले कार्ययोजना बनाइ कार्यान्वयन गर्ने निर्णय भएको छ।